कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसो रातमा सडकमा बेसहारा, एक महिनामा १८ को मृत्यु 

जनकराज सापकोटा

काठमाडौँ — वरिष्ठ नागरिक समाजले सञ्चालन गरेको लैनचौरस्थित बृद्धाआश्रमको मूल गेटबाट एक वृद्ध महिला घरी बाहिर घरी भित्र गरिरहेकी थिइन् । हातमा पोको पारिएको नयाँ सिरक बोकेर निस्केकी उनी साँझसम्म पनि फर्केर आइनन् ।

चिसो रातमा सडकमा बेसहारा, एक महिनामा १८ को मृत्यु 

आफ्नो नाम चन्द्रमाया प्रधान बताउने ती वृद्ध यसै गरी बिहीबार पनि बिहानै सिरक बोकेर निस्केकी थिइन् । राती झन्डै दस बजेतिर प्रहरीले उनलाई समातेर बृद्धआश्रममै ल्याएर छोडिदिएको थियो । मानसिक सन्तुलन गुमाएकी बेसहारा चन्द्रमायालाई बुधवार राती मात्रै महानगरीय प्रहरी परिसरले सडकबाट उठाएर आश्रममा ल्याएर जिम्मा लगाएको थियो ।


बढ्दो चिसोका कारण सडकमै रात बिताउनेहरूको ज्यान जाने जोखिम भएपछि प्रहरीले सडकमा आश्रितहरूलाई उठाएर बृद्धाआश्रम पठाउने अभियान नै थालेको छ । मङ्गलवार र बुधवार मात्रै प्रहरीले १५ जना ज्येष्ठ नागरिकहरूलाई सडकबाट उठाएर वृद्ध आश्रम पुर्‍यायो । प्रहरीले गोङ्गबुस्थित हिमालयन बृद्धआश्रममा ७ र लैनचौरस्थित वरिष्ठ नागरिक समाजले सञ्चालन गरेको बृद्धआश्रममा ८ जना लगेर राखेको थियो । तिनीमध्येकै एक थिइन चन्द्रमाया । चन्द्रमायालाई सडकबाट उठाएको रात काठमाडौँको सबैभन्दा न्यूनतम तापक्रम एक दशमलव २ डिग्री सेल्सियस थियो ।


जल तथा मौसम पुर्वाअनुमान शाखाका अनुसार मङ्गलवार यता काठमाडौँको तापक्रम दुई डिग्री भन्दा कम नै रहेको छ । प्रहरी परिसर काठमाडौँका अनुसार मुटु कँपाउने यति चिसोमा पनि काठमाडौँका मूल र सहायक सडक छेउका खुला स्थान, मन्दिर र सार्वजनिक स्थानमा दुई सयको हाराहारीमा बेसाहाराहरु रात कटाई रहेको प्रहरीको अनुमान छ । प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले त झन् पछिल्लो एक महिनामा सडकमा रात कटाउने १८ जनाको मृत्यु भएको तथ्याङ्क सुनाए । उनले अधिकांशको मृत्युको कारण बढ्दो चिसो रहेको बताउँदै भने, ‘मुटु कँपाउने चिसोमा पनि सामान्य च्यादर बा बोराभित्र घस्रेर धेरैले रात कटाई रहेको देखिन्छ ।’


प्रहरीले कालीमाटी, स्वयम्भू, संकटा मन्दिरलगायतका क्षेत्रमा खुला स्थानमा रात कटाइरहेकाहरूलाई गाडीमा राखेर वृद्ध आश्रममा लगेर छोड्न थालेको छ । सार्वजनिक स्थानमा रात कटाएका अधिकांशको अवस्था यतिसम्म दयनिय देखिन्छ कि प्रहरी पुग्दा उनीहरू कक्रक्क परेर उठ्नै नसक्ने हालतमा देखिन्थे । कतिपय भने चिसोले लगलगी कामी रहेका देखिन्थे । प्रहरीको यस्तो काममा लायन्स क्लब अफ काठमाडौँले कपडा र खाद्य सामाग्री दिएर सघाई रहेको छ । तर, यस्तो कामको प्रभावकारितामाथि भने प्रश्न उठेको छ ।


जस्तो कि, शुक्रवार दिउँसो वरिष्ठ नागरिक समाजको बृद्धआश्रममा पुग्दा प्रहरीले राती उठाएर लगेका आधा जसो असाहयहरु आश्रममा थिएनन् । आश्रमका अध्यक्ष कृष्ण कुमार ढकालले प्रहरीले सडकबाट उठाएर ल्याएका वृद्धमध्ये चार जना बिहीबार नै भागेर गइसकेको बताए । उनले सडकबाट उठाएर ल्याइएका मध्य धेरैजसो मदिराले मत्ता भएका, एक जना मानसिक सन्तुलन गुमेकी र एक जना दमका रोगी रहेको बताए । उनले भने, ‘प्रहरीले फोहोर उठाएको शैलीमा उठायो र आश्रममा ल्याएर छोड्यो ।’ कृष्णको चिन्ता थियो, आश्रममा रहेको १५ जना आश्रितहरूको दिनचर्या नै खलबलिएला जस्तो भयो । उनले चिन्ता व्यक्त गर्दै भने, ‘मानसिक सन्तुलन गुमेकालाई कसरी राख्ने ? फ्याट्ट छतबाट हामफालिन भने के होला ? बिरामीलाई के गर्ने ? स्वास्थ्य तलमाथि भयो भने के होला ?’


