२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

लुम्बिनीमा १ सय ८ मुलुकका पर्यटक

मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनी अवलोकनमा आउने विदेशी पर्यटक बढेका छन् । सन् २०१८ मा १ सय ८ मुलुकका पर्यटकले पुरातात्त्विक स्थल अवलोकन गरेका छन् । यहाँ आउने स्वदेशी र भारतीयको संख्या बढिरहेको छ ।

लुम्बिनीमा १ सय ८ मुलुकका पर्यटक

मुलुकमा सहज अवस्था र लुम्बिनी केन्द्रित राष्ट्रिय/अन्तर्राष्ट्रिय कार्यक्रमले पर्यटक बढदै गएका हुन् ।


अहिले यस क्षेत्रको प्रवद्र्धनमा संघीय र प्रदेश सरकार जुटेका छन् । लुम्बिनी विकास कोषले बौद्ध धर्मावलम्बी लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ । मुलुकभित्र द्वन्द्वको अवस्था छैन । राजनीतिक स्थिरता देखिएको छ । ‘यहाँ मात्र नभएर छिमेक र बौद्ध मुलुकमा राम्रो माहोल छ,’ लुम्बिनी विकास कोष सूचना अधिकृत राजन बस्नेतले भने, ‘त्यही भएर विदेशी धेरै आए ।’


लुम्बिनीको पर्यटन प्रबद्र्धनमा सरकारले प्राथमिता दिएको उनको भनाइ छ । गत वर्ष सरकार र राष्ट्रप्रमुख सहभागी भएर बुद्धजयन्ती र दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएकाले त्यसले पनि विदेशीलाई आकिर्षत गर्न मद्धत गरेको बताए ।


गत कात्तिक अन्तिममा तीन दिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ र मंसिर पहिलो साता भएको भद्रचर्या उत्सवले बौद्धमार्गी र अध्येताको ध्यान तान्यो । बुद्धको जन्मथलोमा १८ मुलुका बौद्ध धर्मावलम्बीले तीन दिने त्रिपिटक पाठ गरे । १० मुलुकका लामा, गुरु र रिम्पोछेंले भद्रचर्या उत्सवमा शान्तिका सन्देश फैलाए । दुवै कार्यक्रम यहाँ पहिलो पटक आयोजना गरिएका थिए ।


यसले धार्मिक र शान्ति पर्यटनका लागि लुम्बिनीलाई चिनाउने काम गरेको थियो । पछिल्लो पटक लुम्बिनीमा हरियाली, मनोरम बढदै गएको छ । सरसफाइ गरेर चिरिच्याट्ट छ । ‘लुम्बिनीका विभिन्न क्षेत्र राम्ररी घुम्याैं’ चीनबाट घुम्न आएकी साउचाङले भनिन्, ‘शान्ति र प्राकृतिक आनन्द पायौं ।’ अहिले यहाँ घुम्न आउने चिनियाँ बढेका छन् । यसलाई व्यवस्थित गरेर बसाइँ लम्याउनु पर्ने व्यावसायीले बताए ।


‘दसंैमा धेरै पर्यटक आए’ लुम्बिनी विकास कोष सूचना अधिकृत हरि राईले भने, ‘हामी उत्साहित भयौं ।’ पर्यटकको बसाइँ लम्ब्याउन योजना बनाउन जरुरी भएको उनले बताए । नेपालीले घुम्ने रुची राख्नु सकारात्मक भएको उनले बताए । यसलाई रोजगारी र आयआर्जनसँग जोडेर लग्न सक्नुपर्छ । अक्टोबरदेखि मार्चसम्म पर्यटक मौसम हो । त्यही भएर बसाइँ लम्ब्याउने योजना जरुरी भएको सिद्धार्थ होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले बताए । ‘पर्यटक आउने वातावरण बन्यो,’ उनले भने, ‘टिकाउने समस्या भयो ।‘


व्यवसायी निरास

लुम्बिनीमा पर्यटक बढे पनि व्यवसायी उत्साहित हुन सकेका छैनन् । धेरै पर्यटकको भ्रमणको रोजाइमा लुम्बिनी हुन्छ तर पर्यटक यहाँ लामो समय टिक्दैनन् । ‘अहिले पनि लुम्बिनीमा पर्यटकको बसाइँ अवधि लम्ब्याउन सकेकै छैनौं,’ लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘पर्यटक भुलाउने कार्यक्रम जरुरी छ ।’


यहाँ आउने पर्यटकको बसाइँ मुस्किलले एक दिन हुन्छ । त्यो पनि धार्मिक कार्यक्रममा आउनेको मात्र । अरू घुमेर उही दिन फर्किन्छन् । आकर्षक टुर प्याकेज छैन । भारत हुँदै लुम्बिनी आउने पर्यटक समूहलाई भारतीय टुर गाइडले केहीबेर लुम्बिनी घुमाएर तत्काल फर्काएर लैजाने प्रवृत्ति यहाँ भएकाले समस्या छ ।


सरकारी र निजी स्तरबाट पर्यटनमुखी नयाँ आकर्षक कार्यक्रम ल्याउन नसकिएको उनले बताए । यसका लागि सरकार–निजी क्षेत्रको साझेदारी जरुरी रहेको उनले बताए । 


