२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

छाउगोठ आगलागीमा दुई छोरासहित आमाको मृत्यु

अर्जुन शाह

धनगढी — छाउगोठभित्र निसासिएर मंगलबार राति दुई छोरासहित आमाको मृत्यु भएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–९, अगाउँपानीमा साँझ खाना खाएर सुत्न गएका ३५ वर्षीया अम्बा बोहरा, उनका छोराहरू १२ वर्षीय सुरेश र ९ वर्षीय रमितको अँगेनामा बालिएको आगोले निसासिएर ज्यान गएको हो ।

छाउगोठ आगलागीमा दुई छोरासहित आमाको मृत्यु

अम्बा महिनावारी भएको चौथो दिन दुई छोरालाई लिएर छाउगोठमा सुत्न गएकी थिइन् । बुधबार बिहान सासू विसु बोहरा बुहारीलाई बोलाउन गोठमा पुग्दा तीनै जना मृत भेटिएका थिए । अम्बाको दुवै खुट्टाका औंला र ओढ्ने कपडाको केही भाग जलेको थियो । जेठा छोरा सुरेशको मुखबाट रगत बगेको थियो । विसु आत्तिएर हारगुहार गरेपछि गाउँलेले तीनै जनालाई बाहिर निकालेको छिमेकी महेश कार्कीले बताए ।


घटनास्थल सदरमुकाम मार्तडी र कोल्टीको बीचमा पर्छ । मार्तडीदेखि ३ घण्टाको कच्ची सडक पार गरेपछि त्यहाँ पुगिन्छ । महिनावारी भएका बेला सधैं बस्ने ठाउँ भएकाले खुट्टातिर आगो बाल्ने अँगेनो छ । उनीहरू त्यही अँगेनामा आगो बालेर सुतेका थिए । पान्डुसेन लेकाली गाउँ भएकाले आगो नबाले बस्नै मुस्किल हुने अम्बाका काका–ससुरा खडक बोहराले बताए । ‘सुत्नुअघि सधैं आगो बाल्थिन्, मंगलबार पनि आगो बालेर सुतेकी रहिछन्,’ वडाध्यक्षसमेत रहेका उनले भने ।


सुरेश नजिकैको हिमाली प्राविमा कक्षा ३ मा र रमित कक्षा १ मा अध्ययनरत थिए । घरका महिला महिनावारी भएका बेला बस्नका लागि घरसँगै जोडेर वर्षौंअघि बनाइएको छाउगोठ निकै सानो छ । जस्तापाताले छाएको गोठमा झ्याल तथा भेन्टिलेसन छैन । ‘गोठभित्र ३ आमाछोरा ठिक्क अटाउनेबाहेक फर्किने ठाउँ पनि छैन,’ वडाध्यक्ष बोहराले भने, ‘भित्र उभिन पनि मिल्दैन ।’ गाउँमा बनाइएका छाउगोठ सबै एकैनासका रहेको उनले बताए । अम्बाका श्रीमान् काँसी बोहरा मजदुरी गर्न २ महिनादेखि भारतको पिथौरागढमा छन् । घरमा सासू–ससुरा मात्रै छन् । तीन दाजुभाइमध्ये माइला उनी छुट्टिएर अलग्गै बस्दै आएका थिए ।


घटनाको जानकारी प्राप्त भएपछि सदरमुकाम मार्तडीबाट जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थल पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । शव पोस्टमार्टमका लागि कोल्टी स्वास्थ्य चौकीमा राखिएको उनले जानकारी दिए । दैवी प्रकोपको घटना मानेर नियमअनुसार मृतक परिवारलाई राहत उपलब्ध गराउने प्रक्रियामा रहेको उनले बताए । वडाध्यक्ष बोहराका अनुसार पान्डुसेनसहित साविकका ६ गाविसलाई केही वर्षअघि एक गैरसरकारी संस्थाले छाउगोठमुक्त घोषणा गरेको थियो ।


‘अहिले मेरै परिवारमा यस्तो भयो,’ उनले भने । विभिन्न संघसंस्थाले गाउँमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

‘महिला विकास कार्यालयलगायत गैरसरकारी संस्थाले छाउपडी प्रथाविरुद्ध कार्यक्रम सञ्चालन गरेका थिए,’ हाल बडिमालिका नगरपालिकाकी सहायक महिला विकास निरीक्षक केशरी रोकायाले भनिन्, ‘तिनले साविकको बाह्रबिस र कुल्देवमान्डौलाई छाउपडी प्रथामुक्त घोषणा गरेका थिए ।’


बाजुराको ग्रामीण क्षेत्रमा केहीले आफ्नै र केहीले साझा छाउगोठ बनाएका छन् । छाउ हुँदा गाउँका सबै महिला यिनै असुरक्षित गोठमा बस्ने गरेको महिला विकास कार्यालयकी बिन्दु बडाल बताइन् ।

प्रकाशित : पुस २५, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?