अनियमित वर्षाले घट्न थाल्यो उत्पादन

तेह्रथुम/भोजपुर/सुनसरी — पानीका मुहान सुक्दै जाने, वर्षा पनि समयमा नहुने भएपछि गाउँमा समस्या पर्न थालेको छ । घरायसी प्रयोजनका लागि मात्र होइन, यसले कृषिमा पनि प्रभाव पारिरहेको छ ।

स्थानीय बासिन्दा खडेरीका बेला कसरी जीवनयापन गर्न सकिन्छ भन्ने उपायको खोजीमा लागेका छन् । यसका लागि सरोकारवालाबीच छलफल गरी उपाय पहिल्याउने प्रयास सुरु भएको छ । मुहान सुकेर पिउने पानीको हाहाकार भएपछि ‘अनुकूलनका योजना’ बनाउन थालिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गणेश सेनले बताए ।

उनका अनुसार प्रकोपसँग जुध्ने उपाय खोज्न गाउँलेबीच छलफल थालिएको छ । तेह्रथुममा मोटरबाटो खन्ने लहर सुरु भएसँगै पानीको मुहानमा असर देखिएको उनीहरूको अनुभव छ । सडकका कारण हरियो वन जंगल मासिएको र पानीका मुहान सुकेको छथर गाउँपालिका–२ का भूपाल कार्कीले बताए ।

वातावरणमा भएको परिवर्तनको असर कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, जलस्रोत तथा ऊर्जा, मानव स्वास्थ्य, सहरीकरण तथा भौतिक पूर्वाधार क्षेत्रमा प्रत्यक्ष देखिएको गाउँलेको निष्कर्ष छ । गाउँमा सडक निर्माण गर्दा डोजर प्रयोग गरिएपछि पानीका मुहान सुक्न थालेको फेदाप गाउँपालिका सिम्लेका दोर्ण माझी बताउँछन् ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखाले पछिल्लो समय यस विषयमा जिल्लाभर छलफल चलाइरहेको जनाएको छ । छलफलपछि महासंघले गाउँलेकै प्रत्यक्ष सहभागितामा अनुकूलन योजना बनाइरहेको छ । छलफलबाट तयार हुने योजना परिमार्जनपछि सबैजसो स्थानीय तहमा कार्यान्वयनका लागि पठाउने तयारी भइरहेको महासंघले जनाएको छ ।

वर्षा अनियमित हुँदा कृषि उत्पादनमा उतारचढाव आएको, कृषि बालीमा नयाँ प्रजातिका रोग, किरा र संक्रमण देखिएको, बिरुवाको फूल फुल्ने, फल लाग्ने र पाक्ने समयसमेत अघिपछि भएको ग्रामीण बासिन्दाको भनाइ छ । वनक्षेत्र र खेतबारीमा वनमारा र किर्ने काँडाजस्ता मिचाहा प्रजातिका झार फैलिँदा स्थानीय प्रजातिका बोटबिरुवा मासिएको उनीहरूको अनुभव छ ।

मुहान सुकेका कारण पिउने र सिँचाइ गर्ने पानी अभाव भएकाले सरकारले राष्ट्रियस्तरमै अनुकूलन कार्यक्रम ल्याउनुपर्ने गाउँलेले बनाएको योजनामा उल्लेख छ । पहाडका उच्च बस्तीमा पछिल्लो समय लामखुट्टे र औलो ज्वरोको प्रकोप देखा परेकाले त्यसको समाधानका लागि सरकारले ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।

धान उत्पादन घट्यो

खडेरीका कारण यो वर्ष भोजपुरमा धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा साढे ५ हजार मेट्रिकटन धान उत्पादन कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पर्याप्त सिँचाइ अभाव, विभिन्न रोग र किराको प्रकोपले गर्दा पोहोरको तुलनामा १६ प्रतिशत हाराहारी उत्पादनमा ह्रास आएको हो । गत वर्ष ३६ हजार ३ सय १८ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष ३० हजार ७ सय ५६ मेट्रिकटन मात्र उत्पादन भएको केन्द्रले जनाएको छ ।

आकाशे पानीको भरमा खेती गरिने भएकाले वर्षामा कम पानी परेपछि धान उत्पादनमा ह्रास आएको केन्द्रका प्राविधिक सहायक विशाल राईले बताए । उनका अनुसार किसानको आधुनिक खेतीतर्फको बढ्दो आकर्षण र उन्नत प्रकारको हाइब्रिड बीउको सट्टा परम्परागत पुरानै धानको बीउको प्रयोग गर्ने गरेकाले उत्पादनमा कमी आएको हो । वर्षातको मौसममा पानी नपरेपछि षडानन्द नगरपालिका–४ का कृषक भरत बस्नेतले यस वर्ष १४ मुरी मात्र धान भित्र्याएका छन् । अघिल्लो वर्ष उनले २६ मुरी भित्र्याएका थिए ।

