कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

विदेशमा एक वर्षमा ८७८ श्रमिकको मृत्यु

होम कार्की

काठमाडौँ — वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ ।

विदेशमा एक वर्षमा ८७८ श्रमिकको मृत्यु

एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२, साउदी अरबमा २ सय ८, कतारमा १ सय ४१, यूएईमा १ सय ३, कुवेतमा ४८, दक्षिण कोरियामा २६, ओमनमा ११, बहराइनमा १०, जोर्डनमा ४, इजरायलमा ३, युगान्डा र नाइजेरियामा एक/एक नेपालीको ज्यान गएको छ ।


श्रमिकलाई पर्याप्त अभिमुखीकरण तालिम नहुँदा कम उमेरमै मृत्युको सिकार हुनुपरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए । ‘अभिमुखीकरण तालिम नाउँ मात्रैको भयो,’ उनले भने, ‘निजी क्षेत्रले जस्तो दिन्छ, त्यसैमा निर्भर छ ।’

कार्यक्षेत्रबाहिर बढ्दो उल्लिखित तथ्यांकमध्ये झन्डै ७.७४ प्रतिशत अर्थात् ६८ जनाको मात्रै कार्यक्षेत्रमा मृत्यु भएको हो ।


गन्तव्य देशका सरकारले कार्यक्षेत्रको दुर्घटना दर नियन्त्रण गरेकाले त्यहाँको मृत्युदर कम देखिएको राजदूतहरूको बुझाइ छ । ‘हाम्रा श्रमिकको ठूलो संख्या निर्माण क्षेत्रमा छ । मृत्युदर निर्माण क्षेत्रभन्दा बाहिर बढी छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘क्याम्पभित्रको मृत्युदर चिन्ताजनक छ ।’


काम सकेर क्याम्पमा आराम गरिरहेका बेला मृत्यु हुनेको संख्या २४.०३ प्रतिशत अर्थात् २ सय ११ छ । दिनभर सकुशल काम गरेका श्रमिक अचानक हृदयाघात, मस्तिष्कघातको सिकार हुने गरेका छन् । ‘कोही त खाना खाइवरि बेडमा पल्टेकाहरू बिहान मृत अवस्थामा फेला पर्छन्,’ कोइरालाले भने, ‘यस्तो हुनुको ठ्याक्कै कारण छैन ।’


कतिपयले अस्वस्थ बसाइ र खानपिन अनि दिनभर चर्को घाममा काम गरेर चिसो कोठामा बस्दा यस्तो हुने बताउने गरेका छन् । श्रमिकहरू भने खानपिन र बसाइलाई मूल कारण ठान्छन् । ‘राति पाकेको खाना भोलिपल्ट दिउँसो खानुपर्छ । त्यो विषमा परिणत हुन्छ,’ गैरआवासीय नेपाली संघ, साउदीका अध्यक्ष नारायण पासवानले भने, ‘श्रमिकले स्वस्थ खाना नै पाउँदैनन् । फेरि बेलाबेला स्वास्थ्य परीक्षण गराउने बानी छैन ।’


मलेसियाको अवस्था झन् डरलाग्दो छ । चिसो मौसम भए पनि अस्वस्थ खानपिनका कारण यहाँ सबैभन्दा बढी ३६.७ प्रतिशतको मृत्यु भएको छ । यहाँ सहज रूपमा पाइने अस्वस्थ मदिराको सिकार न्यून आम्दानीका श्रमिक भइराखेको नेपाली दूतावासको भनाइ छ । ‘कम आय भएका श्रमिकले उच्चकोटिको मदिरा खाँदैनन् । उनीहरू घरेलु रूपमा उत्पादित मिसावटयुक्त मदिरा पिउँछन् । यसले भित्रभित्रै शरीरलाई खत्तम पारेको थाहा पाउँदैनन्,’ एक अधिकारीले भने, ‘ती श्रमिकलाई कसले सम्झाउने ?’


