‘सत्य, तथ्य पत्ता लगाउन आयोग गठन’
पोखरा — उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइड बडी खरीद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बताएका छन् ।
नेपाल प्रेस संगठन कास्कीद्वारा शनिबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिनको प्रतिवेदन मूलसमितिमा नपठाइ सार्वजनिक गर्नु बदनियत देखिएकाले सत्य तथ्य पता लगाउन सो आयोग गठन गरिएको स्पष्ट पारे ।
उनले आयोगद्वारा तयार पारिएका प्रतिवेदनको आधारमा दोषी देखिएका व्यक्तिमाथि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख गरे । रेशम चौधरीको शपथ ग्रहणको सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले फौजदारी अभियोग लागेपछि संसद् सदस्यता नरह्ने र काबाही गर्ने तत्कालीन एमालेका सांसदले यसअघिको संसद्को छलफलमा अडान लिएको स्मरण गराए ।
उनले जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर संसद्मा सपथ ग्रहण गराइएको जानकारी गराए ।
उनले केन्द्र र प्रदेशमा पार्टी एकताको कार्य सम्पन्न भइसकेको र जिल्ला, जनवर्गीय संगठन, प्रवासी संगठन लगायतमा एकताका लागि कार्य भइरहेको जानकारी गराए । पार्टी एकताका लागि गठित कार्य दलले पुस मसान्तसम्ममा प्रतिवेदन सचिवालयमा बुझाएपछि पार्टी एकताको कार्यले गति लिने उल्लेख गरे ।
प्रकाशित : पुस २१, २०७५ १२:३७