२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

कृषिमा युवा आकर्षण नबढ्नु चिन्ता : राष्ट्रपति

दमक — राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रमा युवा आकर्षण बढाउन नसक्नु चिन्ताको विषय भएको बताएकी छन् । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा कृषि क्षेत्रले ओगटे पनि त्यसतर्फ युवा आकर्षित नहुनु देश विकासमा ठूलो चिन्ता भएको राष्ट्रपतिको टिप्पणी थियो ।

कृषिमा युवा आकर्षण नबढ्नु चिन्ता : राष्ट्रपति

झापाको गौरादह नगरपालिकास्थित महिलाद्वारा सञ्चालित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना एकीकृत खेती बुधबार अवलोकन गरेपछि राष्ट्रपति भण्डारीले कृषिमा युवा आकर्षित नहुनु, जलवायु परिवर्तन, जमिन खण्डीकरणलगायतले मुलुक अझै परनिर्भर भइरहेको बताइन् ।


कृषिलाई यन्त्रीकरणका माध्यमबाट आधुनिकीकरण गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । उनले आधुनिक कृषिका लागि चक्लाबन्दी खेती गर्न किसानलाई सहमत हुन आग्रहसमेत गरिन् ।

राष्ट्रपति भण्डारीले कृषिको विकास किसानको स–साना लगानीले मात्र सम्भव नरहेको बताइन् । किसानको ससाना लगानीलाई ठूलो लगानीसम्म जोड्नुको विकल्प नरहेको उनको भनाइ थियो । खेतीमा साना किसानको मिहिनेतले मुलुकको वर्तमान कृषि प्रणालीलाई रूपान्तरण गर्न ठूलो सहयोग पुग्न सक्छ ।


खेती अवलोकनपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको जानकारी दिए । मुख्यमन्त्री राईले विगतमा केन्द्र सरकारमा केन्द्रित हुँदा आशातित रूपमा अघि बढ्न नसकेको कृषि क्षेत्रलाई अब प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताए ।


उनले प्रदेश १ को बलियो पक्ष नै उर्वर भूमि र कृषि भएकाले मिहिनेती किसान र कृषिमा केही गर्न चाहने समूह/सहकारीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा गौरादह नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दनसमेत गरेको थियो ।

प्रकाशित : पुस १८, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?