आत्महत्या र सडक दुर्घटना

दूतावासहरूका अनुसार श्रमिकको आत्महत्या दर डरलाग्दो रूपमा बढिरहेको छ । कार्यस्थलमा रोजगारदाताले गर्ने दुव्र्यवहार र पारिवारिक मनमुटाव यसको मूल कारण औंल्याइएको छ । एक वर्षमा १५.२६ प्रतिशत अर्थात् १ सय ३४ श्रमिकले आत्महत्या गरे ।


‘कोरियामा धेरै आर्थिक आम्दानी छ तैपनि उनीहरू खुसी देखिँदैनन् । कोरियाको डरलाग्दो अवस्था नै आत्महत्या हो,’ कोरियास्थित श्रम सहचारी डिल्ली बाँस्तोलाले भने, ‘श्रमिकलाई मानसिक समस्या धेरै देखिन्छ ।’


कोरियापछि बढी आत्महत्या मलेसिया (४३), यूएई (३३) र कतार (२०) मा देखिन्छ । ‘एकातिर सोचेजस्तो काम र तलब हुँदैन । ऋणको भार थपिएको हुन्छ । अर्कातिर परिवारसँग पनि मनमुटाव भइरहन्छ,’ मलेसियास्थित श्रम काउन्सेलर बद्री कार्कीले भने, ‘विदेशमा रहेका श्रीमान्/श्रीमतीलाई घरपरिवारबाट पनि अनावश्यक तनाव पुग्ने काम गर्नुभएन ।’


एक वर्षमा सडक दुर्घटनामा १७.१९ प्रतिशत अर्थात् ६८ जनाको ज्यान गयो । जेद्दास्थित नेपाली महावाणिज्यदूत रेवती पौडेलले बाटो काट्न नजान्दा अकालमा ज्यान गइरहेको बताए । ‘गाडी १ सय २० को गतिमा दौडिरहेको हुन्छ । फेरि नेपालमा जस्तो दायाँ होइन, बायाँ साइडबाट गाडी कुदाइन्छ । गाडी परै छ भनेर फराकिलो सडक काट्न दौडिन्छ । कतिखेर कुन गाडीले भेट्छ पत्तै पाइँदैन,’ पौडेलले भने ।


सुनुवाइ हुँदैन

श्रमिकको सुरक्षाका लागि सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ नहुने राजदूतहरूको गुनासो छ । ‘हरेकले भाषणमा दैनिक विमानस्थलमा कतिवटा शव आउँछन् भनेर फलाकिरहेको हुन्छ । हामीले न्यूनीकरणका लागि सुझाव पठाउँछौं, कतै सुनुवाइ हुँदैन,’ एक अधिकारीले भने ।


कुवेतका लागि राजदूत यज्ञ हमाल अभिमुखीकरण गुणस्तरीय बनाउनुको विकल्प नभएको बताउँछन् । ‘अहिले जसरी अभिमुखीकरण गरिन्छ, यो ठीक छैन,’ उनले भने, ‘हरेक देशको आफ्नै खालको विशिष्टता छ । पेसागत हिसाबले थाहा पाउनुपर्ने कुरा अलगअलग छन् । यी सबैलाई समेट्ने तालिम दिनुपर्छ ।’


दूतावासले जागरण कार्यक्रम चलाए पनि पर्याप्त छैन । ‘हामीले श्रमिकको स्वास्थ्य परीक्षण गर्दै आइरहेका छौं,’ ओमनका लागि राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘श्रमिकहरू गन्तव्य मुलुकमा आउने बेलामै आवश्यक सूचना दिन जरुरी छ । यता सबै श्रमिक रहेको ठाउँमा पुग्न जटिल छ ।’


श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई जोखिमयुक्त बनाउन कार्ययोजना बनाएर सुधार गरिरहेको बताए । ‘श्रमिकको जीवन सुरक्षित बनाउन हामीले गन्तव्य देशका सरकारसँग नजिकबाट काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले त श्रम सम्झौतालाई नै परिमार्जन गर्नेदेखि नयाँसग श्रम्झौता गर्ने काम भइरहेको छ ।’ उनले अभिमुखीकरण तालिमको पाठ्यक्रम परिमार्जन गरिएको बताए ।

प्रकाशित : पुस २६, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?