विवेकशील साझाभित्र खटपट

संयोजक उज्ज्वल थापाले असन्तुष्टि सहितको १६ बुँदे प्रतिवेदन बाँडे
कान्तिपुर संवाददाता

काठमाडौँ — वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवकशील साझा पार्टीभित्र खटपट देखिएको छ । पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे समीक्षात्मक प्रतिवेदन सबै सदस्य र नेतालाई पठाएसँगै असन्तुष्टि सतहमा आएको हो । 

१८ पृष्ठ लामो प्रतिवेदनमा साझा पार्टी गलत बाटोतर्फ गइरहेको निष्कर्ष छ । थापाले पार्टीभित्र शक्तिको चरम केन्द्रीकरण भएको, निषेधको राजनीति भित्रिने माहोल रहेको र सदस्यलाई जिम्मेवारी दिन अनुदारताले दल हराएजस्तो देखिएको टिप्पणी गरेका छन् ।

एक सदस्यले एकीकरणपछि विवेकशीलको नेतृत्वमा आउँदै गरेका युवालाई पुरानो साझा पार्टीका नेताहरूले उचित स्थान नदिएको आरोप लगाए । पार्टीभित्रको अनुदारताका कारण केही सदस्य निष्क्रिय बनेको र केहीले पार्टी छाडेको जनाउँदै उनले भने,‘निर्णय प्रक्रियामा सामूहिक सहभागिता कमजोर बन्दै गएको छ ।’

संयोजक थापाले पनि प्रतिवेदनमा संघीय निर्वाचनपछिको एक वर्षमा ४ केन्द्रीय सदस्यले राजीनामा दिएको र एक जनालाई बर्खास्त गरिएको उल्लेख गरेका छन् । सरोज धिताल, दिनेश प्रसाईं, रेशु अर्याल र ओम अर्यालले पार्टी छाडेका हुन् ।

थापाले पार्टीका काम समानान्तर रूपमा नभई सीमित नेतृत्वको गतिमा चल्नुपर्ने परिस्थिति बनेको जनाएका छन् । उनका अनुसार पार्टीका केन्द्रीय विभागहरू निष्क्रिय छन् । एकीकरणका बेला बनाइएको ३२ बुँदे सम्झौतापत्रमा भनिएका काम गरिएका छैनन् । राम्रो सूचना प्रवाह नहुँदा शंकाको घेरामा बसेका दलका सदस्यले फरक विचार र कार्यशैली राख्नेलाई ‘खुइल्याउने’ प्रवृत्ति देखिएको थापाको टिप्पणी छ । नेतृत्वमा ‘म प्रवृत्ति बढी र हामी प्रवृत्ति कम’ देखिएको जनाउँदै उनले पार्टीभीत्र नियमसंगत तरिकाले काम हुन नसकेको उल्लेख गरेका छन् । १६ महिनामा पनि सातै प्रदेशको संयोजक तोक्न नसकेको, दलको प्रादेशिक संरचना अधुरो देखिएको उनले जनाएका छन् ।

पार्टी विधानमा प्रत्येक महिनाको खर्च तथा आय विवरण पारदर्शी तरिकाले दलको वेबसाइटमा राख्ने उल्लेख भए पनि पालना नभएकोमा पार्टीभित्र असन्तुष्टि देखिन्छ । मंगलबार साँझसम्म पार्टीको वेबसाइटमा असारदेखि साउनसम्मको त्रैमासिक आयव्यय विवरण मात्रै राखिएको छ । एक सदस्यले भने, ‘अरू दलमाथि आर्थिक पारदर्शिताको कुरा गर्ने दलभित्रै यस्तो अवस्था भएपछि टिप्पणी हुनु स्वाभाविकै हो ।’ अर्का संयोजक रवीन्द्र मिश्रले केन्द्रीय सदस्य सूर्यराज आचार्य र मुमाराम खनाललाई बढी च्यापेको र उनीहरू नै नीति निर्णयमा बढी हाबी भएको असन्तुष्ट पक्षको आरोप छ ।

यसबारे मिश्रसँग टिप्पणी लिन खोज्दा अस्वीकार गरे । ‘पार्टीभित्रको कुरा हो भने प्रवक्ता सूर्यराज आचार्यसँग बुझ्नुहोला,’ उनले भने । आचार्यले थापाको प्रतिवेदनलाई पार्टीको विधि, नियम र कार्यविधिभन्दा बाहिर गएर गरिएको अवाञ्छित गतिविधि बताए ।

