ब्लड बैंक स्थापना गर्न महिला सक्रिय

संखुवासभा — ब्लड बैंक स्थापना गर्न सिर्जनशील सामुदायिक विकास केन्द्रले रकम संकलन सुरु गरेको छ । गत मंसिर २ मा मनकामना धाममा लागेको एकादशी मेलाबाट महिला समूहले अर्थ संकलन थालेका हुन् ।

मेलामा केन्द्रले चिया बिक्री गरी साढे २९ हजार रुपैयाँ संकलन गरेको थियो । हालसम्म करिब १० लाख संकलन भएको सचिव बबिता कटुवालले जानकारी दिइन् ।


रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीको उपचारमा कठिनाइ हुने गरेको छ । रेडक्रसले ०५३ सालमा आकस्मिक रक्त सञ्चार सेवा स्थापना गरे पनि यसले ब्लड ग्रुप छुट्याउने र रक्तदाता खोज्ने काम मात्र गरिरहेको छ । सिकिस्त र जटिल प्रकृतिका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भए पनि रगत चाहिए नपाइने भएकाले अन्यत्र लैजानुपर्ने हुँदा केन्द्र ब्लड बैंक स्थापनामा जुटेको सचिव कटुवालले बताइन् ।


५ हजारदेखि लाख रुपैयाँसम्म रकम सहयोग गर्ने दाता भेटिएको उनले बताइन् । बिरामीका आफन्तले रगत खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने भएकाले बिरामीको ज्यान जोगाउन महिला नै अघि बढेको उनको भनाइ छ । अहिले सुरक्षाकर्मीले रगत दिने गरेका छन् । सिकिस्त बिरामी आउनासाथ रगत चाहिए सदरमुकाममा रहेको बराहदल गुल्मका सेना र जिल्ला प्रहरीका सुरक्षाकर्मीको सहयोग लिनुपर्ने बाध्यता छ ।


संस्थाले सामाजिक सञ्जालमार्फत पनि सहयोगका लागि अपिल गरेको छ । अप्रेसन गरिएका गर्भवती, दुर्घटनामा सिकिस्त घाइते, रक्तअल्पतालगायत बिरामी रगत अभावमा जोखिममा छन् । जिल्ला अस्पतालमा बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले उपचारमा समस्या हुने गरेको छ ।


कतिपयको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने भएकाले ब्लड बैंक स्थापनामा लागि परेको रेडक्रस सोसाइटी शाखाका अध्यक्ष सरोजकुमार वज्राचार्यले बताए । बिरामीको जटिल उपचारमा रगत अनिवार्य चाहिने भएकाले रक्त सञ्चार भवन र आधुनिक उपकरणका लागि शाखाले केन्द्रीय कार्यालयमा अनुरोधसमेत गरेको उनले बताए ।


आधुनिक उपकरण र ब्लड बैंक नभएपछि ब्लड संकलन गरेर राख्न नसकेको उनको भनाइ छ । रेडक्रसले रक्त सञ्चार सेवा स्थापना गरी २४ सै घण्टा एकजना ल्याब असिस्टेन्ट राखी आकस्मिक सेवा दिइरहेको छ ।

प्रकाशित : भाद्र ६, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?