कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा दाहालले भावुक हुँदै भने, 'अब १० वर्ष सम्वृद्धिको काम गरेर माथि जाने विचार छ' 

रमेशकुमार पौडेल

चितवन — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मृत्युअघि देश सम्वृद्ध बनाउने भावनात्मक भाषण गरेका छन् । 

चितवनमा दाहालले भावुक हुँदै भने, 'अब १० वर्ष सम्वृद्धिको काम गरेर माथि जाने विचार छ' 

नारायणगढ नारायणी नदी किनारमा आयोजित १२ औँ चितवन महोत्सवको बुधवार उद्घाटन गर्दै दाहालले भने ‘१० वर्ष सम्वृद्धिको काम गरेर माथि जाने विचार छ । सम्वृद्धि जसले गरे पनि हुन्छ । निजी क्षेत्रले गरे पनि हुन्छ । लिबरल ईकोनोमिबाट गरे पनि हुन्छ ।’


माओवादको नाममा १० वर्ष सशस्त्र सङ्घर्षको नेतृत्व गरेका नेता दाहालले विकासको लागि चिनियाँ नेता माओको नभएर देङस्याओ पिङको नीति उपयुक्त भएको बताए । ‘क्रान्तिपछि विकासको सन्दर्भमा चीनमा पहिला माओत्सेतुङले अगाडी सारेको एउटा मोडेल थियो । त्यसको ठाउँमा अर्का नेता देङले बिरालोको मुख्य काम मुसा मार्ने हो कालो सेतो जे भए पनि केही फरक पर्दैन भनेर विश्वमै चर्चा कमाएको त सबैलाई थाहा नै छ ।’


चीनमा देङकै मोडलले विकास चरम गतिमा भएको हुँदा नेपालमा पनि आफूहरू त्यही नीतिमा रहेको दाहालले बताए । ‘बिरालो जस्तो भए पनि हुन्छ तर मुसा मार्नु पर्‍यो भन्नुको तात्पर्य विकास हुनु पर्‍यो, जनताको जीवनस्तर उठ्नु पर्‍यो र देश सम्बृद्ध हुनु पर्‍यो भन्ने थियो । जसले गरे पनि हुन्छ भन्ने थियो । देश र जनतालाई धनी र सम्बृद्ध बनाउन नसके कम्युनिस्ट पार्टीको काम पनि छैन भनेर यो अवधारणा आएको थियो’ दाहालले भने ।


आफूहरूलाई पनि अहिले बिरालो सेतो र कालो जे भए पनि केही मतलब नभएको दाहालले बताए । ‘हुनु पर्‍यो विकास । यदि विकास निर्माण र सम्वृद्धिको जनचाहनालाई र इतिहासको आवश्यकतालाई हामीले पूर्ति गर्न नसक्ने हो भने नेपालमा पनि कम्युनिस्ट पार्टीको केही पनि काम छैन’ दाहालले भने । निजी क्षेत्रको आवश्यकतालाई आफूहरूले अपरिहार्य देखेको हुँदा निजी क्षेत्र पनि विकासमा अग्रसर बन्न उनले अपिल गरे ।


माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सव चितवन उद्योग वाणिज्य सङ्घले चितवन जिल्ला समन्वय समिति र भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आयोजना गरेको हो ।


महोत्सव मूल समितिका संयोजक सहनलाल प्रधानका अनुसार ५७० स्टल रहेको महत्वसवको मुख्य उद्देश्य चितवनको पर्यटन प्रवर्द्धनलाई टेवा दिनु रहेको छ । जिल्लाका सातै स्थानीय तहका ५० पर्यटकीय स्थल समेटेर पर्यटक गाइड पनि प्रकाशन भएको छ ।

प्रकाशित : पुस २५, २०७५ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?