कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बम्जनको आश्रममा निषेध 

अनिश तिवारी

टोडेबारी, सिन्धुपाल्चोक — सञ्चलाल सहित ३ आनी बेपत्ता पारेका आरोपी रामबहादुर बम्जनको आश्रममा आउजाउ गर्न पूर्ण निषेध गरिएको छ । इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित जंगलको आश्रम क्षेत्रमा अनुयायीबाहेक कसैले जान पाउँदैनन् ।

बम्जनको आश्रममा निषेध 

शुक्रबारदेखि अनुसन्धानमा व्यस्त सीआईबी फोरेन्सिक विज्ञसहितको टोलीले आइतबार आश्रमभन्दा ३ सय मिटर पर तरकारी बारीमा शंकास्पद स्थान उत्खनन गर्दा आठवटा नुनको खोल बरामद गरेको थियो । ‘त्यसपछि आश्रमस्थलमा जान प्रतिबन्ध लगाएको छ,’ इन्द्रावती गाउँपालिका बाडेगाउँका लक्ष्मण थापाले भने ।


पहिले पनि आश्रममा संघका सदस्य या अनुयायीबाहेक अरूलाई जान दिइएको थिएन । त्यहाँको गतिविधिबारे ध्यानमा बिघ्न पर्ने भन्दै जानकारी दिइन्थ्यो । बीचमा प्रहरीले अनुसन्धानमा राखेपछि आश्रमबाट कसैलाई आउन रोक लगाएको छ ।


तीनदिने अनुसन्धान सकेर पाएको नुन मिसिएको माटोसँगै छेउमा प्राप्त कोइलाबारे परीक्षण भइरहेको प्रहरीले जनाएको छ । ‘१५ फिट गहिरो खनिसकेपछि पत्रेढुंगासहित नुनको खोल र कोइला अवशेष फेला पर्‍यो, त्यसको परीक्षणसँगै थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले भने ।


फोरेन्सिक विज्ञले २० पाकेट नुन हालेर गलाइएको परीक्षणमा पुष्टि भए पनि मानवीय अवेशषचाहिँ फेला पार्न सकेको छैन । छापा मारेलगत्तै जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानलाई तीव्र पारेको उनले सुनाए । प्रहरीले दिनहुँ अनुयायीहरूसँग त्यसबेला भएका घटनाबारे सोधपुछ गरिरहेको छ ।


३५ जनाबाट १४ जनामा सीमित

टोडेबारी जंगलबीचको ८० रोपनी क्षेत्रफलमा आश्रमका नाममा ८ वटा टहरा छन् । त्यहाँ आहिले १४ अनुयायीमात्रै बस्छन् । ०७१ असोज ६ गते पहिलोपटक तपस्वी बम्जन सिन्धुपाल्चोक आएर भक्तहरूलाई भेटे । इन्द्रावती गापा ५ का केही भक्तले उनी बस्ने आश्रमका लागि ३० रोपनी जमिनको व्यवस्था गरे ।

इन्द्रावती गाउँपालिका बाडेगाउँस्थित टोडेबारीको ३० रोपनी क्षेत्रफलको उक्त आश्रम तपस्वी बम्जनकी श्रीमती दीपशिखाको नाममा छ । बोधी संघका केवल लामा, मणिक लामादेखि कमानसिंह लामालगायत ५ जनाले बम्जनको खानपान व्यवस्था गर्थे । हात्ती, घोडा, कुकुर, बिरालोजस्ता सबै जनावर आश्रमभित्र राखेर विभिन्न मैत्री पूजा हुने गरेको थियो । बीचमा भएको मैत्रीसंघ पूजापछि क्रमश: शिष्य हराउँदै जान थालेका थिए । ‘सुरुमा १ सय ५० ले बोधी तालिम लिएका थिए, ५० जना आश्रममा ध्यानरत रहन्थे । अहिले १४ जनामात्रै छन्,’ स्थानीय एक व्यक्तिले भने ।


स्थानीय स्रोतका अनुसार यहाँ मैत्री पूजा भएलगत्तै केही घटना घटेपछि पुराना आनी र अनुयायी भागेका हुन् । ‘त्यसैबेलाका पुराना अनुयायी सबै भागिसकेका छन् । यहाँ भूकम्पपछि आएका मात्रै छन्,’ एक स्थानीयले भने ।

छतमा ढुंगामुढा तपस्वी बम्जनको आश्रम व्यवस्थापन गरिरहेको बोधी श्रवण धर्म मैत्री संघका महात्मा गुरु गणेश लामाले शनिबारदेखि छतमा ढुंगामुढा हुन थालेको बताए । ‘रातमा त्रास देखाउने हिसाबमा जताततै टर्च बालेर छानामा जथाभावी ढुंगा प्रहार हुन्छ, रात परेलगत्तै हामी त्रसित बन्ने गर्छौं,’ उनले भने । उनले प्रहरी टोली गएलगत्तै छानामा ठूलो आवाज आउने गरी ढुंगाले हान्न थालेपछि त्रासदीपूर्ण वातावरण बनिरहेको प्रस्ट्याए । ‘यसबारे प्रहरीमा सूचना दिँदैछु, आखिर कसले गर्छ यस्तो ?’ उनले भने ।


आरोप निराधार

बोधी श्रवण धर्म संघका प्रवक्ता पूर्वमन्त्री मणिक लामाले बम्जनमाथि लगाएको आरोप निराधर रहेको दाबी गरे । ‘गुरुज्यूमाथि षड्यन्त्रबाहेक केही होइन, सबै बेआधारका कुरा हुन्,’ इन्द्रावती गाउँपालिका बाडेगाउँ टोडेबारीको आश्रममा पत्रकार सम्मेलन गर्दै उनले भने ।


पूर्वसंस्थापक अध्यक्ष रहेका मणिकले आश्रमबाट बेपत्ता भएका मकवानपुरका सञ्चलाल वाइवा र ३ आनीबारे अनभिज्ञ रहेको बताए । ‘आश्रममा भक्तको रूपमा मात्रै आएकाले संघलाई कुनै रेकर्ड या जानकारी छैन,’ उनले भने ।

१ सय ७६ देशमा फैलिएको बोधी श्रवण मैत्री संघ ६५ जिल्लामा कानुनी रूपमा दर्ता भइसकेको छ । ‘आश्रममा बसेकाको सबैको दर्ता हामीसँग छ, उहाँहरूले प्रहरीसँगै हामीकहाँ बेपत्ताबारे बुझ्न आउनुपथ्र्यो,’ संघका केवल लामाले भने । बितिसकेको अतीतलाई कोट्याएर बोधी संघमाथि प्रहार गर्ने काम भएको उनले आरोप लगाए । दैनिक ध्यानमा बाधा पुग्ने भएकाले अनुयायी या संघबाहेककालाई आउन वर्जित गरिएको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्ः

बम्जन आश्रममा प्रहरी टोली

बम्जन आश्रमबाट हराएका परिवार भन्छन् : सरकारले छानबिन गरोस्

प्रकाशित : पुस २३, २०७५ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?