कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कस्तूरी अध्ययन गरिँदै

हरिराम उप्रेती

गोरखा — मनास्लु संरक्षण क्षेत्रमा रहेको कस्तूरीको अवस्था पत्ता लगाउन अनुसन्धान सुरु भएको छ । साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले चुमनुब्री गाउँपालिका ४, प्रोकको कालताल क्षेत्रमा कस्तूरीको अवस्था पत्ता लगाउन पहिलो चरणको काम सकेको छ ।

कस्तूरी अध्ययन गरिँदै

‘कालताल एरियामा १० क्यामेरा ४ दिनमा जडान भएको थियो,’ मनास्लु संरक्षण क्षेत्र (एमक्याप) प्रमुख नरेन्द्र लामाले भने, ‘पहिलो चरणमा क्यामेरामा ट्रयापिङ भयो । अब दोस्रो चरणमा पुन: क्यामेरा जडान गरेपछि निष्कर्ष निक्लन्छ ।’ साना स्तनधारी जनावरको अवस्था, बासस्थान र संख्या पत्ता लगाउन अनुन्धान सुरु भएको उनले बताए । ‘अध्ययनको अन्तिम विवरण आएपछि साना स्तनधारी जनावरको उपस्थिति र वासस्थानको अवस्था सार्वजनिक गर्छौं,’ उनले भने ।

३ हजार ७ सय मिटर उचाइमा रहेको कालताल क्षेत्रमा कस्तूरीको दिसाका आधारमा संख्या निकाल्ने फाउन्डेसनका अनुसन्धानकर्ता विष्णु अछामीले बताए । ‘जाडो र गर्मी २ सिजनमा अध्ययन गर्न लागेका हौं । जाडोयाममा एक चरण गर्‍यौं,’ उनले भने, ‘दिसा एकै ठाउँमा गर्ने भएकाले यसकै आधारमा यकिन संख्या नआए पनि औसतमा निकाल्छौं ।’

पहिलो चरणमा क्यामेरामा कैद भएका तस्बिरका आधारमा अहिले विश्लेषणको क्रम चलिरहेको उनले बताए । नेपालमा ३ प्रजातिका कस्तूरी पाइनेमा यो क्षेत्रमा भने सुनकण्ठे प्रजाति रहेको अछामीले बताए । ‘विश्वमा ७ प्रजातिका कस्तूरी पाइन्छन् । नेपालमा पाइने ३ प्रजातिमा सबै लोपोन्मुख हुन्,’ उनले भने, ‘हिमाली क्षेत्रमा हुने भनिए पनि सबै हिमालमा कस्तूरी पाइँदैन ।’

सुनकण्ठे, सेतोकण्ठे र कालो कस्तूरी नेपालमा पाइने उनले सुनाए । ‘मनास्लु एरियामा पाइने भनेको सुनकण्ठे हो । फोटोका आधारमा टाढाबाट हेर्दा सेतोकण्ठे पनि छ कि भन्ने लागेको छ,’ उनले भने । क्यामेराले २ सय मिटरसम्मको कस्तूरीको ‘ट्रयापिङ’ गरेको उनले बताए । ‘क्यामेरामा तस्बिर पनि कैद भएको छ । दोस्रो, तेस्रो दिन लाइभ पनि देख्यौं । उक्त क्षेत्रमा कस्तूरीहरू राम्रै संख्यामा छन् भन्ने लागेको छ,’ उनले भने, ‘हिउँचितुवा पनि देखिन्छ कि भन्ने थियो, अत्यधिक चिसोका कारण माथिल्लो उचाइसम्म पुग्न सकेनौं ।’ उक्त क्षेत्रमा कस्तूरी बासस्थानको अवस्था पनि राम्रै हुने अनुसन्धानकर्ताले अनुमान गरेका छन् ।

अनुसन्धानका क्रममा टोलीका सदस्यहरूले लोपोन्मुख प्रजातिमा पर्ने कस्तूरीको महत्त्व र संरक्षणको खाँचोबारे स्थानीयलाई बताएका पनि थिए । ‘बाटोमा भेटिएका गाउँलेलाई कस्तूरीबारे सोध्यौं । उहाँहरूलाई यसको महत्त्वबारे पनि बुझाएका छौं,’ उनले भने, ‘संरक्षणका लागि चेतना जगाउनुपर्ने अझै आवश्यकता रहेको महसुस गर्‍यौं ।’

कालताल क्षेत्रमा अध्ययन सकेपछि उत्तरी गोरखाकै अर्को क्षेत्रमा पनि अध्ययन गर्ने योजना रहेको अछामीले बताए । अनुसन्धानले पहिल्याए अनुसार वन्यजन्तु संरक्षणको योजना र कार्यक्रम लैजाने एमक्यापका प्रमुख लामा बताउँछन् । ‘अवस्था कस्तो छ, त्यसको जानकारी भएपछि व्यवस्थापनको योजना बनाउन सजिलो भयो,’ उनले भने, ‘यसको अध्ययन अनुसन्धान सक्न अझै ६ महिना लाग्छ ।’ अध्ययनका लागि ३ अनुसन्धानकर्ता खटिएका छन् ।

मनास्लु संरक्षण क्षेत्रअन्तर्गत चुम र नुव्री दुवै उपत्यकामा लोपोन्मुख प्रजातिको कस्तूरी पाइने उनले बताए । ‘यसको बिना औषधि र परफ्युमका लागि निकै उपयोगी हुन्छ । मार्न र चोर्न पूर्ण प्रतिबन्धित छ,’ उनले भने । संरक्षित क्षेत्रअन्तर्गतको चुमनुब्री गाउँपालिकाको सातवटै वडामा चोरीसिकारीविरुद्घको एकाइ गठन गरी संरक्षण गरिएको उनको भनाइ छ । ‘सातवटै एकाइमा वन गस्ती हुन्छ । चोरी सिकार हुन नदिने, पासो राखे फाल्ने काम एकाइले गरेको छ,’ लामाले भने ।

उक्त क्षेत्रमा कालो भालु, घोरल, नाउर र झारललगायत लोपोन्मुख जनावर रहेको एमक्यापले जनाएको छ । वन्यजन्तुको अवलोकनकै लागि उक्त क्षेत्रमा आन्तरिक तथा बाहय पर्यटक पुग्ने गरेका छन् । एमक्याप र फाउन्डेसनले संयुक्त रूपमा अध्ययन अनुसन्धानको काम गरेका हुन् ।

प्रकाशित : पुस २५, २०७५ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?