दशगजामा बस्ती

वारि भाइ, पारि दाइको घर हुँदा दशगजामा आउजाउ बढी
ठाकुरसिंह थारु

नेपालगन्ज — नेपाल–भारत सीमा छुट्याउने दशगजा वारि नेपालगन्जको जमुनाहा गाउँ र पारि रुपैडिहा छ । दुई मुलुक छुट्याउने यही दशगजामा बस्ती पनि बसेको छ ।

दशगजामा बस्ती

सीमावर्ती नागरिकले टहरा बनाएर बस्ती बसालेका हुन् । यही बस्तीका कारण त्यस क्षेत्रमा सीमा छुट्याउन मुस्किल परेको सरोकारवालाले बताए । उता बस्तीनजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प छ । यता सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय जमुनाहा छ ।


अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजामा बस्ती बसाउन पाइँदैन । तर, नेपालगन्ज सीमामा भने दुईतर्फ नै बस्ती छ । अन्तर्राष्ट्रिय सीमा संवेदनशीलताबारे जानकारी अभावमा उनीहरूले टहरा बनाएर बसेका हुन् । ‘वर्षौंदेखि हामी यहीं बसेका छौं । कसैले हट्न भनेको छैन,’ जमुनाहाका नासिद शेखले भने, ‘हाम्रा पुर्खा यसैगरी बसे । हामी पनि यस्तै हो ।’


जमुनाहा सीमामा स्थानीयले पशु चौपाया राख्छन् । फोहोर पनि सीमामै फालिन्छ । त्यसो त दुई मुलुकको सीमा छुट्याउने दशगजामा अन्तर्राष्ट्रिय कानुनले मानवीय गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । बाँकेका सीमावर्तीवासीले भने दशगजामै पशु चौपाया राख्नेदेखि टहरा बनाएर बस्दै आएका छन् ।


सशस्त्र प्रहरी गण नेपालगन्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले सीमामा बस्दै आएका सर्वसाधारणको घरधुरीको तथ्यांक संकलन गरिनुपर्ने बताए । ‘घरपरिवारको लगत लिइसकेपछि दुई मुलुकको सुरक्षा अधिकारी बैठकमा त्यसबारे छफफल गर्छौं,’ उनले भने, ‘दशगजामा मानवीय गतिविधि गर्न पाइँदैन । तर, जानकारी अभावमा स्थानीय भने दशगजामा बस्ने गरेका छन् ।’


भारतीय पक्षले दशगजासँग जोडेर निर्माण गरिरहेको तटबन्धजस्तो सीमा सडक आसपासका बस्ती खाली गराएको छ ।


त्यस्तै बाँकेको पूर्वी–दक्षिण नरैनापुर गाउँपालिका घोडादौडिहाका सीमामा पनि यसैगरी टहरा बनाइएको छ । उनीहरू मिलेर बस्दै आएका छन् । दशगजालाई दुवै पक्षले प्रयोग गरेका छन् । स्थानीयका अनुसार नेपाल–भारत सीमा छुट्टिनुअघि दुवै गाउँ एउटै थियो ।


भारतले नेपाललाई नयाँ मुलुक उपहारस्वरूप दिएपछि आधा गाउँ भारततिर पर्‍यो भने आधाचाहिँ नेपालतर्फ । भारतले १० र नेपालले १० गज भूमि छाडेर सीमास्तम्भ गाडेका छन् । दुई दाजुभाइको घर वारिपारि भएका नाताले पनि दशगजामा आउजाउ बढी हुने उनले बताए ।


दशगजा पहिचान गर्न समस्या भएको भन्दै दुई देशका प्रहरी अधिकारीले बस्ती उठाएका थिए । तर, खाली गराएको भोलिपल्टै स्थानीयले दशगजालाई आँगनका रूपमा प्रयोग गर्न थाले । ‘यहाँको परम्परा यस्तै हो । यसले सीमा सुरक्षा पनि भएको छ,’ भारतीय घोडादौडिहा गाउँका चुन्ना नाउले भने, ‘दशगजा खाली हुन्छ । त्यसैले पशु राख्न र गोबर फाल्न सहज छ ।’


आगलागी हुँदा वा अन्य विपदका समयमा सीमावासीले सहयोग आदानप्रदान गर्छन् । नेपालतर्फको उक्त गाउँमा गर्मी सिजनमा बर्सेनि आगलागी हुने गरेको छ । विपदका बेला सहयोग आदान–प्रदानले पनि उनीहरूबीचको सम्बन्ध कसिलो छ । त्यसैले दशगजा प्रयोग गर्दा दुवै पक्षले आपत्ति जनाउँदैनन् ।

प्रकाशित : पुस १९, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?