कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पैसा लिएर उत्तर पुस्तिका जाँच्ने दुई लेक्चरर पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयको ब्याचलर इन पब्लिक हेल्थको स्नातक तहको चौथो सेमेस्टरको कपी आर्थिक लेनदेनका आधारमा जाँचियो
जनकराज सापकोटा

काठमाडौँ — पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ब्याचलर इन पब्लिक हेल्थको स्नातक तहको चौथो सेमेस्टरको उत्तर पुस्तिका आर्थिक लेनदेनका आधारमा जाचिएको तथ्य खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उत्तर पुस्तिका जाँच्ने लेक्चरर खेमराज शाहीले अर्का लेक्चरर अर्जुन भाटले विद्यार्थीसँग पैसा उठाएर कपी जाँचेको भन्दै पक्राउ गरेको छ ।

पैसा लिएर उत्तर पुस्तिका जाँच्ने दुई लेक्चरर पक्राउ

परिसरले आर्थिक लेनदेनका आधारमा नम्बर तय गरिएको यो मुद्दामाथि थप छानविन गर्न अनुसन्धानको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाएको छ । कीर्तिपुर नेशनल आर्युवेद रिसर्च एण्ड ट्रेनिङ सेन्टरमा विशेषज्ञको हैसियतमा कार्यरत शाही काठमाडौं लिटिल एन्जल्स कलेज, भ्याली कलेज र एसियन कलेजको व्यवस्थापन संकायमा क्वान्टिटेटिभ टेक्निक्स पनि पढाउँथे ।


पूर्वाञ्चल विश्वविद्यालयसम्बद्ध कलेजहरुमा पढाउने भएका कारण उनले पब्लिक हेल्थको २ सय ९२ थान उत्तर पुस्तिका जाँच गर्ने जिम्मा पाएका थिए । शाहीले पूर्वाञ्चल विश्वविद्यालय सम्बद्ध कलेजहरुमा पढाउने साथी अर्जुन भाटलाई आफूले ल्याएका उत्तर पुस्तिका दिएर ती उत्तर पुस्तिका विद्यार्थी खोज्ने जिम्मा दिएका थिए ।


प्रहरीका अनुसार यी दुवैले मिलेमतोमा विद्यार्थी पहिचान गर्ने, उनीहरुसँग पैसाको बार्गेनिङ गर्ने र पैसा पाएपछि उत्तर पुस्तिकाको खाली भागमा उत्तरहरु थपेर विद्यार्थीलाई पास गराइदिने काम गर्थे । अनुसन्धानका क्रममा भाटले कपीको फोटो खिचेर विद्यार्थीहरुको पहिचान गर्दै भाइबारबाट पठाउँथे । अक्षर चिनेर विद्यार्थीहरुले आफ्नो कपी पहिचान गर्थे । त्यसपछि मात्रै उनीहरुबिच बार्गेनिङ सुरु हुन्थ्यो । अनुसन्धानका क्रममा प्रहरीले शाही र भाट दुवैको मोबाइल जफत गरेर मोबाइलमा भएका तस्बिर र सन्देशहरु जाँच गरेको थियो । उनीहरु दुवैको कल डिटेल हेर्दा विद्यार्थीसँग बारम्बार सम्पर्क भएको देखिन्छ ।


पैसा लिएर जाँचिएको कपी दुई साता भन्दा अघि नै जाँचेर पूर्वाञ्चल विश्वविद्यालय पठाइसकिएको थियो । प्रहरीले विश्वविद्यालयसँग समन्वय गरेर सिलबन्दी रहेका कपी झिकाएको थियो । प्रहरीले कपीका हेन्डराइटिङ जाँच गर्न प्रहरी प्रधान कार्यालयको फरेन्सिक डिर्पाटमेन्टमा पठाएको थियो । फरेन्सिक जाँचमा विधार्थीको सक्कली लेखन र उत्तर पुस्तिकाको पछिल्ला पानामा रहेको अक्षर फरक रहेको र ती अक्षरहरु फरक–फरक समयमा लेखिएको देखियो ।


प्रहरीका अनुसार पैसाको सोझो डिल गर्ने जिम्मा भाटले लिएका थिए । सुरुवाती अनुसन्धानका क्रममा उनीहरुकरिब २५ जना विद्यार्थीसँग रकम उठाएको देखिन्छ । अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार अघिल्लो वर्ष पनि उनीहरुले यसैगरी विद्यार्थीबाट पैसा लिएर नम्बर चढाएका थिए ।


प्रहरीले किर्तीपुरस्थित निवासबाट शाहीलाई नियन्त्रणमा लिएको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार बयानका क्रममा शाहीले आरोप स्वीकार गरेको बताएका छन् । बोगटीले भने, 'यो अख्तियारको अनुसन्धानको कार्यक्षेत्र भएकाले थप अनुसन्धानका निम्ती फाOल बुझाएका छौं ।’

प्रकाशित : पुस २३, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?