कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बीपी कोइरालालाई बचाउने सेनानी रहेनन्

आश गुरुङ

लमजुङ — प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालामाथि गोली प्रहार हुँदा प्रतिरक्षा गर्ने प्रजातन्त्र सेनानी ७४ वर्षीय तारानाथ कोइरालाको निधन भएको छ ।

बीपी कोइरालालाई बचाउने सेनानी रहेनन्

बीपीमाथि २०३६ साल असोज ८ गते स्याङ्जामा बहुदल तथा जनमतको प्रचारप्रसारका क्रममा पञ्चायती शासकको तत्कालीन प्रहरीबाट गोली प्रहार भएको थियो । बीपी कोइरालामाथि गोली प्रहार हुँदा प्रतिरक्षा गरी दायाँ खुट्टा गुमाएका तारानाथ कोइरालाको मङ्गलवार बिहान पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


पेटको समस्याका कारण अस्पताल भर्ना भएका उनको उपचारका क्रममा निधन भएको कांग्रेस लमजुङका निवर्तमान सभापति कृष्णप्रसाद कोइरालाले बताए । लमजुङको सुन्दरबजार नगरपालिका १०, धुसेनी कोइरालाफाँटमा जन्मिएका उनी ०३६ देखि मध्यनेपाल नगरपालिका-४ रम्घामा बस्दै आएका थिए ।


कोइराला २०२७ मा नेविसंघ लमजुङको संस्थापक अध्यक्ष बनेका थिए । २०२८ मा तरुण दल लमजुङको संस्थापक अध्यक्ष बनेका उनी कांग्रेस लमजुङको संस्थापक सभापति हुन् । २०२९ मा जिल्ला पार्टी सभापति बनेका उनी २०३६ सम्म रहे ।


बीपीलाई गोली लागेपछि उपचारमा रहेका उनले सभापति सम्हाल्न नसकेपछि रामचन्द्र अधिकारी सभापति बनेका थिए । गोली लागेर खुट्टा गुमाएका उनी उपचार पछि सक्रिय राजनीतिमा फर्केनन् । उनको मङ्गलवार दिउँसो रिस्ती र शिशाघाटबीच मादी नदी किनारमा छोरा महेश कोइरालाले दागबत्ती दिए । उनका पत्नि, १ छोरा र ४ छोरी छन् ।


उनलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य दिलबहादुर घर्ती, काङ्ग्रेसबाट निर्वाचित सांसद लगायतले पार्टीको झन्डा ओढाएका थिए । जिल्लाबाट काँग्रेस सभापति भेषबहादुर पौडेल, पूर्व सभापति तथा नेता कार्यकर्ता उनलाई अन्तिम श्रद्धाञ्जली दिन मादी किनार पुगेका थिए । वरिष्ठ नेता पौडेलले कोइरालाको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र अपूरणीय क्षति पुगेको बताए ।


राज्यले उचित सम्मान नगरेको गुनासो गर्दै आएका प्रजातन्त्र सेनानी कोइराला पछिल्लो समय पार्टीले समेत नहेरेको भन्दै गुनासो गर्दै आएका थिए । प्रजातन्त्र, बहुदल, लोकतन्त्र हुँदै गणतन्त्र आउँदा पार्टीले पटक-पटक देशको नेतृत्व गरे पनि खुट्टा गुमाउँदा उपचार बाहेक पार्टी र पार्टी नेतृत्वको सरकारले कुनै सहयोग नगरेको उनको गुनासो थियो । गाउँघरमै बसिरहेका उनी प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय सदस्य थिए ।

प्रकाशित : पुस २४, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?