केसीको १६ औं अनशन आज साढे चार बजेदेखि निश्चित [मागको पूर्ण विवरणसहित]

विप्लव भट्टराई

इलाम — सम्झौता विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको भन्दै डा. गोविन्द केसीले बुधवार साढे ४ बजेदेखि अनशन सुरु गर्ने भएका छन् ।

केसीको १६ औं अनशन आज साढे चार बजेदेखि निश्चित [मागको पूर्ण विवरणसहित]

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले १६ औँ अनशन इलामको सदरमुकामस्थित फूलगाछीमा हुने उनका निकटस्थले बताएका छन् । उपसमितिले आफूसँग गरेको सम्झौता विपरीत प्रस्ताव गरेको विधेयकलाई समितिले सच्याउने आशामा दिउँसो ४ बजेसम्म उनले समय दिएका थिए ।

संसदीय समितिले बहुमतको आधारमा बुधवार दिउँसो प्रस्तावलाई जस्ताको तस्तै पारित गरेपछि डा. केसीको अनसन निश्चित भएको हो । उनले १५ औँ अनसनका बेला सरकारले आफूहरूसँग गरेको सहमतिलाई विधेयकमा जस्ताको तस्तै राखिनु पर्ने अडान राख्दै आएका छन् ।

यस्तो थियो सम्झौता:

– सरकार र डा. केसीबीच सहमति, २७ औं दिनमा अनशन तोडियो [सहमतिपत्रसहित]

यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुस १७ देखि अनसन बस्ने भनेर इलाम आएका थिए । तर संसदीय उपसमितिले दुई दिनको समय मागको भन्दै ७ दिन अनसन स्थगित गरेका थिए ।


राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको छ । विधेयकमा भएको विवादित विषयमा छलफल गरेर आवश्यक सुझाव दिन गठित उपसमितिले आइतबार बुझाएको प्रतिवेदन बुधवार हुबहु पारित गरिएको हो ।


यसपटक डा. केसीका मागहरु:

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता कार्यन्वयन गरियोस् ।

क) सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर शिक्षा तथा स्वास्थ्य समितिबाट अविलम्ब चिकित्सा शिक्षा बिधेयक पारित गरियोस् ।


ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् ।


ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग ,इलाम ,पाँचथर, तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई उपचारका लागि इलाममा, भोजपुर,ओखल्ढुंगा, खोटांग, सप्तरीलगायतका जिल्ला समेटेर उदयपुरमा, पश्चिमी पहाडका डडेल्धुरा, बैतडी, बझांगलगायतका जिल्ला समेटेर डोटी /डडेल्धुरामा अबिलम्ब मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।


२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।


३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

यो पनि पढ्नुस्

– चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन बहुमतले पारित

भोलिदेखि अनशन बस्छु : डा. केसी

प्रकाशित : पुस २५, २०७५ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?