कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मशील वडाध्यक्ष- जनताको कामदेखि नियमित कृषि कर्म

आनन्द गौतम

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिका १ का अध्यक्ष पूर्णप्रसाद सिटौलाले दैनिक ४/५ भारी घाँस काट्नैपर्छ । १० बज्दा नबज्दा घाँसको भारी गोठमा पुर्‍याएपछि मात्रै खाना खाने हो । खाना खाएलगत्तै कपडा फेरेर वडा कार्यालयतिर लाग्छन् ।

कर्मशील वडाध्यक्ष- जनताको कामदेखि नियमित कृषि कर्म


वडा कार्यालय पुग्दा कम्तीमा ११ बजेको हुन्छ । बेलुका ३ बजेसम्म वडामै हुन्छन् या अरू काममा दौडन्छन् । यी जाँगरिला वडाध्यक्षले सात सय सुन्तलाका बोट लगाएका छन् । बगानभित्र अलैंची, कफीलगायत कृषि उपजले भरिएको छ । कागती, अम्रिसो, रुद्राक्ष दानाको बगान बेग्लाबेग्लै ठाउँमा छ । उनले करिब ७० रोपनीमा खेती गरेका छन् । सुन्तलाको आम्दानी अर्को सालबाट आउँछ । यो वर्ष करिब ३ लाखको बिक्री गर्ने तयारीमा छन् ।


एक लाखको बिक्री भइसकेको छ भने बाँकी झापाको बिर्तामोड पुर्‍याएर बेच्ने योजनामा छन् । सबै बिरुवामा फल लाग्न थालेपछि वार्षिक २०/२५ लाखको सुन्तला बिक्री हुने सिटौलाले बताए । बिरुवा हुर्काउन यही सिजनमा प्रत्येक वर्ष एउटा बिरुवामा कम्तीमा दुई डोका गाईभैंसीको र जैविक मल मिलाएर हाल्छन् । उनले बगान सिँचाइ गर्न प्लास्टिक पोखरी ठाउँ/ठाउँमा बनाएका छन् । सिटौलाको यस्तो जाँगर सानैदेखिको हो । ‘म गरिबको छोरा हुँ, सानामा पनि गाउँको धान किन्थें र ढिकीमा कुटेर चामल सदरमुकाम फुङलिङ पुर्‍याउँथेँ,’ सिटौलाले सुनाए, ‘त्यसरी नै श्रम गरेर अलिअलि भात खाने भएको हुँ ।’


सिटौलाले अलैंची खेती र धानको व्यापारबाट राम्रो आम्दानी गरेका थिए । झापा बिर्तामोडमा चारतले घर छ । घडेरी पनि किने । तर उनलाई अलैंचीको व्यापारले राम्रो भएन । ‘६ करोड रुपैयाँ त अलैंचीमै डुब्यो,’ उनी भन्छन्, ‘त्यसपछि बिर्तामोडको घर र जग्गा सबै बिक्री गरेर ऋण तिरेँ ।’ उनी आफ्नै गाउँ र छिमेकी जिल्ला तेह्रथुम हवाकुको अलैंची किन्थे र बिर्तामोड पुर्‍याएर बिक्री गर्थे । अलैंचीमा घाटा खाएपछि सबै खेतबारीमा सुन्तला लगाएको उनले सुनाए ।


‘धान, मकै फलाएर मात्रै हुँदैन भन्ने सोचले यता लागेँ,’ सिटौला भन्छन्, ‘मौसम परिवर्तन भइरहेकाले यसले पनि बिगार्ला कि भनेर बगानभित्र कफीलगायत बाली लगाएको हुँ ।’ एउटाले नभए अर्कोबाट आउँछ । सिटौलाको परिवारमा ८४ वर्षीया आमा, श्रीमती र एक छोरा छन् ।


श्रीमतीले घरको हेरचाह र छोराले आफूलाई सहयोग गर्ने उनले बताए । घरबाहिर जानुपर्दा वा धेरै दिन बाहिर बस्नुपर्दा ज्याला दिएर घाँस काट्न लगाउने गरेका छन् । हिउँदको डालेघाँस भने चार/पाँच दिनसम्मका लागि पनि जोहो गरिदिने गरेका छन् ।


गाविस हुँदै वडा

पूर्णप्रसादले पहिलोपटक निर्वाचन जितेका होइनन् । यसअघि ०५४ सालमा गाविस अध्यक्ष भएका थिए । ‘मलाई जुन क्षेत्रबाट कम भोट आउँछ योजना त्यतातिर बढी लगाउँछु,’ उनले भने । उनी कांग्रेसबाट टिकट पाएर निर्वाचित भएका हुन् । घरको कामले जनताको काममा भने कुनै बाधा नपुगेको उनको दाबी छ ।


‘कुनै काममा कसैले बोलाए अनिवार्य पुग्छु, उनले थपे, ‘दिनभरि काम गर्दा धेरै हुन्छ र भएको पनि

छ ।’ सिटौलाले नेतृत्व गरेको वडा तेह्रथुमको आठराई र पाँचथरको याङवरक गाउँपालिकासँग जोडिएको छ । गत कात्तिकदेखि भने यहाँ सदरमुकाम फुङलिङ, पाँचथरको फिदिम र तेह्रथुमको म्याङलुङबाट सडकले जोडिएको छ ।

प्रकाशित : पुस २५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?