घरघरै डाक्टरी सेवा

दुर्गालाल केसी

दाङ — तारा गाहा मगरलाई रक्तश्राव भएको लामो समय भएको थियो । चार छोरी र दुई छोराकी आमा भइसकेकी गाहाले स्वास्थ्य अवस्था निकै कमजोर भइसक्दा उपचारमा जान पाएकी थिइनन् ।

घरघरै डाक्टरी सेवा

गाउँमै डाक्टर आएपछि उनले समस्या राख्न पाइन् । ‘घरमा छोराछोरी स्याहार्नै ठिक्क हुन्छ । कतिबेला अस्पताल जानू ? दिनभर हिंडेर जानै सकिँदैन,’ उनले भनिन्, ‘अहिलेसम्म सहेरै बसेकी थिएँ । गाउँमै डाक्टर आएपछि देखाउन पाएँ, औषधि दिनुभएको छ ।’


२९ वर्षीया पवित्रा घर्तीकी चार महिनाकी छोरी सुनीतालाई खोकी, पखाला र ज्वरोले सताएको एक साता भइसके पनि उनले जँचाउन पाएकी थिइनन् । घरमै टुप्लुक्क डाक्टर आइपुग्दा उनी अचम्म परिन् । ‘घरमै छोरी जँचाउन पाएँ,’ उनले भनिन्, यसरी सधैं डाक्टर भेटिने भए त कति सजिलो हुन्थ्यो ।’


ढाड दुखेर हिंड्नै नसक्ने भएका ५२ वर्षीय दुर्गाबहादुर खैकला मगरले पनि घरमै डाक्टरसँग जँचाउन पाए । ‘उठ्नै नसक्ने भएको धेरै समय भइसक्यो । हिंडेर अस्पताल पुग्न नसकिने भयो । जे होला भनेर घरायसी औषधि गरेर बसेको थिएँ,’ उनले भने, ‘डाक्टर नै घरमा आएपछि भनेजस्तो भयो । पहिलोपटक घरमा डाक्टर पुगेको देखेर अचम्म लाग्यो ।’


गाउँपालिकाको पहलमा घरमै डाक्टरी सेवा पाएपछि देवीकोटका बासिन्दा पनि निकै खुसी छन् । राप्ती गाउँपालिकाले घरघरै डाक्टर पुर्‍याउने योजनाअन्तर्गत गाउँपालिकाका विकट क्षेत्र छनोट गरी सेवा सुरु गरेको हो । गाउँपालिकाले आफ्नै स्रोतमा डाक्टर राखी तीन महिनादेखि सिसहनिया र भालुबाङ स्वास्थ्य चौकीबाट नियमित सेवा दिंदै आएको थियो ।


विकट बस्तीका बासिन्दा स्वास्थ्यचौकीसम्म पुग्न नसक्ने भएपछि शुक्रबारदेखि विकट गाउँका घरघरमै पुगेर अशक्तलाई जाँच गर्न सुरु गरिएको हो । ‘विकट गाउँका सबै बासिन्दा स्वास्थ्यचौकी पुग्न समस्या भयो । त्यसपछि घरमै पुगेर सेवा दिन थालेका हौं,’ डा. पुष्प भुसालले भने, ‘महिला, बालबालिका र वृद्धवृद्धा स्वास्थ्यचौकी पुग्न नसकेर घरमै थलिएका रहेछन् ।’


पहाडमा ढाडको भरमा धेरैजसो काम गर्नुपर्ने भएकाले अधिकांशमा ढाड दुख्ने समस्या र महिलामा पाठेघर खस्ने समस्या धेरै रहेको उनले बताए । ‘बिरामीको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई नि:शुल्क औषधि वितरण गरिएको छ,’ उनले भने, ‘विकट बस्तीमा घरदैलो उपचार सेवालाई निरन्तरता दिएर सबैलाई आधारभूत स्वास्थ्यको अधिकार प्रत्याभूत गराउने लक्ष्य छ ।’


गुणस्तरीय सेवा दिन गाउँपालिकाले आफ्नै स्रोतमा डाक्टर राखेसँगै विकट बस्तीमा घरदैलो सेवा पनि दिन थालेपछि नागरिकलाई ठूलो राहत मिलेको वडाध्यक्ष रिमबहादुर सुनारी मगरले बताए । ‘यहाँका बासिन्दालाई डाक्टर देख्नै गाह्रो छ । उपचारका लागि पनि फुर्सद मिलाउनुपर्छ । भनेका बेला घरबाट निस्कन पाइँदैन,’ उनले भने, ‘घरमै डाक्टर पुगेपछि धेरै सजिलो भयो । घरको काम पनि भयो । उपचार पनि पाइयो ।’


गाउँपालिकामा हालसम्म डाक्टरी सेवा थिएन । डाक्टरको सेवा पाउन लमही, घोराही, नेपालगन्ज या बुटवल पुग्नुपर्ने बाध्यता थियो । ‘स्वास्थ्यजस्तो गम्भीर विषयमा लापरबाही गर्नुहुँदैन भनेर डाक्टरको व्यवस्था गरेका छौं,’ गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले भने, ‘विकट बस्तीका जनतालाई गाउँपालिका केन्द्रसम्म पुग्न पनि समस्या भएकाले घरदैलोमै डाक्टर पठाएका हौं ।’ आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहोस् भनेर नि:शुल्क औषधिसहित घरदैलो सेवा दिन थालिएको उनले बताए ।

प्रकाशित : पुस २२, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?