कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हिउँले जनजीवन प्रभावित, किसान खुसी

प्रदेश ब्युरो

सुर्खेत — कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आइतबार राति हिमपात भएको छ । यसले तत्काल जनजीवन कष्टपूर्ण भए पनि बाली सप्रिने आसले किसान खुसी भएका छन् ।

हिउँले जनजीवन प्रभावित, किसान खुसी

मुगुको ताल्चा, रारा, मुर्मा, तलितुम, माथितुम, बाम, रोवा, कोटिला, टोप्ला, मुगु, डोल्फु, झयारी, खमालेलगायत क्षेत्रमा हिमपात भएको छ ।


लेकाली बस्तीका चौंरी गोठदेखि औल क्षेत्रका सिस्नोघारीसम्म हिउँले सेताम्मे बनेका छन् । छायानाथ रारा नगरपालिका ३, तलितुमका ६० वर्षीय हरिबहादुर रावलले हिउँ परेसँगै गाउँमा खुसी छाएको बताए । ‘कहिले हिउँ पर्ला भनेर मन आत्तिएको थियो,’ रावलले भने, ‘घरआँगन सेताम्मे हुनेगरी हिउँ पर्दा खुसी भएका छौं ।’ खडेरीले अनिकाल हुने र हिउँले सुविकाल हुने उनले सुनाए । उनका अनुसार जति धेरै हिउँ पर्‍यो, उति धेरै जौ, गहुँ, उवा, कोदो, कागुनो, चिनो, फापर, सिमी र आलुको उत्पादन बढ्छ ।


हिउँले सिँचाइको काम गर्ने छायानाथ रारा नगरपालिकाका कृषि योजना अधिकृत केबी रोकाया बताउँछन् । आइतबार रातिको हिमपातले गमगढी–नाग्मा सडकमा सवारीसाधन अवरुद्ध भएका छन् । रारा विमानस्थलमा उडान प्रभावित बनेको छ ।


चिसोले कालीकोटको जनजीवन प्रभावित बनेको छ । आइतबारदेखि बादलसँगै लेकाली भेकमा हिमपात भएको छ । तल्लो भागमा पानी परेपछि चिसो बढेको छ । हिमपातले लेकाली भेकका विद्यालय बन्द भएका छन् भने बेंसीका पनि सोमबार खुलेनन् ।


तिलागुफाको फेइ, राचुली, चिल्खाया, जुविथा, छाप्रे, नरहरिनाथको रुप्सा कोटवाडा, लालु र काल्कोटको दुदुल्ती, उत्छव, रास्कोटकनो सिप्टीलगायत क्षेत्रमा हिमपात भएको छ । अन्य भेकमा पनि पानी परेकाले चिसो बढेको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । चिसोले मान्म सोमबार सुनसान रहयो ।


आइतबार बेलुकी भएको वर्षासँगै सल्यानका उच्च पहाडी भेकमा हिमपात भएको छ । २ वर्षपछि कुमाख गाउँपालिकाको कुमाख, बन्गाडकुपिण्डे नगरपालिकाको निगालचुला, जथाक, पातीहाल्नालगायत उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको हो ।


विगतको तुलनामा कम हिमपात

हिमपातले डोल्पा र हुम्लाका गाउँबस्ती सेताम्मे बनेका छन् । हिमपातका कारण हवाई सेवा अवरुद्ध बनेको छ । जनजीवन कष्टकर बनेको छ । हिउँ परेसँगै किसान खुसी भएका छन् ।


उच्च हिमाली बस्तीमा हिमपातका कारण स्थानीय घरभित्रै आगो तापेर बस्न बाध्य छन् । हुम्ला सदरमुकाम सिमकोटमा करिब १ इन्च मात्र हिउँ परेपछि स्थानीय चिन्तित बनेका छन् । यसअघि पुस/माघमा ५ फिटसम्म हिउँ पर्ने गरेको थियो ।


