मेलम्ची ठेकेदार फर्केनन् ,आयोजना झन् अन्योलमा

ठेकेदारले आउने/नआउने कुनै प्रतिक्रिया नदिएपछि अन्योल छ । आउन त पर्ने हो, अहिलेसम्म कुनै आधिकारिक जानकारी छैन– शंकरप्रसाद सुवेदी, खानेपानी मन्त्रालयका प्रवक्ता । 

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले ठेकेदारबारे स्पष्ट निर्णय नलिँदा मेलम्ची आयोजना अनिश्चित बन्दै गएको छ । एकतर्फी रूपमा ठेक्का रद्द गरेको इटालियन कम्पनी सीएमसीबाटै काम गराउने वा नयाँ ठेकेदार छनोट गर्ने भन्नेमा अन्योल छ ।  

मेलम्ची ठेकेदार फर्केनन् ,आयोजना झन् अन्योलमा

‘मन्त्रीज्यू र सचिवज्यू केही पनि भन्नुहुन्न, ठेकेदार कम्पनीका अधिकारीहरू नयाँ वर्ष मनाएर आउँछौं भनेको अहिलेसम्म आएका छैनन्, आयोजनाको काम कसरी अघि बढ्छ ? अन्योल छ,’ मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार सीएमसी कर्मचारीले जनवरी ७ मा आउने जानकारी दिएका थिए । सीएमसी केन्द्रीय कार्यालयले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गरेको छ । त्यही कारण देखाएर सीएमसी अधिकारीहरूले मन्त्रालयलाई ठेक्का तोडेको पत्र बुझाएका थिए । मन्त्रालयले पत्र नबुझी सीएमसीलाई बाँकी काम गर्न आग्रह गरेको थियो ।


ठेकेदारसँग भएको छलफल मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरबाहेक कसैलाई थाहा नभएको ती अधिकारीले बताए । उनका अनुसार सीएमसी अब कानुनी रूपमा मेलम्चीको काम गर्न योग्य छैन । ‘कम्पनी आफैंले ६० दिनसम्म काम नगर्ने, लिक्विडेसनमा गइसकेको भन्दै विज्ञप्ति निकालेको छ,’ उनले भने, ‘फेब्रुअरी ७ मा ६० दिन पुग्छ, त्यसअघि सीएमसीले कसरी काम गर्छ ?’ ठेकेदार आउने/नआउनेबारे मन्त्रालयलाई कुनै जानकारी नभएको ती अधिकारीले बताए ।


मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले ठेकेदारले आउने/नआउनेबारे कुनै प्रतिक्रिया नदिएपछि अन्योल छाएको बताए । ‘आउन त पर्ने हो, अहिलेसम्म कुनै आधिकारिक जानकारी छैन,’ उनले भने । ९७ प्रतिशत काम सकिइसकेकाले मन्त्रालयले बाँकी काम पनि सकभर उसैबाट गराउन चाहेको उनको भनाइ छ । ठेक्का तोड्नेबित्तिकै सरकारले सीएमसीको धरौटीबापत स्टान्डर्ड चार्टर बैंक र इन्भेस्टमेन्टको बैंकमा रहेको करिब अढाई अर्ब रुपैयाँ रोक्का गरेको थियो । सरकारले इटाली फर्कन लागेका कम्पनीका म्यानेजरलगायत कर्मचारीलाई पनि रोकेको थियो ।


मन्त्रालयसित बैंक ग्यारेन्टी रोक्का फिर्ता गर्ने र आफ्ना कर्मचारीलाई क्रिसमस तथा नयाँ वर्षका लागि इटाली जान दिने सहमति भएपछि सीएमसीले पुन: काममा फर्कने निर्णय गरेको थियो । मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मन्त्रालयले नै ठेकेदारसँग समन्वय गरिराखेको बताए । ‘केही दिनभित्रै आउने/नआउनेबारे थाहा हुन्छ,’ उनले भने, ‘सकभर आयोजना यही ठेकेदारबाट काम गराउन इच्छुक छ ।’

प्रकाशित : पुस २५, २०७५ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?