गलत समाचार लेखेको अभियोगमा पत्रकार पक्राउ

बझाङ — दर्ता नभएको अनाधिकृत अनलाइनमा प्रहरी विरुद्ध भ्रामक समाचार लेखेको भन्दै एक जनालाई पक्राउ गरिएको छ । साइपाल पोस्ट नामक अनलाइनमा प्रहरीको मिलेमतोमा बझाङमा चरेसको कारोबार भइरहेको विषयमा समाचार लेखेको भन्दै प्रहरीले पत्रकार गणेश विकलाई पक्राउ गरेको हो । 

गलत समाचार लेखेको अभियोगमा पत्रकार पक्राउ

बझाङको जयपृथ्वी नगरपालिका–३ घर भएका विकले साइपाल पोस्ट नामको अनलाइनमा ‘बझाङमा घुमुवा प्रहरीको मिलापत्रमा लागूऔषध चरेस विक्री वितरण’ शिर्षको समाचार बिहीबार दिउँसो पोस्ट गरेका थिए । प्रहरी सङ्गठनको मर्यादामाथि आँच पुर्‍याएको भन्दै प्रहरीले बिहीबार नै विकलाई पक्राउ गरेको थियो ।


‘पहिला पनि यस्तै खालका झूटा समाचार अनलाइनमा पोस्ट गरेर विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने काम गर्ने गरेको रहेछ’ बझाङका डिएसपी प्रविण धितालले पक्राउ गर्नुको कारणबारे भने ‘अहिले त प्रहरीकै बारेमा हुँदै नभएको आरोप लगाएर समाचार लेखेको पाइयो । धेरै पटक सम्झाई बुझाई गर्दा नमानेपछि कारबाही गर्नु परेको हो’ उनले यस विषयमा उपल्लो निकायसँग पनि सल्लाह गरिएको र उनलाई साइबर अपराध सम्बन्धी मुद्दा चलाउनका लागि काठमाडौं पठाइएको बताए ।


यता पत्रकारका विभिन्न संगठनहरुले विकको पक्राउको विरोध गरेका छन् । नेपाल पत्रकार महासङ्घ बझाङ शाखाले विकको पक्राउप्रति आपत्ति जनाउँदै रिहाईको माग गरेको छ । यस्तै क्रान्किारी पत्रकार सङ्गठन नेपालले पनि विकको पक्राउको विरोध गर्दै विज्ञप्ति जारी गरेको छ ।


सङ्गठनका महासचिव बाबुराम भुसालद्वारा जारी विज्ञप्तिमा विकको पक्राउले राज्य नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा उत्रिएको उल्लेख गरिएको छ । आफ्नो करतुत बाहिर ल्याएको रिस फेर्नका लागि विकलाई बन्दी बनाएको भन्दै तत्काल रिहाइको माग समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : पुस २०, २०७५ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?