सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रमबाट दुईजना सोधपुछका लागि प्रहरी नियन्त्रणमा

राजकुमार कार्की

सिन्धुली — तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलत्कारको समेत आरोप लागेपछि सिन्धुपाल्चोक आश्रममा छानबिन पश्चात प्रहरी टोली यहाँ आइपुगेको हो । 

सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रमबाट दुईजना सोधपुछका लागि प्रहरी नियन्त्रणमा

प्रहरी नायब उपरीक्षक विमल कँडेलको नेतृत्वमा आइपुगेको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीको सहायतामा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादुर स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई नियन्त्रणमा लिएको हो ।


कमलामाई नगरपालिका–८ को पैरेमा करिब ४२ बिगाहा जमीनमा बम्जनको आश्रम छ । २४ बिगाहा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर यादवका अनुसार केही सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिइएको हो । विस्तृत विवरण सोधपुछपछि थाहा हुने उनको भनाइ छ ।


बोधीधर्म श्रवण संघका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार प्रहरीले केही सोधपुछका लागि भनेर लगेको छ । प्रहरीले सिन्धुली आश्रममा छानबिन सुरु गरेसँगै त्यहाँ रहेका आनी तथा मेमेहरुमा (महिलालाई आनी तथा पुरुषहरुलाई मेमे भनिन्छ) कौतुहलता छाएको छ ।


बोधीधर्म श्रवण संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङ्गका अनुसार तपस्वी बम्जन सिन्धुली आश्रममा नै रहेको र ठुलो क्षेत्र भएकाले कता बस्छन् भनेर आफूलाई समेत जानकारी नहुने बताए । उनले छानबिनमा आफूहरुले सघाउने समेत बताए । ठुलै शक्ति लागेर गुरुको बद्नाम गर्ने प्रपञ्च रचिएको र सबै कुरा समयले बाहिर ल्याउने उनको दाबी छ ।


प्रकाशित : पुस २६, २०७५ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?