कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नुवाकोट पस्न तीनै सडकमा हैरानी

नुवाकोट — ककनी–४ दोभानका मदन लामाले ट्राउट माछा पाल्न थालेको १६ वर्ष भयो । यसैलाई मुख्य आम्दानीस्रोत बनाएका उनको व्यापारमा अहिले कमी आएको छ । लामा यसको दोष खनेर अलपत्र छाडिएको सडकलाई दिन्छन् ।

नुवाकोट पस्न तीनै सडकमा हैरानी

बालाजु–ककनी हुँदै नुवाकोट जोड्ने पासाङल्हामु राजमार्ग स्तरोन्नति पूरा नहुँदा व्यवसायमा असर परेको छ ।


माछा खपतका लागि लामाले होटल चलाएका छन् । सडक राम्रो हुँदा शुक्रबार र शनिबार सधैं भीड हुन्थ्यो । मुख्य ग्राहक काठमाडौंका थिए जो प्राय: मोटरसाइकलमा आउँथे । पहिले २० जनालाई रोजगारी दिएका थिए । सडक नबनेर ग्राहक घट्न थालेपछि कामदारलाई बिदा गरेका छन् । अहिले परिवारले मात्र चलाएका छन् । ‘सडकले गर्दा व्यापार–व्यवसाय चौपट भयो,’ लामाले भने, ‘यो लथालिंग सडक कहिले पूरा हुन्छ, थाहा छैन ।’


सडकमा खाल्डैखाल्डा छन् । धुलोले हिँडिसाध्य छैन । दुर्घटनाको जोखिमसमेत बढेको छ । सडकछेउ व्यवसाय गरेर परिवार पाल्दै आएका अधिकांशको उही समस्या छ । उत्पादित तरकारी, फलफूल बजार पुर्‍याउन सकेका छैनन् ।


नुवाकोटबाट काठमाडौं जोड्ने तीनवटै नाका अहिले स्तरोन्नति गरिँदै छन् । बालाजु–त्रिशूली ७० किमि छ । यो सडकको बालाजु–रानीपौवा–पीपलटार गरी २ प्याकेजमा काम भइरहेको छ । २१ मेगावाट त्रिशूली जलविद्युत् आयोजना निर्माणका क्रममा २०१८ सालमा ट्रयाक खुलेको हो ।


अर्को गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक ८२ किमि छ । धादिङको गल्छी, नुवाकोटको कोल्पुटार–देवीघाट–त्रिशूली, रसुवाको बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी नाकासम्म जोडिन्छ । यो आयोजनाले पीपलटारदेखि माझिटारसम्म २ किमि एकपत्रे पिच गरेको छ । स्थानीयले उक्त सडकले १५/१५ मिटर दायाँबायाँ चर्चेको जग्गाको मुआब्जा माग्दै आएका छन् । गल्छीदेखि काठमाडौंसम्म ४७ किमि छ । पीपलटार–गल्छीको २०५४/०५५ मा ट्रयाक खुलेको हो ।


अर्को छ, छहरे–टोखा सडकखण्ड । नुवाकोटलाई काठमाडौं जोड्ने सबभन्दा छोटो सडक ।


त्रिशूलीदेखि टोखासम्म ५२ किमि छ । ‘तीनवटै सडक एकै पटक स्तर उन्नति गर्ने भन्दै लथालिंग पार्न जरुरी थिएन,’ उद्योग वाणिज्य संघ नुवाकोटका पूर्वअध्यक्ष धननारायण चित्रकारले भने, ‘यही सडकले गर्दा व्यापार–व्यवसाय प्रभावित छ ।’ उनका अनुसार जताततै भत्काउने तर समयमै निर्माण नगर्ने प्रवृत्तिको असर सामान ढुवानीमा परेको छ । भाडा महँगिएको छ ।


‘त्रिशूलीको सामान भन्नेबित्तिकै ढुवानी भाडा महँगो भन्छन्,’ उनले भने, ‘पहिला काठमाडौंभन्दा २/४ हजार सस्तो हुन्थ्यो, अहिले महँगो छ ।’ निर्माण चलिरहेका बेला घण्टौं जाममा बस्नुपर्छ । बर्खामा अझ मुस्किल पर्छ ।


‘ढुवानी भाडा महँगो भएपछि उपभोक्ताले सामान किन्दा पनि महँगो पर्ने हुन्छ,’ चित्रकारले भने, ‘समयमै सडक निर्माण सकिए ढुवानी भाडा सस्तो हुने थियो, डेढ घण्टामै काठमाडौं पुग्न सकिन्थ्यो ।’


गल्छी–रसुवागढी सडक योजनाका प्रमुख सुबोधकुमार देवकोटाका अनुसार निर्माण जारी छ । ‘अहिले सडकछेउमा वाल लगाउने, भित्तो कटिङ गर्ने काम भइरहेको छ,’ उनले भने, ‘तर बाटो बन्द नगरी काम गर्दा समस्या छ । दुर्घटनाको समेत जोखिम रहन्छ ।’ सम्झौताअनुसार यो सडक २०१९ सम्म बनाइसक्नुपर्ने हो । कानुनले तोकेको ठाउँमा मात्र मुआब्जा दिन मिल्ने उनले बताए । सबभन्दा बढी गुनासो बालाजु–त्रिशूलीमा छ । यो सडक ०७०/०७१ मा ठेक्का सम्झौता भएको थियो ।


‘सडक निर्माणको काम तीव्र रूपमा भइरहेको छ,’ योजना प्रमुख निरज शर्माले भने, ‘ठेकेदारले यही आर्थिक वर्षको वैशाखसम्ममा सडक निर्माण पूरा हुने जानकारी गराएका छन् ।’ सडक निर्माणको क्रममा समस्या देखिनु स्वाभाविक रहेको उनको भनाइ छ ।

प्रकाशित : पुस २५, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?