प्रदेश २ ले अघि बढायो लोकसेवा विधेयक

अजित तिवारी

जनकपुर — प्रदेश २ सरकारले लोकसेवा विधेयक अगाडि बढाएको छ । संघीय सरकारले आवश्यक कर्मचारी नदिँदा सरकारले गति लिन नसकेको भन्दै प्रदेश सरकारले लोकसेवा विधेयक ल्याएर स्थायी कर्मचारी नियुक्तिको तयारी थालेको हो ।

प्रदेश २ ले अघि बढायो लोकसेवा विधेयक

प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक प्रदेशसभामा दर्ता गराउन स्वीकृत दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको लोकसेवामार्फत आवश्यक कर्मचारी स्थायी नियुक्ति गर्ने कानुनी आधार टेकेर विधेयक अघि बढाइएको बताए ।


‘संघीय सरकारले कर्मचारी नदिँदा प्रदेश सरकारले गति लिन सकेन,’ उनले कान्तिपुरसँग भने, ‘धेरै पर्खियौं । संघीय सरकारले नटेरेपछि कर्मचारी नियुक्ति र खटनपटन विधेयकहरू अगाडि बढाउन बाध्य भयौं ।’ लोकसेवा आयोग विधेयक प्रदेशसभामा छिट्टै दर्ता गराइने उनले बताए ।


‘प्रदेशसभाको बैठक सुरु हुनासाथ कर्मचारी नियुक्ति र खटनपटन तथा प्रहरी–प्रशासनसँग जोडिएका सबै विधेयक अगाडि बढाइनेछ,’ मुख्यमन्त्री राउतले भने, ‘अब प्रदेश सरकारको आफ्नै कर्मचारी र प्रहरी–प्रशासन हुनेछ ।’


संघीय सरकारको आश्वासनपछि प्रदेश सरकारले प्रशासन, निजामती कर्मचारी र लोकसेवा आयोग गठनसँग सम्बन्धित विधेयक थाती राखेको थियो तर संघीय सरकारले ल्याउन लागेको आन्तरिक सुरक्षा विधेयकले बिच्किएको प्रदेश सरकारले स्थायी कर्मचारी नियुक्त गर्न लोकसेवा विधेयक अगाडि बढाएको हो । ‘कर्मचारीलाई पेन्डुलम पार्नुभन्दा कानुन बनाएर स्थायी नियुक्तिको बाटो अँगालेका हौं,’ मुख्यमन्त्री राउतले भने, ‘करारमा कर्मचारी नियुक्त गर्नका लागि पनि आवश्यक तयारी भइरहेको छ ।’


प्रदेश २ सरकारले करारमा कर्मचारी नियुक्त गर्ने विधेयक पास गरिसकेको छ । मुख्यमन्त्री राउतले करारमा कर्मचारी नियुक्त गर्दा आवश्यक पर्ने बजेट र सेवासुविधाबारे आन्तरिक गृहकार्य भइरहेको बताए ।


प्रदेश सरकारले दुई महिनाअघि नै कर्मचारी नियुक्ति र खटनपटनसँग सम्बन्धित ३ विधेयक अगाडि बढाउन खोजे पनि प्रधानमन्त्री कार्यालयको आग्रहमा थाती राखेको थियो । प्रदेश २ मा ५ हजार ६७ कर्मचारी आवश्यक छ । अहिले ४ सय ५० जना मात्रै खटिएका छन् ।

प्रकाशित : पुस २०, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?