कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चुनाव लड्न डराए कांग्रेस केन्द्रीय नेता

‘केन्द्रीयस्तरका नेताहरू वडा तहबाटै आउन हुन्न भने के नेता बन्ने?’ –धनराज गुरुङ

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिका अधिकांश सदस्यले तलबाटै निर्वाचित हुने व्यवस्था पार्टी विधानमा राख्न नहुने पक्षमा ‘लबिइङ’ थालेका छन्।

चुनाव लड्न डराए कांग्रेस केन्द्रीय नेता

पार्टीको गाउँ/नगर र क्षेत्र तहमा चुनाव हारिने डरले उनीहरूले यस्तो ‘लबिइङ’ थालेका हुन्। यही कारण माघ १० मा हुने केन्द्रीय कार्यसमितिको बैठकबाट केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि हुने प्रावधान यथावत् राख्न निर्णय हुने संकेत देखिएको छ।


पुस ८ को महासमिति बैठक समापन कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान हटाउने प्रतिबद्धता जनाएका थिए।


दुई शीर्ष नेताले केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि हुने प्रावधान संशोधन गरिने वचन दिएपछि मात्रै पार्टी विधान महासमिति बैठकबाट सर्वसम्मत पारित भएको थियो। स्वत: को प्रावधान हटाउन कांग्रेसका ५० भन्दा बढी जिल्ला सभापतिको अगुवाइमा एक तिहाइ बढी महासमिति सदस्यले हस्ताक्षर गरी प्रस्ताव दर्ता गराएका थिए।


त्यसमा छलफल नै नगराई विधान पारित गर्न खोज्दा सभापतिहरूले अवरोध गरेका थिए। सभापतिहरूले उठाएको माग सम्बोधन नगर्दा विधान सर्वसम्मतिबाट पारित नहुने भएपछि देउवा र पौडेलले सार्वजनिक प्रतिबद्धता जनाएका हुन। देउवाले ‘माग पूरा गरिन्छ तर तपाईंहरूले तलबाटै यी नेताहरूलाई सिध्याइन्छ भन्न पाउनु हुन्न’ भन्ने सर्तसमेत त्यस अवसरमा राखेका थिए ।


यसअघि पाउँदै आएको सुविधा कायम राख्नुपर्छ भन्नेमा संस्थापन र संस्थापनइतर दुवै पक्षका सदस्य नै छन्। तर, अहिले सभापतिनिकट केही पदाधिकारीसहितका सदस्यहरू नै बढी ‘लबिइङ’ मा छन्रु। सभापति पनि संशोधन गर्ने मुडमा हुनुहुन्न,’ संस्थापनपक्षीय एक केन्द्रीय सदस्यले भने, ‘सार्वजनिक रूपमा प्रतिबद्धता जनाइए पनि यस विषयमा संशोधन हुन्न।’ विधानअनुसार पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।


पार्टीका पूर्वपदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसद्का सदस्य तथा उम्मेदवार, प्रदेशसभाका सांसद र सांसदका उम्मेदवारसम्मले एक अवधिका लागि क्षेत्रीय प्रतिनिधि स्वत: हुन पाउने व्यवस्था छ।


गाउँ र नगरका वडा कार्यसमितिबाट क्षेत्रीय प्रतिनिधि चुनिन्छन्रु। तिनैबाट महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था छ। महाधिवेशन प्रतिनिधि भएपछि मात्रै केन्द्रीय अधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्ने बाटो खुल्छ। संघीय संसदको प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन्रु। उनीहरू प्रदेश अधिवेशनका मतदातासमेत हुन्छन्।


पार्टीका तल्ला तहका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय पदाधिकारी, सदस्य, सांसदलगायत सबै नेताहरू वडा तहबाटै चुनावी प्रतिस्पर्धा गरेर महाधिवेशनमा जानुपर्ने माग उठाउँदै आएका छन्।


महासमिति बैठकमा जिल्ला सभापतिहरूको मुख्य मागसमेत यही थियो। तलैबाट चुनाव हारेमा केन्द्रीय तहमा प्रतिस्पर्धा गर्ने ढोका बन्द हुने भएकाले अधिकांश केन्द्रीय सदस्यले पुरानै व्यवस्था कायम राख्न लबिइङ गरेका हुन।