‘कोषमा दलीय प्रभाव र हस्तक्षेप छ,’ एसोसिएसनका महासचिव शर्माले भने, ‘त्यसकारण पर्यटन प्रवद्र्धनका कार्यक्रममा कसैको ध्यानै गएको छैन ।’ साना कुरा र व्यक्तिगत लाभमा अल्झिने समस्या छ । पर्यटन प्रवद्र्धनका योजना र कार्यक्रम काठमाडौंमा बसेर बनाउने गरिएको उनले बताए । त्यसको प्रभाव यहाँ देखिन्न । यो ठूलो समस्या हो ।


स्थानीयसँग हातेमालो गरेर अघि नबढेसम्म लुम्बिनी जहाँको त्यहीं रहने उनले बताए । विश्वकै प्रमुख गन्तव्य स्थलका रूपमा प्रचारप्रसार गर्ने भन्दै सरकारी स्तरबाट सञ्चालन गर्ने गरिएका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम उपलब्धिमूलक बन्न नसकेको उनले बताए । ‘लुम्बिनी आएका पर्यटकलाई भुलाउने स्थल प्रशस्त छन्’ सिद्धार्थ होटल एसोसियसन लुम्बिनी अध्यक्ष मिथुनमान श्रेष्ठले भने, ‘ती ठाउँ आउजाउ यातायात, बाटो र प्रचारप्रसारको कमीले समस्या भइरहेको छ ।’ नेपाली ट्राभल एजेन्सीले प्याकेज टुरका योजना नराख्नुले समस्या भइरहेका ेछ । स्तरीय सडक र होटल पूर्वाधारको कमी छ उनले भने ।


लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकलाई भिसा नि:शुल्क हुनुले पनि लुम्बिनी आएका अधिकांश पर्यटक उही दिन फर्किने गरेका छन् । त्यही भएर थोरै भए पनि शुल्क लिनुपर्ने नियम बनाउन जरुरी छ उनले भने राज्यले थोरै भए पनि राजस्व पाउँछ । ‘यहाँ पर्यटकीय आकर्षण थप्न प्रत्येक दिन साँझ विषेश बुद्धपूजा गराउनुपर्छ । त्यस्तै डेढ किमि लामो केन्द्रीय नहरमा विशेष ध्वनि र प्रकाशसहितको आकर्षक स्थल बनाउनुपर्छ ।


नौका विहारलाई अझ मनोरम शान्तिप्रति समर्पित बनाउनुपर्छ । बेला–बेला विभिन्न चार्डपर्वमा उत्सव, महोत्सव गरेर ध्यान तान्नुपर्छ । ‘यसबाहेक दैनिकजसो बुद्धको जीवनीमा आधारित नाटक वा सांस्कृतिक कार्यक्रमलाई पर्यटन प्रोडक्ट बनाउनुपर्छ । लुम्बिनीबाट लैजाने विषेश प्रसाद र उपहारको योजना बनाएर पर्यटकलाई आकर्षण गर्न जरुरी भएको पर्यटन व्यवासायी गोविन्द ज्ञवालीले बताए ।


यस्तो छ आँकडा

सन् २०१८ मा १ लाख ६९ हजार १ सय ८० विदेशी पर्यटकले लुम्बिनी अवलोकन गरे । परको साउथ अफ्रिकामा पर्ने इथियोपियादेखि नजिकको चीनसम्मका पर्यटक यहाँ आएका छन् । सबैभन्दा बढी यहाँ श्रीलंकाका ५९ हजार ९ सय ५९ पर्यटक आएका थिए ।


त्यसपछि थाइल्यान्डका २६ हजार ६ सय ७७ र म्यानमारका २५ हजार ३ सय ३३ पर्यटले लुम्बिनी भ्रमण गरे । चौथोमा १८ हजार ६ सय ४० चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । पाँचौंमा ७ हजार १ सय ९३ भियतनामका पर्यटक आएका थिए ।


सन् २०१७ भन्दा २०१८ मा थाइल्यान्डका हजार पर्यटक घटेका छन् । अरू ४ वटै मुलुकका बढेका छन् । मुस्लिम मुलुक इरान, द्वन्द्वग्रस्त मुलुक इराकदेखि सिरियासम्मका पर्यटक पनि यहाँ आएका छन् । सन् २०१७ मा १ लाख ४५ हजार ८ सय १४ विदेशी पर्यटक आएका थिए । त्यतिखेर ८९ मुलुकका पर्यटक आएका थिए भने अहिले बढेर १ सय ८ मुलकका पर्यटकले लुम्बिनी अवलोकन गरेका छन् ।


२०१६ मा ८१ मुलुकका १ लाख ३६ हजार २ सय ५३ पर्यटकले अवलोकन गरेका थिए । त्यस्तै वर्षभरिमा ११ लाख ५५ हजार ५ सय ४४ नेपालीले लुम्बिनी अवलोकन गरे । नोभेम्बरमा मात्र १ लाख ३४ हजार ८ सय ९१ जना आएका थिए । तर २०१७ भन्दा गत वर्ष नेपाली पर्यटक घटे । २०१८ मा लुम्बिनीमा १ लाख ९२ हजार ४ सय १० भारतीय पर्यटक आएका थिए । ४ वर्षदेखि निरन्तर भारतीय पर्यटक बढ्दै गएका छन् ।

प्रकाशित : पुस २१, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?