कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चिनियाँ प्रहरी हिरासतमा दुई महिना बिताएपछि फर्काइए ११ नेपाली

चेतनाथ आचार्य

बेइजिङ — भिसा अवधि सकिएपछि अबैध रूपमा बसेकालाई ११ नेपालीलाई चिनियाँ प्रहरीले नेपाल फर्काएको छ । दुई महिना हिरासतमा राखेपछि उनीहरूलाई मङ्गलवार फर्काइएको हो ।

चिनियाँ प्रहरी हिरासतमा दुई महिना बिताएपछि फर्काइए ११ नेपाली

रेस्टुरेन्टमा काम गर्न भनेर छ महिनाअघि चीन आएका १४ युवा भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बसिरहेको भन्दै चिनियाँ प्रशासनले हिरासतमा लिएको थियो । एक जना भिसा अवधीसकेपछि फर्किए, ps एकजनालाई प्रहरीले थप अनुसन्धान गर्न भन्दै हिरासतमै राखेको छ भने एक जना पक्राउ परेकै बेला नेपाल फर्काइएको थियो ।


गत असारको तेस्रो सातमा दुई चरण गरी ती नेपाली युवा चीनको शाङहाईभन्दा केही दक्षिण चच्याङ प्रान्तको निङ्पोमा आएका थिए । २१ वर्षदेखि ३५ वर्षका नेपाली युवाहरूलाई राम्रो आम्दानी हुने भन्दै चिनियाँ र मलेसियनले खोलेको भारतीय परिकारको रेस्टुरेन्टमा काम गर्न भनी ल्याइएको थियो । आएका मध्ये एक महिनाको भिसा अवधि सकिनासाथ धादिङका अनिल धिताल नेपाल फर्किएका थिए । बाँकी १३ जना युवाहरूमा धनुषाका कृष्णबहादुर लामा र अभिन घिसिङ, दोलखाका दिनेशकुमार कार्की, सर्लाहीका रमेश परियार र दीपक कार्की, धादिङका सौगात धिताल, चितवनका अङ्कित परियार र विशाल परियार, काभ्रेका भीमबहादुर तामाङलगायत थिए । सौगातलाई पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा अस्वस्थ देखिएकाले तत्कालै फिर्ता पठाएको थियो । कृष्णबहादुरलाई मानव तस्करीको आरोपमा थप अनुसन्धान गर्नका लागि हिरासतमै राखिएको छ ।


नेपालीहरूलाई उद्धार कार्य र उनीहरूको समस्यामा दोभासेका रूपमा रविन बस्नेतले सहयोग गरेका थिए । चीनको नानचिङबाट एरोनोटिकिल इन्जिनियरिङमा स्नातक र स्नातकोत्तर गरेका कलङ्कीका बस्नेत निङ्पोमै एक ड्रोन कम्पनीमा काम गर्छन् । चिनियाँ सरकारी वकिलका अनुसार कृष्णबहादुरले नेपाली कामदार ल्याउन सहयोग गरेको र मलेसियन साझेदार स्याङ खुसँग पहिले देखिको चिनजान भएकाले मानव तस्करीमा उनको पनि मिलेमतो छ कि भनेर थप अनुसन्धानको आवश्यकता देखेर कृष्णलाई चाहिँ हिरासतमै राखेको बस्नेतले बताए ।


कृष्णबहादुर पहिले मलेसियामा स्याङकै रेस्टुरेन्टमा काम गर्ने । स्याङ खुले चिनियाँसँग मिलेर निङ्पोमा रेस्टुरेन्ट खोल्ने भन्दै कृष्णलाई नेपाली कामदार खोज्न नेपाल पठाएका थिए । स्याङले आफ्ना चिनियाँ साझेदार लिङ छीलाई लिएर गत जेठमा काठमाडौँ गए । नेपाली युवालाई कामदार भिसामा ल्याउन विभिन्न कठिनाइ देखेपछि उनीहरूले एक महिनाको बिजिनेस भिसामा १४ जना नेपाली युवालाई चीनमा ल्याएका थिए । चीनमा ल्याउँदा भिसा शुल्कदेखि विमानको टिकट पनि चिनियाँले तिरेका थिए । नेपालीहरूलाई अध्यागमन विभागमा देखाउनु पर्ने भन्दै सबैलाई एक हजार अमेरिकी डलर मुद्रा सटही गरेर बोक्न लगाएका थिए । चीनमा आएपछि मलेसियन स्याङले सबै नेपालीको राहदानी र नेपालमा सटही गरेको एक हजार अमेरिकी डलर पैसा लिएका थिए ।


तीन महिनासम्म रेस्टुरेन्ट चलाएर असोजको मध्यबाट मलेसियन र चिनियाँ साझेदारले लगानी अभाव रहेको भन्दै रेस्टुरेन्ट बन्द गरेपछि नेपाली युवाहरू बिचल्लीमा परेका थिए । उनीहरूले त्यसबीचमा तीन महिना काम गरेको कुनै पनि पारिश्रमिक पाएनन् । भिसाको अवधि पनि सकिएको र काम गरेको पारिश्रमिक पनि नपाएपछि नेपालीहरूले आफूहरू ठगिएको थाहा पाए । मानव तस्करको सिकार भएको थाहा पाएपछि उनीहरूले कृष्णमार्फत स्याङलाई आफ्नो राहदानी फिर्ता माग्दा भिसाको प्रक्रियामा छ भन्दै आलटाल गरेर झुलाएको एक जना पीडितले कान्तिपुरलाई बताए ।


सुरुमा दैनिक ८ घण्टा काम गर्नुपर्ने भनिए पनि उनीहरूले १९ घण्टासम्म काम गर्नुपरेको थियो । रेस्टुरेन्ट चलुन्जेल खान पाए पनि तीन महिनापछि असोज मध्यबाट उनीहरूलाई खान पनि दिइएको थिएन । अत्यन्त पीडादायी एक महिना बिताएपछि उनीहरूले बेइजिङस्थित नेपाली दूतवासमा उद्धारका लागि सम्पर्क गरेको एक जना पीडितले बताए । दूतावासका अधिकारीले उद्धार गर्नका लागि निवेदन चाहिने र समय लाग्ने बताएपछि उनीहरू निङ्पोको हाइ शु प्रहरी कार्यालयमा गएर आफ्नो उद्धार गरिदिन अनुरोध गरेका थिए । प्रहरीले गत कात्तिक २४ गतेदेखि नेपालीलाई हाइ शु डिटेन्सन सेन्टरमा राखेको थियो ।


रेस्टुरेन्टका चिनियाँ मालिक लिङ छी र मलेसियन साझेदार स्याङ खु पनि हिरासतमा छन् ।


प्रकाशित : पुस २४, २०७५ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?