१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रोपाईंजात्राको रौनक

अघिअघि हली र बाउसे पछिपछि रोपाहार, कुनै खेतमा उत्सवमय बेठी लगाएको झल्को दिने गरी जात्रा
विप्लव भट्टराई

इलाम — परम्परागत ढंगले इलाममा निकालिँदै आएको रोपाइजात्रा बिहीबार इलाममा निकालिएको छ । इलामसहित फिक्कल, मंगलबारे, दानाबारीलगायतमा पनि रोपाईंजात्रा निकालिएको छ ।

रोपाईंजात्राको रौनक

इलाममा नेवार समुदायको बसोवास सुरु भएदेखि नै प्रचलनमा रहेको जात्रालाई पछिल्लो समय सबै समुदायले स्थानीय पर्वका रूपमा मनाउँदै आएका छन् । जात्राको अवसरमा सदरमुकामस्थित सबै विद्यालयलाई बिदासमेत दिइएको थियो ।


जात्रामा रम्न बच्चादेखि पाकासम्मको ठूलो भीड देखिन्थ्यो । पछिल्लो समय मनोरञ्जनका साधन बढेसँगै पुराना संस्कृतिप्रतिको मोह घटदा भने जात्राको रौनकमा रंगिनेहरू घटदै गएका छन् । कुनै खेतमा उत्सवमय ढंगले बेठी लगाएर गरिएको ठ्याक्कै रोपाईंको झल्को दिने गरी यो जात्रा निकालिन्छ ।


बर्खाभरिको थकाई मेटदै एक आपसमा रामाइलो गर्ने उद्देश्यले परम्परादेखि अस्तित्वमा रहेको रोपाईंजात्रा निकालिँदा करिब २ सयले विभिन्न भूमिकामा अभिनय गरेका छन् । युवापुस्ता माझ संस्कृति हस्तान्तरण गर्दै परम्परा थेग्ने उद्देश्यले निरन्तरता पाएको जात्रा इलामेकाहरूलाई सांस्कृति सम्मिलनको पर्व समेत बनेको छ ।


अघिअघि हलिबाउसे, पछिपछि रोपाहर अनि पञ्जेबाजा र विभिन्न जातीय परम्परागत बाजागाजाका साथ घन्कने असारे गीतसँगै दिनभर यो जात्रा निकालिन्छ । सरकारी कार्यालयदेखि विद्यालयसम्म पुगेर जात्रा देखाउने चलन छ ।


‘यहाँ बसोबास गर्ने सम्पूर्ण समुदायकाले रोपाईं जात्रालाई साझा पर्वका रूपमा लिने गरेकाले यो इलामको मौलिक परम्पराका रूपमा स्थापित भएको छ,’ खोजकर्ता युद्ध वैद्यले भने, ‘पुराना कतिपय चलन भने लोप भएका छन् ।’

अहिलेसम्म जसोतसो यो परम्परालाई थेगिँदै आए पनि व्यवस्थापनका हिसाबले कठिन हुन थालेको उनको बुझाइ छ । ‘अब स्थानीय सरकारले यसलाई पर्यटक आकर्षणसँगै सांस्कृतिक सम्मिलनका रूपमा विकास गर्दै संरक्षण गरिनुपर्छ,’ उनले थपे ।


नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा जात्रा निकालिएको हो । लोप भइसकेको बेठी लगाएर रोपाई गर्ने चलनको झल्को जात्रामा पाइन्छ । ठूलाठालूले बाजागाजासहित ठूलो उपस्थितिमा उत्सवमय रोपाइ गर्ने चलन ‘बेठी’ बाट प्रभावित भएर यो जात्रा सुरु भएको पाकाहरू बताउँछन् ।


पुरुषले महिलाको महिलाले पुरुषको अभिनय गर्ने चलन जात्राको विशेषता हो । पहिले–पहिले भने रोपाहारको भूमिकामा पुरुषहरूले मात्र महिलाको भेष धारण गरी अयिनय गर्ने चलन रहे पनि अहिले महिलाहरू पनि रोपाहारको भूमिकामा देखिन्छन् ।

प्रकाशित : भाद्र ६, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?