२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

फागुनमा स्ववियु चुनाव

सुदीप कैनी

काठमाडौँ — आगामी फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न त्रिभुवन विश्वविद्यालयले देशभरका आफ्ना क्याम्पसहरूलाई निर्देशन दिएको छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आंगिक क्याम्पसहरूलाई परिपत्र गर्दै निर्वाचनको पूर्वतयारी गर्न भनेको हो । 

फागुनमा स्ववियु चुनाव

काठमाडौँ उपत्यकाभित्र र बाहिरका सबै आंगिक क्याम्पसहरूलाई स्ववियु निर्वाचनको तयारी गर्न परीपत्रमा निर्देशन दिइएको छ । त्रिवि मातहतका ६० क्याम्पसमा हरेक २/२ वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । मुलुकभर त्रिविले सम्बन्धन दिएका एक हजार ८५ सामुदायिक र निजी क्याम्पस पनि छन् । ती मध्ये एक सय ५० भन्दा बढी सामुदायिक कलेजहरूले पनि स्ववियु निर्वाचन गराउँदै आएका छन् ।


यसअघि २०७३ फागुन १८ गते चुनाव भएको थियो । निर्देशनालयले उक्त निर्वाचनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको दुई वर्षे कार्यकाल सकिन लागेकाले अर्को निर्वाचनको पूर्वतयारी थालेको जनाएको छ । यद्यपि त्रिविका अधिकांश क्याम्पसहरूमा २०७३ सालमा निर्वाचन हुन सकेको थिएन । परीपत्रमा फागुन महिनामा हुने चुनावको पूर्वतयारी गर्न विद्यार्थी संगठनहरुलाई पनि अपिल गरिएको छ ।


अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरूमा समेत यस वर्ष विद्यार्थी सङ्घ/संगठनहरुको सहमतिमा निष्पक्ष ढङ्गले स्ववियु निर्वाचन हुने अपेक्षा गरिएको त्रिविले जनाएको छ । त्रिवि क्यालेण्डरमा फागुन १४ गते चुनाव गर्ने उल्लेख छ । गत वर्ष १८ गते मात्रै चुनाव भएको थियो । ‘फागुन १८ गते दुई वर्ष अघि निर्वाचित स्ववियूको म्याद सकिन्छ,’ निर्देशनालय प्रमुख गङ्गा थापामगरले भने, ‘केही दिनमै निर्वाचनको मिति तोक्छौँ ।’ विद्यार्थी सङ्घ/संगठनहरुको सहमतिमा फागुन १४ वा १८ गतेलाई चुनावको मिति तोकिने उनले जनाए ।


दुई वर्ष अघि त्रिविले पहिलो पटक विद्यार्थीहरूको उमेर हद २८ वर्ष तोकेर स्ववियु निर्वाचन गराएको थियो । त्रिविको निर्वाचन सम्बन्धी परिपत्र सकारात्मक रहेको विद्यार्थी संघसंगठनहरुले जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नयनसिंह महरले स्ववियु निर्वाचनको घोषणा हुनु स्वागतयोग्य रहेको जनाए । ‘नेविसंघ महाधिवेशनको तयारीमा छ, महाधिवेशन सँगै स्ववियु चुनावको तयारी गर्छौ, चुनावमा जान्छौँ ।’


अनेरास्ववियुका सचिव आरसी लामिछानेले स्ववियू निर्वाचनको वातावरण बनेको भन्दै खुसी व्यक्त गरे । ‘हामीले तोकिएकै मितिमा चुनाव गर्न माग गर्दै आएका थियौँ,’ उनले भने, ‘त्रिविले तयारी अघि बढओस, हामी चुनावको पक्षमा छौँ ।’ पूर्वएमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबिच एकता गरेर निर्वाचनमा होमिने उनले जनाए ।

प्रकाशित : पुस २३, २०७५ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?