कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तीनवटा नागरिकता बोक्ने ‘नटवरलाल’ को ठगी धन्दा

जनकराज सापकोटा

काठमाडौँ — टोखाको ब्रदर्स इन लिकर सप्लायर्सका सञ्चालक रामप्रसाद श्रेष्ठ त्यो दिन खुसी थिए । किनकि १८ लाख २२ हजार ४ सय २५ रुपैयाँको मदिरा एउटै व्यक्तिले किनेका थिए । ग्राहक शिवराम पौडेलले दिएको बैंकको चेक नसाटिएपछि उनको खुसी धेरै टिकेन । 

तीनवटा नागरिकता बोक्ने ‘नटवरलाल’ को ठगी धन्दा

सोही दिन त्यस्तै घटना भयो पाटनमा । निरञ्जन जोशीको सपिङ सेन्टरबाट ग्राहक रामचन्द्र शर्माले एकैचोटि तीन लाख मूल्य बराबरको टीभी किनेर बैंकको चेक दिए । चेक नसाटिएपछि जोशीलाई पनि उस्तै आपत पर्‍यो ।


भक्तपुर थिमीका गंगाराम मानन्धरको अन्डा पसलबाट साढे तीन लाखको अन्डा किनेर एक ग्राहकले चेक दिएका थिए । उनी पनि रामप्रसाद र निरञ्जनजस्तै समस्यामा परे । किनकि चेक साटिएन ।


ठगीका तीन फरक घटनामा फरक–फरक नाम गरेका ग्राहक संग्लन देखिएका थिए तर प्रहरीको अनुसन्धानबाट थाहा लाग्यो, तीन फरक–फरक नागरिकता बोकेका एक व्यक्तिले शंखलाबद्ध ठगीधन्दा चलाएका रहेछन् । नक्कली नागरिकताका आधारमा सक्कली बैंक खाता खोल्ने र रकम नभएको चेक दिएर बेपत्ता हुने उनको ठगी शैली रहेछ । प्रहरी अनुसन्धानबाट वासुदेव मैनाली, रामचन्द्र शर्मा र शिवराम पौडेल नाम भएका व्यक्ति एउटै रहेको र तीन फरक नागरिकता र त्यसैका आधारमा खोलिएका चार बैंक खाताबाट ठगीधन्दा चलाएको खुल्यो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार यी ठगले एउटै शैलीमा ४० लाखभन्दा धेरै ठगेको देखिन्छ ।


भक्तपुरका अन्डा व्यापारी राजेश श्रेष्ठबाट १ लाख र पेप्सीकोलाका डम्बर थापाको इलेक्ट्रिक सप्लायर्सबाट ३ लाख ७५ हजार पनि उनले ठग्न भ्याएका थिए । श्रेष्ठ र थापा दुवैसँग चेक त थियो तर खातामा पैसा थिएन । प्रहरीका अनुसार अहिलेसम्म ७ जना पीडित सम्पर्कमा आइसकेका छन् । बोगटीले भने, ‘पीडित अझै बढ्न सक्छन् ।’


सबै ठाउँमा यिनको ठग्ने एउटै शैली रहेको प्रहरी भनाइ छ । ठाँटबाँटसहित पसलमा जाने । लाखौंको सामान उठाउने । चेक काट्ने र आफूलाई असल देखाउन नागरिकताको प्रतिलिपिसमेत देखाउने । प्रहरीले उनको साथबाट खोटाङ, कैलाली र काभ्रे जिल्लाबाट जारी गरिएका ३ नागरिकता फेला पारेको छ । उनले रामचन्द्र शर्माका नामबाट खोटाङबाट नागरिकता निकालेको देखिन्छ भने वासुदेव मैनालीका नामबाट कैलालीबाट र शिवराम पौडेलका नामबाट काभ्रेबाट नागरिकता निकालेको देखिन्छ । प्रहरीले उनको साथबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंको छापसहितको विवरण उल्लेख नगरिएको नागरिकताको फारमसमेत बरामद गरेको छ ।


प्रहरी उनको मोबाइल कल डिटेलको अध्ययनपछि पक्राउ गर्न सफल भएको थियो । उनले एउटा नम्बरमा बारम्बार सम्पर्क गरेको देखियो । त्यो नम्बर थियो, उनकै श्रीमतीको । प्रहरीले श्रीमतीको मोबाइल नम्बरमाथि पनि निगरानी बढायो । त्यही बेला थाहा भयो, त्यो नम्बर यिनकै नागरिकता राखेर निकालिएको रहेछ । त्यसपछि मात्रै प्रहरी निष्कर्षमा पुग्यो रामचन्द्र, वासुदेव र शिवराम एउटै व्यक्ति हुन् । डीएसपी बोगटीले भने, ‘यिनले निकै चतुर शैलीमा ठगी धन्दा चलाएको देखियो ।’


ठगी धन्दाका यी नाइकेले एउटा पसलबाट उठाएको सामान अरू पसलमा लगेर वा खुद्रा रूपमै बेच्ने गरेको देखियो । प्रहरीले नारायणटारमा एउटा गोदामै बनाएर उनले सामान थुपारेको फेला पारेको छ । प्रहरी परिसर बुढानीलकण्ठले उक्त गोदाममा सिलबन्दी गरेको छ ।


प्रकाशित : पुस २६, २०७५ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?