केन्द्रीय कार्यसमितिमा शेखर कोइराला, नविन्द्रराज जोशी, गगनकुमार थापा, धनराज गुरुङ, प्रदीप पौडेललगायत आधा दर्जन जति केन्द्रीय सदस्यले मात्रै निर्वाचनको पक्षमा खुलेर बोलेका थिए। उनीहरूले नेताहरूलाई कार्यकर्ताप्रति उत्तरदायी बनाउन र गुट/उपगुट अन्त्य गर्न पनि तल्लो तहबाटै प्रतिस्पर्धा गर्ने प्रावधान विधानमा राख्नुपर्ने अडान लिएका थिए।


तल्ला तहका कार्यकर्ताको व्यापक दबाबले विधान मस्यौदा समितिको प्रारम्भिक मस्यौदामा पनि स्वत: महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान हटाइएको थियो। तर, केन्द्रीय कार्यसमितिका बहुमत बढी सदस्यले विरोध गरेपछि यथावत् राखिएको हो।


केन्द्रीय सदस्य एनपी सावद केन्द्रीय नेताहरू नै तल्लो तहमा चुनाव लड्न जाँदा पार्टीभित्र व्यापक ध्रुवीकरण बढ्न जान्छ भन्ने र चुनाव लड्दा नेता र कार्यकर्ताबीचको सम्बन्ध नवीकरण हुन्छ भन्ने बीचको द्वन्द्व अहिले पार्टीभित्र चलिरहेको बताउँछन्।


‘यो प्रावधान हटाउँदा पार्टीभित्र ध्रुवीकरण बढ्छरु। क्षेत्रीय र महाधिवेशन प्रतिनिधिभन्दा पनि पार्टीको केन्द्रीय तहको उम्मेदवारको विषयलाई हेरेर हराउने र जिताउने खेल सुरु हुन्छ भन्ने मत पार्टीभित्र अधिकांशको रहेकाले प्रारम्भिक मस्यौदाको प्रावधानलाई हटाएर पुरानै व्यवस्था राखिएको हो,’ सावदले भने, ‘अधिकांश केन्द्रीय सदस्यहरू अहिले पनि यसलाई हटाउन हुन्न भन्नेमै हुनुहुन्।’ उनले आफू भने कुनै पनि कित्तामा नउभिएको प्रस्ट पारे।


अर्का केन्द्रीय सदस्य धनराज गुरुङ भने पार्टी सभापति र वरिष्ठ नेताले गरेको सार्वजनिक प्रतिबद्धताअनुसार केन्द्रीय कार्यसमितिले विधान नसच्याए दुर्भाग्य हुने बताउँछन्। ‘तल्लो तहमा चुनावी प्रतिस्पर्धा गर्नु प्रजातान्त्रिक अभ्यास हो। केन्द्रीयस्तरकै नेताहरू वडा तहबाटै आउन हुन्न भने के नेता बन्ने? ठूला नेतालाई तलबाटै सिध्याउने खेल हुन्छ भन्ने मलाई लाग्दैन, साथीहरूले पनि त्यस्तो इगो राख्नुहुन्न भन्ने लाग्छ,’ गुरुङले भने, ‘केन्द्रीय सदस्यहरू नै रकमी खालका, जनाधार गुमाएका छन् भने डराउनुपर्ला, नत्र डराउनु पर्दैन।’


अहिले कायम प्रावधान हटाइए केन्द्रीय पदाधिकारीसहित सदस्यहरू क्षेत्रीय प्रतिनिधिका लागि प्रतिस्पर्धा गर्न वडा तहमै जानुपर्छ। एउटा वडाबाट कम्तीमा ९ क्षेत्रीय प्रतिनिधि चुनिन्छन्। क्षेत्रीय प्रतिनिधि चुनिएपछि मात्रै महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्न पाइन्छ। निर्वाचनमा जाँदा संस्थापनतिरका भन्दा इतर पक्षकै नेताहरू बढी निर्वाचित हुने संशय सभापति देउवालाई परेको छ।

प्रकाशित : पुस २३, २०७५ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?