१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा, ११ वर्षपछि भेटे बाबुले छोरी

स्याङ्जा — आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् ।

गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा, ११ वर्षपछि भेटे बाबुले छोरी

दुवै जना प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै कार्यालयभित्र पसे । ती महिला अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी थिइन् भने उनीभन्दा अघिअघि हिँड्ने उनकै श्रीमान् सुन्दरमणि अधिकारी । कान्तिपुरले माझी गुमनाम रहेको समाचार प्रकाशित गरेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन् ।

विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन् । एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए । ‘सुन्दरमणिलाई बिहीबार फोन गरेको थिएँ’ एसपी लम्सालले भने, ‘विष्णुजी आउनुहुन्छ कि तपाईँले ल्याउनुहुन्छ ? यदि तपाईँले नल्याए हामीले ल्याउनु पर्ने हुन्छ भनेको थिएँ । सुन्दरमणिले शुक्रबार र शनिबार व्यस्त भएकाले आइतबार आउने वचन दिएका थिए, आए ।' कान्तिपुरले समाचारमा विष्णु गुमनाम रहेको र बाबुसँग पनि ११ वर्षदेखि भेट नभएको उल्लेख गरेको थियो । कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए ।


गायिका विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारी (बायाँ) र विष्णु । स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर ।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए । सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ ।


त्यहाँ आउनुअघि नै मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन । छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए । एसपी लम्सालले भने, ‘विष्णुजी त्यति खुल्नु भएन । गाउँले भाषामा नै केही थोरै जवाफ मात्र दिनुभयो । सुन्दरमणिले भने अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो ।’


विदेश यात्रामा किन नगएको भन्ने प्रश्नमा सुन्दरमणिले विष्णुलाई मात्र विदेश यात्राको अफर आउने र आफूलाई पनि लैजाऊ भन्दा नलग्ने भएकाले नगएको बताएका थिए । 'कतिपयले त विष्णुलाई मात्र अमेरिका लैजान्छु भने, मैले विष्णुसँग म पनि जान खोजेँ । लैजाने भए दुवै जनालाई लैजाऊ भने तर, मलाई कसैले लैजान खोजेनन् । उनी सामान्य लेखपढ गरेकी केटी हुन् । बोल्न जान्दिनन् । लेख्न, पढ्न पनि जान्दिनन् । बाहिर फेस गर्न नसक्ने भएकाले म सँगै जान खोजेको थिएँ । र, एक्लै पठाइनँ’ सुन्दरमणिको भनाइ उद्धृत गर्दै एसपी लम्सालले भने ।

यो पनि पढ्नुस्

विष्णुले भने आफूले धेरै पढेलेखेको नहुनले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन् । विष्णु र सुन्दरमणि दुवैले मिडियालाई जवाफ दिन आवश्यक नभएको भनेका थिए । छलफलका क्रममा बाबुआमा भने त्यत्ति बोलेनन् । दाइ बाबुरामले बहिनी विष्णुसँग बेलाबेलामा सम्पर्क हुने बताए भने बहिनी जीवन काठमाडौंमा सँगै बस्दै आएको सुन्दरमणिले बताएका थिए ।

विष्णुले छलफलका बेला पनि मुखबाट माक्स नहटाइपछि एसपी लम्सालले माक्स र पछ्यौरा हटाउन लगाएका थिए । अनुहारमा कुनै चोट, खत नभएको पनि एसपी लम्सालले कान्तिपुरलाई बताए । राष्ट्रिय कलाकार देशका गहना भएकाले यत्रतत्र माग हुँदा गुमनाम हुनुको कारणबारे प्रहरीले प्रश्न गरेको थियो । सुन्दरमणिले 'आफ्नो इच्छा' हो भन्दै चर्को स्वरमा जवाफ दिए । छलफलमा गरिएका प्रत्येक प्रश्नको जवाफ सुन्दरमणिले नै दिन्थे ।


एसपी लम्सालले छलफलमा गरिएका प्रश्नमा आउने जवाफ र उनीहरू आउँदा जाँदाको अवस्था हेर्दा विष्णु माझी स्वतन्त्र छन् भनेर भन्न नसकिने बताए । विष्णु र सुन्दरमणिले पत्रकारसँग बोल्न मानेनन् । कसैले केही सोध्ने वा फोटो खिच्न खोजे सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिन्थे ।


बाबु–छोरीबीच ११ वर्षपछि भेट


सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि बाबुसँग भेट भएको छ । बाबु ५८ वर्षीय ताराबहादुरले छोरी विष्णुसँग भेट नभएको ११ वर्ष भएको यसअघि कान्तिपुरसँगको कुराकानीमा बताएका थिए । ताराबहादुरले सानै उमेरमा छोरी काठमाडौँ गएपछि घर नआउने र आफू पनि काठमाडौँ जान नसक्ने हुँदा भेट नभएको बताएका थिए ।


आइतबार ताराबहादुरको छोरी भेट्ने सपना पनि पूरा भएको छ । प्रहरीले विष्णुको खोजी गरेर सम्पर्कमा आएपछि माइती पक्षलाई पनि बोलाएको हो । प्रहरीको बिचमा छोरी भेटेका ताराबहादुर भने केही बोल्न सकेनन् । छुट्टै कुरा गर्न पनि पाएनन् । विष्णु सुन्दरमणिसँग आउने र जाने गरिन् । आमा धर्मकुमारीले भने काठमाडौँ नै गएर छोरी भेट्ने गरेको बताएकी थिइन् ।

प्रकाशित : पुस २२, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?