‘संयोजक भनेको प्रश्न सोध्ने पद होइन । उत्तर दिने पदमा बसेको व्यक्तिले सार्वजनिक गरेको प्रतिवेदनले अन्योल सिर्जना गरेको छ,’ उनले भने । आचार्यले प्रतिवेदनमा समेटिएका कतिपय विषय पार्टीभित्रै बहसमा रहेको र कतिपय सान्दर्भिक पनि रहेको बताए । ‘प्रतिवेदनमा कतिपय अपुरो र भ्रमपूर्ण व्याख्या पनि छन्,’ उनले भने ।

संयोजक थापाले भने पार्टीभित्र सहभागितामूलक लोकतन्त्र विकास गर्न सदस्यहरूलाई समीक्षात्मक टिप्पणी पठाएको बताए । ‘पार्टीलाई प्राइभेट लिमिटेड जस्तो बनाउनु हुँदैन । पार्टी सदस्यहरूबीच अन्तक्र्रियाको माहौल बनाउन समीक्षात्मक टिप्पणी गरिएको हो,’ उनले भने ।

पार्टीभित्रका कमीकमजोरीलाई घरभित्रको कुरा भन्न नहुने र पार्टी आमनागरिकको चासोको केन्द्रमा रहने हुँदा खुला छलफल होस् भनेर आफूले टिप्पणी गरेको थापाले प्रस्ट्याए । ‘भित्रका समस्या सुधार गर्ने पक्षमा दल गएन भने त हामी कसरी वैकल्पिक पार्टी हुन्छौं र ?’ उनले भने ।

प्रकाशित : पुस १८, २०७५ २०:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कृषिमा युवा आकर्षण नबढ्नु चिन्ता : राष्ट्रपति

कान्तिपुर संवाददाता

दमक — राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रमा युवा आकर्षण बढाउन नसक्नु चिन्ताको विषय भएको बताएकी छन् । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा कृषि क्षेत्रले ओगटे पनि त्यसतर्फ युवा आकर्षित नहुनु देश विकासमा ठूलो चिन्ता भएको राष्ट्रपतिको टिप्पणी थियो ।

झापाको गौरादह नगरपालिकास्थित महारानीझोडा साना किसान कृषि सहकारीले सञ्चालन गरेको नमुना एकीकृत खेतीको अवलोकनपछि किसानलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : अर्जुन राजवंशी /कान्तिपुर

झापाको गौरादह नगरपालिकास्थित महिलाद्वारा सञ्चालित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना एकीकृत खेती बुधबार अवलोकन गरेपछि राष्ट्रपति भण्डारीले कृषिमा युवा आकर्षित नहुनु, जलवायु परिवर्तन, जमिन खण्डीकरणलगायतले मुलुक अझै परनिर्भर भइरहेको बताइन् ।

कृषिलाई यन्त्रीकरणका माध्यमबाट आधुनिकीकरण गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । उनले आधुनिक कृषिका लागि चक्लाबन्दी खेती गर्न किसानलाई सहमत हुन आग्रहसमेत गरिन् ।
राष्ट्रपति भण्डारीले कृषिको विकास किसानको स–साना लगानीले मात्र सम्भव नरहेको बताइन् । किसानको ससाना लगानीलाई ठूलो लगानीसम्म जोड्नुको विकल्प नरहेको उनको भनाइ थियो । खेतीमा साना किसानको मिहिनेतले मुलुकको वर्तमान कृषि प्रणालीलाई रूपान्तरण गर्न ठूलो सहयोग पुग्न सक्छ ।

खेती अवलोकनपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको जानकारी दिए । मुख्यमन्त्री राईले विगतमा केन्द्र सरकारमा केन्द्रित हुँदा आशातित रूपमा अघि बढ्न नसकेको कृषि क्षेत्रलाई अब प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताए ।

उनले प्रदेश १ को बलियो पक्ष नै उर्वर भूमि र कृषि भएकाले मिहिनेती किसान र कृषिमा केही गर्न चाहने समूह/सहकारीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा गौरादह नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दनसमेत गरेको थियो ।

प्रकाशित : पुस १८, २०७५ २०:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT