टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई सांसदको शपथ

दुर्गा खनाल, मकर श्रेष्ठ

काठमाडौँ — टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

डिल्लीबजार कारागारबाट प्रहरी भ्यानमा राखेर उनलाई सिंहदरबारस्थित संसद् भवनस्थित कृषि समितिको बैठक हलमा पुर्‍याइएका थिए। त्यही सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। उनले थारु भाषामा शपथ लिएका छन्।

शपथका बेला उनकी श्रीमतीरञ्जिता श्रेष्ठ र छोरा पनि उपस्थित थिए। शपथपछि सभामुख महराले उनलाई माला लगाइदिए भने राजपाका नेताहरुले खादा लगाइदिएका थिए।बिहीबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको भए पनि चौधरी आउन ढिला हुने र संसद् मध्यान्ह बस्ने भएछि ३ बजेलाई शपथ कार्यक्रम सारिएको थियो।

राष्ट्रिय जनता पार्टीले चौधरीलाई शपथ दिलाउनेलगायतका आफ्ना मागहरु पूरा नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएपछि सरकारले उनको शपथको व्यवस्था मिलाएको हो।

उनी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद हुन्। राजपाका नेताहरुले सांसद चौधरीलाई शपथ दिलाउन र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसदमा र सचिवालयसँग बारम्बार माग गर्दै आएका थिए।

चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए। उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन्। चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ थियो।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो। उक्त आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको थियो।

उनले चुनाव जितिसकेपछि गत फागुन १४ गते सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए। न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरी कसुरदार छैनन् भन्न सकिने अवस्था नभएको भन्दै थुनामा पठाएका थिए।

प्रकाशित : पुस १९, २०७५ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्

‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट- २०१९’ हुने

माधव ढुंगाना

भैरहवा — नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्ने उद्देश्यले नेपालमा पहिलोपटक लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, २०१९’ हुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आयोजनामा गरिने यस कार्यक्रमको नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) ले संयोजन गरेको छ । आगामी जनवरी १० देखि १२ सम्म (पुस २६ देखि २८) गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना गरिएको यस कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा गर्ने कार्यक्रम छ ।

बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, २०१९ मूल आयोजक समितिका सदस्य सचिव अच्युत शर्मा गुरागाईंले बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध धर्मसँग सम्बन्धित नेपालका विभिन्न पर्यटकीय तथा धार्मीक गन्तव्यस्थलहरुको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न र लुम्बिनी तथा आसपासका स्थानमा स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउनकालागि यो मार्टको आयोजना गरिएको बताए ।

यसकालागि विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीलाई एकै थलोमा जमघट गराई व्यापार विनिमय अवसरको सृजना गराइने छ । नेपालको पर्यटन प्रवर्द्धनकालागि बौद्ध पर्यटकीयस्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताबीच सेवा तथा व्यापार विनिमय (बिटुबी) को अवसर सृजना गर्नकालागि व्यवसायिक यो सम्मेलन केन्द्रित रहने छ ।

कार्यक्रममा विदेशी खरिदकर्ताहरु (बायर) ५० जना र नेपाली र विदेशी बिक्रेताहरु ५० जना, अन्तर्राष्ट्रिय ब्लगर १० जना सहभागी हुने छन् । चीनको छेङ्दु टेलिभिजनले सहभागिताकोलागि सुनिश्चितता गरिसकेको छ ।

आयोजक समितीका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाका अनुसार, यो कार्यक्रमको उद्देश्य र लक्ष्य भनेकै पर्यटन प्रवर्द्धन र बढी भन्दा बढी विदेशी पर्यटक नेपाल भित्र्याउनु हो ।

प्रकाशित : पुस १९, २०७५ १४:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT