१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बेनी अस्पताल ५ महिनादेखि प्रमुखविहीन

घनश्याम खड्का

म्याग्दी — दस विशेषज्ञ डाक्टर दरबन्दी रहेको जिल्ला अस्पताल बेनीमा प्रमुखसहित एकजना पनि डाक्टर छैनन् ।

अस्पताल प्रमुख विशेषज्ञ (कन्सल्टेन्ट) डा. रोशन न्यौपाने सरुवा भई संघीय मन्त्रालय गएपछि ५ महिनादेखि जिल्ला अस्पताल प्रमुखविहीन भएको हो । अस्पताल जुनियर मेडिकल अफिसर र निक साइमन्स भन्ने आईएनजीओका डाक्टरको भरमा चलेको छ । १५ शय्या क्षमताबाट ५० मा स्तरीकरण गरिएपछि बेनी जिल्ला अस्पतालको अवस्था खस्केको छ ।


‘अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसमेत कन्सल्टेन्ट डाक्टर नहुँदा जुनियर मेडिकल अफिसरले काम चलाएका छौं । अख्तियारी नहुँदा रिस्क लिनुभन्दा बिरामीलाई पोखरा रिफर गर्न बाध्य छौं,’ डा. विराट शर्माले भने, ‘व्यवस्थापकीय ध्यान नपुग्दा ५० बेडको अस्पतालमा उपलब्ध क्षमता ह्रास भइरहेको छ ।’


जिल्ला अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट (विशेषज्ञ), पेडियार्टिसियन (बालरोग) तथा गाइनो (स्त्रीरोग), सर्जन, अर्थोसर्जन (हाडजोर्नी), साइक्यार्टिक (मानसिक रोग), एनेस्थेसियालोजिस्ट, जनरल फिजिसियन, रेडियोलोजिस्ट, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जनरलिस्ट, सुपरिटेन्डेन्टसमेत १० डाक्टरको दरबन्दी छ । तर एकजना पनि विशेषज्ञ डाक्टर छैनन् ।


‘स्वास्थ्य मन्त्रालय प्रदेश सरकार मातहत रहेको र प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा कार्यविधि बढाउँदै रहेकाले तत्काल सबै कन्सल्टेन्ट जिल्लामा आउने सम्भावना क्षीण छ । फेरि जिल्ला अस्पतालको कागजमा स्तरोन्नत भए पनि भौतिक संरचना निर्माण पूरा भएपछि आउने विश्वास छ,’ अस्पताल विकास समिति अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ल्याउन पहल थालेका छौं ।’


अस्पतालमा छुट्टै ४ मेडिकल अफिसरको दरबन्दी भए पनि २ जना अध्ययन बिदामा छन् । ५० बेड क्षमताको जिल्ला अस्पताल निक साइमन्स संस्थाले २ एमडीजीपी डाक्टर पठाएकाले सेवा सञ्चालनमा छ । संस्थाका डा. नवराज बस्ताकोटीलाई मेडिकल अफिसरहरू डा. विराट शर्मा र ल्याब टेक्नोलोजिस्ट डा. संजोग तिमिल्सिना तथा छात्रवृत्तिमा आएका ७ मेडिकल अफिसरले साथ दिएका छन् ।


दरबन्दी अनुसारका डाक्टर जिल्ला नआउँदा अस्पताललाई १५ बाट ५० बेडमा स्तरोन्नति गरे पनि बिरामीले भने उल्टो सास्ती पाएका छन् । १५ बेड क्षमताको अस्पताल हुँदा जुन सेवा सुविधा थियो, ५० बेड बनाएपछि झन् नि:शुल्क भनिएका ७० प्रकारका औषधि पनि बन्द गरिएको छ । बहिरंग सेवा परीक्षण गर्न भर्ना शुल्क, भिडियो एक्सरे, एक्सरे, ल्याब टेस्ट सबै क्षेत्रमा शुल्क वृद्धि गरिएको छ ।

प्रकाशित : पुस २२, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?