कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै बिरामीमा मलेरिया र कालाजार

मधु शाही

बाँके — यहाँ एक बिरामीमा मलेरिया र कालाजार संक्रमण देखिएको छ । एउटै व्यक्तिमा दुवै रोगको संक्रमण एकसाथ देखिनु दुर्लभ भएको चिकित्सकको दाबी छ ।

जाजरकोट ८, जुवातापाचौरका ५ वर्षीय धनवीर परियारमा यस्तो संक्रमण देखिएको हो । उनी कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । अस्पतालका प्याथोलोजी विभागका एसिस्ट प्रोफेसर डा. प्रज्ञा गौतम घिमिरेले प्रयोगशालामा सामान्य परीक्षणबाट रोग पत्ता लगाएको बताइन् । एउटै बिरामीमा मलेरिया र कालाजार एकसाथ देखिनु गम्भीर समस्या भएको उनले बताइन् ।


‘यस्ता बिरामी नेपालमा पहिलोपटक देखिएका हुन्,’ उनले भनिन्, ‘दुवै रोगको लक्षण एउटै हुने भएकाले कुन रोगले बढी च्यापेको हो, पत्ता लगाउन चुनौती भएको छ ।’ सुरुमा मलेरियाको उपचार गरियो । त्यसले ज्वरो कम भएन । प्रयोगशालामा अनुसन्धान क्रममा बिरामीको रगतमा मलेरियासँगै कालाजारका जीवाणु भेटिएको उनले दाबी गरिन् ।


त्यसपछि कालाजार उपचारका लागि भेरी अञ्चल अस्पताल रिफर गरिएको उनले बताइन् । सरकारले नि:शुल्क रूपमा कालाजारको उपचार गर्दै आएको छ । त्यसैले रिफर गरिएको हो । ‘दुवै रोग एउटै बिरामीमा देखिनु दुर्लभ हो,’ उनले भनिन्, ‘अर्कोतर्फ पहाडी भेकमा कालाजार देखिनु अनुसन्धानको विषय हो ।’


तराईमा कालाजार हुन्छ भन्ने मान्यताअनुरूप सरकारले यही क्षेत्रमा बढी स्वास्थ्यसम्बन्धी कार्यक्रम केन्द्रित गरेको उनले बताइन् । अब कालाजार पहाडसम्म पुग्यो भन्ने प्रस्ट भएको छ । लामखुट्टेको टोकाइले मलेरिया हुन्छ । भुसुनाको टोकाइले कालाजारका जीवाणु सार्ने गर्छ ।


तराईमा कालाजार र मलेरियाका बिरामी हुन्छन् । पहाडी क्षेत्रमा समेत यस्ता बिरामीको संख्या बढै गएको भेरी अञ्चल अस्पतालका इमर्जेन्सी चिकित्सक अनुराग चापागाईंले बताए । ‘बिरामी अहिले बिस्तारै निको हुँदै छन्,’ उनले भने, ‘समयमै दुवै रोग पत्ता नलागेको भए बचाउन गाह्रो हुन्थ्यो ।’ यो केसबाट अब मलेरिया हुने बिरामी आए र औषधि गरी निको भएन भने कालाजारसमेत जाँच गर्न आवश्यक देखिएको छ ।


पेट दुख्ने, ज्वरो आउने, दिसा नहुनेजस्ता मलेरिया र कालाजार दुवै रोगको लक्षण एउटै हुने चिकित्सक प्रज्ञाको भनाइ छ । त्यसैले पनि कुन रोगले बिरामी परेको हो, अनुमान लगाउन कठिन हुने उनले बताइन् । बिरामीको रगत जाँच गर्दा तीनवटै रक्तकोषिका ‘डब्लूबीसी’, ‘आरबीसी’ र ‘प्लेटलेट’ को मात्रा कम रहेको डा. प्रज्ञाले बताइन् । ‘पेरिफरल ब्लड फिल्म (पीबीएस) हेर्दा दुवै जीवाणु भेटिए,’ उनले भनिन् ।


सरकारले कालाजार र मलेरिया निर्मूल गर्न विशेष स्वास्थ्य नीति अपनाउँदै आएको छ । नि:शुल्क औषधि उपचारसँगै भ्याक्सिन दिँदै आएको छ । २०१८ मार्चमा डा. प्रज्ञाले ३३ बिरामीमा परीक्षण गर्दा ३३ जनाकै छालामा कालाजार देखिएको बताइन् । सरकारको २०१४ को रिपोर्टले छालामा हुने कालाजार शून्य देखिएको तथ्यांक छ ।


मलेसियामा एक नेपालीलाई यस्तै कालाजार र मलेरिया दुवै रोग देखिएको डा. प्रज्ञाले सुनाइन् । तराईमा मात्रै कालाजार हुन्छ भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । त्यस्तै, रोग नियन्त्रण गर्ने औषधिले भन्दा भुसुना र लामखुट्टेको टोकाइदेखि कसरी सुरक्षित हुन सकिन्छ ? त्यसबारे सरकारले नीतिगत रूपमा ध्यान दिन जरुरी रहेको चिकित्सकहरूले बताए ।

प्रकाशित : पुस २२, २०७५ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?