कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपालमा बाल यौन दुराचार गरेको आरोपमा क्यानडामा पक्राउ 

क्यानेडियन प्रहरीले पउल म्याकर्थीले नेपाल पाँच बालकमाथि यौन दुराचार गरेको आरोप लगाएको छ ।
जनकराज सापकोटा

काठमाडौँ — नेपालमा बाल यौन दुराचारमा संलग्न भएको आरोपमा क्यानडामा ६२ वर्षीय पउल म्याकर्थीलाई पक्राउ गरिएको छ । उनी माथि क्यानडा बोर्डर सर्भिस एजेन्सीले अनुसन्धान गरिरहेको क्यानेडियन सञ्चार माध्यमले जनाएको छ । 

नेपालमा बाल यौन दुराचार गरेको आरोपमा क्यानडामा पक्राउ 

म्याकार्थी नेपालको एक बाल आश्रममा स्वयंमसेवकको रूपमा काम गरेर मध्य डिसेम्बरमा स्वदेश फर्केका थिए ।


क्यानेडियन प्रहरीले म्याकर्थीको यौन शोषणमा पर्नेहरू १६ वर्ष मुनिका ५ नेपाली बालक रहेको र उनीहरूको पहिचान खुलिसकेको समेत जनाएको छ । प्रहरीले शुक्रवार टोरन्टो पियर्सन ईन्टरनेशनल विमानस्थल हुँदै देश छोड्न लागेका म्याकर्थीलाई नियन्त्रणमा लिएको हो । शनिवार बिहान उनलाई ओट्वास्थित अदालतमा बयानका लागि उपस्थित गराइएको बताइएको छ । मङ्गलवार थप बयान लिइनेछ ।


उनको घरमा छापा मारेर बालबालिकाका नग्न तस्बिर र भिडियोहरू बरामद गरेको जनाइएको छ । क्यानेडियन सञ्चार माध्यमहरूले प्रहरी स्रोतलाई उद्धृत गर्दै उनले नेपालका १६ वर्षभन्दा मुनिका ५ बालकमाथि यौन दुराचार गरेको प्रमाणहरू भेटिएको जनाएको छ । म्याकर्थीमाथि बालबालिकाको अश्लील तस्बिर र भिडियो सङ्कलन गरेको आरोप समेत लागेको छ । प्रहरीले उनीमाथि विस्तृत अनुसन्धान गरिरहेको र थप अभियोगहरू लाग्ने सम्भावना रहेको जनाएको छ ।


क्यानडाको सिबिसी न्युजका अनुसार म्याकर्थी चाईल्ड हेभन ईन्टरनेशनल नामक गैरसरकारी संस्थाका दाता मध्येका एक हुन् । उक्त संस्थाले नेपाल, बङ्गलादेश, भारत र तिब्बतमा बालबालिकाका निम्ति आश्रयस्थल सञ्चालनमा ल्याएको छ । संस्थाको वेबसाइटमा संस्थाले सन् २००२ देखि नेपालमा काम गर्न थालेको र आश्रयमा दुई सय ३ बालबालिका र २२ महिला आश्रित रहेको जनाएको छ । यो संस्थाले ग्रिन तारा चाईल्ड हेभन स्कुलसमेत सञ्चालन गरेको संस्थाको वेबसाइटमा उल्लेख छ ।


बाल यौन दुराचारको आरोपमा क्यानडामा पक्राउ परेका पउल म्याकर्थी । तस्बिर : म्याकर्थीकै फेसबुक वालबाट ।


लामो समयदेखि म्याकर्थी अन्तर्राष्ट्रिय स्तरका गैरसरकारी संस्थामा कार्यरत थिए । केयर क्यानडा, वर्ल्ड युर्निभर्सिटी सर्भिस अफ क्यानडा र वर्ल्ड बैङ्क जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थामा काम गरेका पउलका पछिल्ला भ्रमणहरू भने नेपाल केन्द्रित देखिन्छ । क्यानेडियन प्रहरीका अनुसार म्याकर्थी अक्सर नेपाल आएका बेला चाईल्ड हेभनकै सेल्टरमा रहन्थे । तर प्रहरीले उनीबाट यौन दुराचार खेपेकाहरू सोही सेल्टरमा आश्रय लिइरहेका बालबालिका हुन कि होइनन् भन्नेबारे खुलाएको छैन ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन स्रोतका अनुसार २०१७ मार्च यता मात्र म्याकर्थी चार पटक नेपाल आएर फर्केका छन् । २०१७ मार्च १२ मा नेपाल आएका म्याकर्थी तीन महिना बसेर जुन १३ मा फर्केको देखिन्छ । त्यस लगत्तै उनी सेप्टेम्बर २७ मा आएर ९४ दिन बसेर डिसेम्बर २९ मा फर्केमा थिए । सन् २०१८ को जनवरी १ मा नेपाल आएका म्याकर्थी ६ दिन बसेर जनवरी ८ मा फर्के । पछिल्लो पटक उनी मध्य डिसेम्बरमा फर्केका हुन् ।


क्यानडाको सिबिसी न्युजलाई चाईल्ड हेभन ईन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक बोनी क्याप्पसिजनले म्याकर्थी लामो समयदेखि संस्थाको दाता रहेको पुष्टि गरेका छन् । उनले सिबिसीसंग भनेका छन्, ‘हामीसँग रहँदा उनीमा कहिल्यै बाल यौन दुराचारीको जस्तो न व्यवहार देख्यौँ न त्यसको कुनै सङ्केत नै पायौँ । उनी त्यस्ता मान्छे होईनन कि भन्ने लाग्छ । म आशा गर्छु यो आरोप झुटो होस ।’


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पछिल्ला वर्षहरूमा विदेशीबाट नेपालमा बाल यौन दुराचार भएका घट्नाहरु बढ्दै गएको छ । पछिल्ला दश महिनामा मात्रै ब्युरोले बाल यौन दुराचारको आरोपमा पाँच विदेशीलाई पक्राउ गरेको छ । ब्युरोले दायर गरेको मुद्दाकै आधारमा जिल्ला अदालत काठमाडौँले १९ मङ्सिरमा बाल यौन दुराचारको आरोपमा डच नागरिक पिट ह्यान भान तेरविस्गालाई सात वर्ष कैद र ५० हजार जरिवाना सुनाएको थियो । ब्युरोले पक्राउ गरेका दुई फ्रेन्च, एक क्यानेडियन र एक जर्मन नागरिकको मुद्दा अदालतमा विचाराधीन छ ।


प्रकाशित : पुस २३, २०७५ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?