अँगेनामा जमघट

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका २, स्यालाका वीरबहादुर ओलीको घरमा जमघट छ । आफन्त तथा छिमेकीहरू उनको घरमा जम्मा भएका छन् । हिजो बेलुकादेखि नै अँगेनामा बलेको आगो निभेको छैन । बिहानैदेखि अँगेनो पनि खाली छैन । अँगेनामा घरी बिरौला (मकैका गेडा उसिनेको) पाक्छ, घरी चिया पाक्छ । खानेले खाइरहेका छन् ।


पकाउनेले पकाउँदै छन् । घरायसीदेखि गाउँ विकाससम्मको चर्चा ओलीको घरमा छ । उनका छिमेकी जितबहादुर यरीको घरमा पनि उनको घरमा भन्दा फरक छैन । आफन्त, छिमेकी तथा साथीभाइ बिहानैदेखि जम्मा भएका छन् । बिरौला र त्यसको सुप खाएका छन् । अँगेनामा ठूला दाउरा बलिरहेका छन् । जसले घरभित्रको सबैतिर तातो छाडेको छ ।


अँगेनाको तातो र खानेपिने तातोले जाडोको खासै महसुस भएको छैन । २ नम्बर वडाका यी २ घर मात्रै होइन, नगरपालिकाका १ र ३ अर्थात साबिकको स्यालाखदी गाविसका अधिकांशका घरमा यस्तै भइरहेको छ । यसरी मान्छे जम्मा हुने, मिठो परिकार बनाएर खाने, आफन्त तथा साथीभाइ भेट हुने अवसर भने हिउँले जुराइदिएको हो ।


‘हामी सबै जम्मा भएका छौं, चिसोमा खानेकुरा खान्छौं, दु:खसुखका कुरा गर्छौं, हिउँ पर्‍यो अब हामी केही दिन यसरी नै काट्छौं,’ ओलीले भने, ‘यो आजको होइन, उहिल्यैदेखिको चलन हो । धेरै हिउँ पर्दा धेरै चिसो हुने भएकाले गाउँलेले अरू सबै बन्दोबस्त हिउँ पर्नुअगावै मिलाइसक्ने गरेको उनले बताए ।


जिल्लाको उच्च लेकाली क्षेत्रमा पर्ने यस क्षेत्रमा हरेक वर्ष पर्ने हिउँ परेका बेला सर्वसाधारणको दैनिकी यसरी नै चल्छ । यो वर्षको हिउँदको पहिलो हिमपात स्यालाखदीमा धेरै भएको छ । गाउँभन्दा तलसम्म हिउँ झरेको छ । ‘चिसोका लागि आवश्यक बन्दोबस्त यसअघि नै गरेका स्यालाखदीवासीको हरेक वर्ष हिउँ परेको समय यसरी नै बित्ने गर्छ,’ वडा २ का अध्यक्ष देवबहादुर यरीले भने, ‘हिउँ धेरै पर्छ, अरू काम गर्न सम्भव नभएपछि मान्छेहरू जम्मा हुने, खाने र कुराकानी गर्ने मुख्य समय यही हो ।’


सबैका बस्तुभाउ गोठभित्रै हुन्छन् । यसअघि तयार बनाएको घाँस खुवाएर बस्तुभाउ गोठभित्र र मानिस घरभित्र बसेर रमाउने अवसर हरेक वर्ष हिउँले जुराइदिन्छ । पुस अन्तिमतिर परेको हिउँ हिउँदे बालीका लागि पनि उपयुक्त भएकाले किसान खुसी भएका छन् ।


आकाशे पानीको भरमा गरिएको हिउँदे खेतीका लागि उपयुक्त समयमा हिउँ परेको भन्दै किसान दंग छन् । यस पटकको हिमपातले बाली उत्पादनमा पनि सहयोग पुग्ने भए पनि स्थानीय खुसी भएको अध्यक्ष यरीले बताए । स्यालाखदीसहित जिल्लाका अन्य उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।


(राजबहादुर शाही (मुगु), जयबहादुर रोकाया (हुम्ला), हरि गौतम (रुकुम पश्चिम) तुलाराम पाण्डे (कालीकोट), विप्लव महर्जन (सल्यान), विष्णुलाल बुढा (डोल्पा)

प्रकाशित : पुस २४, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?