कृष्णका अनुसार प्रहरीले राती सडकबाट उठाएर ल्याएकाहरूलाई छाडा आफूले अर्को दिन आएर तिनीहरूको सरसफाइ गरिदिने बाचा गरेको थियो । कोही जुम्रा परेका, कोही गन्हाईरहेका ती बेसाहराहरुलाई बृद्धआश्रमका बर्षौदेखि बसिरहेकाहरूसँग कसरी राख्ने भन्ने चिन्ता आश्रमको थियो । कृष्णले गुनासो गरे, ‘छोडेपछि प्रहरी फर्केर आएनन् । छाडेका कति जनाको अवस्था के छ प्रहरीले मतलब गरेन ।’


जनसेवाको गल्लीबाट प्रहरीले आश्रममा पुर्‍याएका थिए, ४३ वर्षका बिराज सिवाकोटीलाई शुक्रबाट भेट्दा उनी आश्रममा पारिलो घाम तापिरहेका थिए । काम पाएका बेला ज्यालादारी काम गर्ने र त्यसैको कमाइले लजमा सुत्ने बिराज कमाई नभएका दिन संकटा मन्दिर परिसरमा रात कटाउँछन् । मन्दिर परिसरमै मागेर बस्ने एक जना लामा बाजेसँग उनको पुरानो चिनजान छ । त्यही चिनाजानीको फेरो समातेर उनी लामा बाजेले ओडने कम्मलमुनि घस्रेर मन्दिरको पेटीमा रात कटाउँछन् । एक बर्षयता अधिकांश समय मन्दिर पेटीमा सुत्दै आएका बिराजलाई थाह छ, काठमाडौँमा खुला आकाशमुनि रात बिताउनुको पीडा । उनले सुस्तरी भने, ‘मुटु छेडने जाडो भन्छन् नि हो त्यस्तै हुन्छ राती १२ बजेपछि ।’ त्यति बेला के गर्नुहुन्छ त ? उनले भने, ‘घुँडा दोब्राउँछु, हात काखीमुनि च्याप्छु अनि लामाबाजेसँग लपक्क टाँसिन्छु’ बिराजले नढाटीकन सुत्नुअघि आफूले दुई गिलास लोकल रक्सी खाने गरेको सुनाए । उनले भने, ‘रक्सी खाएपछि न्यानो हुन्छ । अनि मन्दिरको पेटीमा जेनतेन निदाइन्छ ।’


आश्रममै भेटिएका पदम बहादुर नेपाली दमको रोगी हुन् । बुधवार प्रहरीले समातेर आश्रममा ल्याउँदा पनि पुरै रक्सी गन्हाईरहेका थिए । कालीमाटीमा कपडा सिलाउने काम गर्ने बताउने नेपाली आफ्नो परिवारको सदस्य कोही नभएको र सडक पेटीमै रात काट्ने बताए । उनले रातको चिसोको अनुभव सुनाए, ‘जाडो के भन्नु । कुकुर त गुडुल्किएर सुत्छ । मान्छेको के कुरा ?’


प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोगटीले काठमाडौँमा खुला स्थानमा सुत्ने बेसाहराहरुको संखया ठुलो रहेको बताउँदै भने ‘काठमाडौँमा बृद्धआश्रम कम छन् र भएकाहरूको पनि क्षमता थोरै छ । त्यसैले हामी अरू बृद्धआश्रमहरु खोजिरहेका छौँ ।’ प्रहरीले चिसोका कारण खुला स्थानमा रात कटाइरहेकाहरूले ज्यान नगुमाउन भनेर प्रयास गरे पनि यति प्रयास मात्रै सार्थक हुने देखिन्न । प्रहरीले सडकबाट उठाएकाहरूको परिचय खोज्ने र उनीहरूका परिवार वा आफन्तजनसँग सम्र्पक गराइदिने प्रयास गर्ने बताएको छ । तर आश्रम पुऱ्याइएकाहरु भने त्यहाँ टिक्न नखोजेको देखिन्छ । प्रवक्ता बोगटीले स्ष्पष्ट पारे जसरी भने, ‘चिसोकै कारण कसैको सस्तो मृत्यु नहोस् भनेर प्रहरीले मानवीय भूमिका खेलेको मात्रै हो ।’

प्रकाशित : पुस २०, २०७५ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?