१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अझै स्टाइपेन्ड पाएनन् भारतमा अध्ययनरत नेपाली रेजिडेन्ट चिकित्सक

गत सेप्टेम्बरदेखि नै एमडि/एमएसले ८० हजार र डीएम/एमसिएचले एक लाख भारतीय रुपैयाँ पाउनु पर्ने थियो ।
अतुल मिश्र

काठमाडौँ — भारतको सरकारी संस्थानमा चिकित्सा शास्त्रमा एमडी/एमएस, डिएम/एमसिएच गर्ने रेजिडेन्ट नेपाली चिकित्सकहरूले सेप्टेम्बर महिनाबाट पाउनु पर्ने स्टाइपेन्ड अझै पाएका छैनन् ।

अझै स्टाइपेन्ड पाएनन् भारतमा अध्ययनरत नेपाली रेजिडेन्ट चिकित्सक

उनीहरूले नेपाल र भारत सरकारको स्वास्थ्य र विदेश मन्त्रीहरूलाई यसमा सम्बन्धमा विशेष ध्यानाकर्षण गराउँदै अविलम्ब स्टाइपेन्ड रकम दिलाउन आग्रह गरेका छन् ।


विदेशी रेजीडेन्ट चिकित्सकहरूले पनि भारतीय सरह नै स्टाइपेन्ड पाउनु पर्ने मागसहित वर्षौंको कानुनी लडाइपछि नेपाली विद्यार्थीले भारतीयले जतिकै प्रतिमहिना करिब ८० हजार देखि एक लाखसम्म भारतीय रुपैयाँ पाउने भए पनि यो निर्णय कार्यान्वयन भएको छैन ।


भारतको चिकित्सा शास्त्रमा उच्च शिक्षा अन्तर्गतको विदेशी कोटामा पढ्ने अधिकांश नेपाली नागरिक नै हुने गरेका छन् ।


अलि इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) नयाँ दिल्ली, पोस्ट ग्राजुवेट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पीजीआइएमइआर) चन्डीगढ र जवाहरलाल इन्स्टिच्युट अफ पोष्टग्राजुएट मेडिकल एजुकेसन एन्ड रिसर्च (जेआइपीएमइआर) पाण्डिचेरीमा अध्ययनरत विदेशी नागरिकहरूले स्टाइपेन्ड पाउने केन्द्र सरकारको निर्णय अझै कार्यान्वयन नभए पछि नेपाली विद्यार्थीहरू अन्योलमा छन् ।


पीजीआइएमइआर, चन्डीगढमा इन्टरमेडिसनमा एमडी गरिरहेका तथा एसोसिएसन अफ रेजिडेन्ट डक्टर्स अफ पिजीआइका कार्यकारी सदस्य डा. विपिन यादवले कान्तिपुरसँग फोनमा भने, ‘हामी अध्ययनरत संस्थाले १९ सेप्टेम्बर सन २०१८ देखि स्टाइपेन्ड पाउने गरी आदेश प्रकाशित गर्‍यो, हामी सबैसँग बैक एकाउन्ट नम्बरसमेत माग्यो तर चार महिना बिते पनि रकम आएन ।’


डा. यादवका अनुसार पीजीआइएमइआर चन्डीगढको प्रशासनले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयबाट स्टाइपेन्ड दिन एउटा पत्र आए आफूहरू तुरुन्त सम्बन्धित सबैको खातामा रकम जम्मा गर्ने भनेका छन् ।


सन २०१८ को १२ डिसेम्बरमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले समेत आफ्नो भारतीय समकक्षी जेपी नड्डासँग दोस्रो पटक नेपाली डाक्टरहरूलाई स्टाइपेन्ड तुरुन्त उपलब्ध गराउन आग्रह गरेका थिए ।


‘विदेशी रेजिडेन्ट डाक्टरलाई भारतीय सरह नै स्टाइपेन्ड दिने निर्णय मन्त्रालयस्तरमा अड्किएको यहाँका प्रशासनिक पदाधिकारीहरू बताइरहेका छन्’, एम्स, नयाँ दिल्लीमा एमडी गरिरहेका डा. सागर पौडेलले फोनमा भने, ‘ पीजीआइएमइआर, चन्डीगढमा अध्ययनरतहरूको बैङ्क एकाउन्ट मागिए पनि हामी कहाँ र जेआइपीएमइआर पाण्डिचेरीमा त्यो प्रक्रिया पनि सुरु गरिएको छैन ।’


भारतमा चिकित्साशास्त्रमा उच्च अध्ययन गरिरहेका नेपाली डाक्टरहरूले दुवै मुलुकमा स्वास्थ्य र विदेश मन्त्रीहरूलाई यस विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।


भारतमा अध्ययनरत नेपाली डाक्टरहरूको अनुसार पिजीआइमा एमडी/एमस र डीएम/एमसीएच मा ६३ जना नेपाली विद्यार्थी अध्ययनरत छन् । यस्तै एम्स, नयाँ दिल्लीमा ६८ र जेआइपीएमइआर, पांडिचेरीमा २५ जना नेपाली अध्ययनरत रहेको छन् ।

प्रकाशित : पुस २५, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?