सप्तरीमा सरकारी मेडिकल कलेज

अतुल मिश्र

काठमाडौँ — सरकारले प्रदेश २ को सप्तरीमा मेडिकल कलेज खोल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न लागेको हो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । 

प्रतिष्ठानमा विद्यार्थीहरूले चिकित्साशास्त्र अध्ययन गर्ने अवसर पाउनुका साथै प्रदेश १ र २ का सर्वसाधारण तथा सीमाक्षेत्रका भारतीयलाई समेत उपचार सुविधा पाउन थप सहज हुनेछ ।

‘एक वर्षमै प्रतिष्ठान स्थापना हुन्छ, तर चिकित्साशास्त्रको पढाइ सुरु गर्न थप समय लाग्न सक्छ,’ स्वास्थ्य सचिव केदारबहादुर अधिकारीले कान्तिपुरसँग भने, ‘स्वास्थ्यसम्बन्धी विभिन्न सूचकका आधारमा समग्रमा प्रदेश २ पछाडि छ ।’


यो निर्णय कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले ऐन निर्माणसँगै लगानी बढाउनुपर्ने देखिएको छ । यो सरकारी प्रतिष्ठानले २ नम्बर क्षेत्रको स्वास्थ्यस्थिति उकास्न सघाउने विश्वास लिइएको छ ।

‘मुलुकमै सबभन्दा नराम्रो स्वास्थ्यस्थिति कर्णालीपछि २ नम्बर प्रदेशको हो,’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने । कर्णाली प्रदेशभन्दा करिब तेब्बर जनसंख्या रहेको प्रदेश २ मा एउटा पनि सरकारी मेडिकल कलेज छैन ।


यहाँ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसारका कुनै स्वास्थ्यसम्बन्धी व्यवस्था नरहेको जनाउँदै नारायणी उपक्षेत्रीय अस्पतालका डा.निरज सिंह भन्छन्, ‘दुईवटा निजी मेडिकल कलेज भए पनि विशेषज्ञ उपचारका लागि प्रदेशबाहिर जानुपर्ने स्थिति छ ।’


प्रकाशित : पुस १८, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?