रामप्रसाद राई गाउँपालिका–४, दलगाउँका किसान भोला सुवेदीको व्यथा उस्तै छ । ३० मुरी धान उत्पादन हुँदै आएको खेतमा यस वर्ष जम्मा १४ मुरी मात्र उत्पादन भएको छ । उनले भने, ‘अर्को वर्षका लागि बीउ उत्पादन भयो, कतिपयको खेतमा त बीउ राख्न पुग्ने पनि उब्जाउ भएन ।’

जिल्लाको उत्पादनले कुल जनसंख्याको ३७ प्रतिशतलाई मात्र वर्षभरि खान पुग्छ । जिल्लाको २० हजार एक सय तीन हेक्टरमा धान खेती गरिन्छ भने ४ हजार सात सय २५ हेक्टर बाँझै रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

भोजपुरमा खेतीयोग्य जमिन ६२ हजार दुई सय ९९ हेक्टर छ, त्यसमध्ये २० हजार एक सय ३ हेक्टर खेत छ । जिल्लाका सात हजार एक सय ९० हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ हुन्छ । कुल खेतीयोग्य जमिनको ३०.८० प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा छ ।

वैकल्पिक खेती

सप्तकोसी किनारमा धानखेती वा फलफूल तरकारी खेती हुनुपर्ने हो । नदी आसपास क्षेत्रमा सिँचाइ सुविधा नहुँदा यस्तो अवस्था छैन । आकाशे पानीको भरमा खेती किसानी गर्ने बराहक्षेत्रको राजाबास, प्रकाशपुर र चक्रघट्टीका किसान अचेल तरुल खेतीमा लागेका छन् ।

उक्त क्षेत्र सानो भए पनि मुलुकमै सबैभन्दा बढी तरुल उत्पादन गर्ने ‘पकेट एरिया’ का रूपमा चिनिन थालेको छ ।

माघे संक्रान्ति आउनु तीन साताअघिदेखि काठमाडौं, पोखरा, वीरगन्ज, जनकपुर, बुटवल, धरान, इटहरीलगायत स्थानका व्यापारीले बैना गरिसकेका छन् । तरुल खेतीको सुरुआत गर्ने राजाबासका भक्त सापकोटाले भने, ‘सिँचाइ सुविधा नभएकाले पाँच वर्षअघि रातो हात्तीपाइले तरुल रोपें । निकै उत्पादन भयो ।

धरान, इटहरीका बजारमा लगेर बिक्री गरियो । हुन्छ कि क्या हो भनेर अलिअलि गर्दै सात कट्ठा जमिनमा खेती गर्न थालेको, यो वर्ष त करिब तीन लाख रुपैयाँको उत्पादन भएको छ ।’ उनीजस्तै तरुल खेती गर्नेहरू गाउँमा दर्जनौं छन् ।

उनीहरूले वार्षिक २ करोड रुपैयाँको तरुल उत्पादन गरेर अन्यत्र निकासी गर्ने गरेका छन् । तरुल उत्पादन बढे पनि उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकेको सापकोटाले बताए । उनका अनुसार पहिल–पहिले एक–दुई बोट रोप्ने किसानले अहिले व्यावसायिक खेती गरिरहेका छन् ।

किसानले तरुल मात्रै होइन, तरुलको लहरा र जरामा फल्ने साना बीउसमेत बेचेर कमाइ गर्न थालेका छन् । गाउँमा प्रतिकेजी एक सय रुपैयाँले बीउ बिक्री हुने गरेको छ । करिब तीन

सय घरले तरुल खेती गरिरहेका छन् । आकाशे पानीको भरमा धान, मकै, कोदो, जौ, गहुँ खेती गर्दा २५ हजार रुपैयाँको पनि उत्पादन नहुने ठाउँमा तरुल खेतीले किसानलाई उकासेको उनले बताए ।

उनका अनुसार यहाँबाट अघिल्लो वर्ष पुस अन्तिम साता १० ट्रक तरुल काठमाडौं निकासी भएको थियो । यस पटक ३० ट्रक तरुल पठाउन लागिएको छ । उनले भने, ‘अरु अन्नबालीजस्तो धेरै स्याहार गर्न नपर्ने, मनग्गे कमाइ पनि हुने । अधिकांशले तरुल खेती गरेर वार्षिक दुई/अढाई लाखसम्म कमाउने गरेका छन् ।’

राजाबासका तरुल कृषक धनप्रसाद लिम्बू, प्रकाशपुरका भीम कार्की र प्रकाशपुर मंगलबारेका रोशन कटवालका अनुसार व्यापारीले प्रतिकेजी ५० रुपैयाँका दरले बारीमै आएर लैजाने गरेका छन् ।

प्रकाशित : पुस २२, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?