तीन स्थानीय तहमा पृथ्वी जयन्ती बिदा

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा कटौती गरेको भए पनि राप्रपाले जितेका स्थानीय तहले बिदा दिने निर्णय गरेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका, झापाको कचनकवल गाउँपालिका रधादिङको रुबीभ्याली गाउँपालिकाले बिदा दिएका हुन् ।

रापपाका महामन्त्री तथा झापा ३ का प्रतिनिधिसभा सांसद राजेन्द्र लिङदेनले राप्रपाले बहुमत प्राप्त गरेका नगरपालिका र गाउँपालिकामा बिदा दिने व्यवस्था मिलाउन पार्टीको केन्द्रीय समितिले निर्देशन दिएको बताए । बाँके, झापा र धादिङका स्थानीय तहको निर्णयले आफूसहित हिन्दु अधिराज्य पक्षधर शक्तिलाई उत्साहित बनाएको उनले प्रतिक्रिया दिए ।

झापाकै हल्दिबारी र गौरीगन्ज गाउँपालिकामा पनि बिदा गर्न केन्द्रले निर्देशन दिएको तर बहुमत नपुगेका कारण निर्णय हुन नसकेको उनले बताए । स्थानीय तह निर्वाचनमा दुवै गाउँपालिकाको अध्यक्ष राप्रपाले जितेको थियो । ‘पृथ्वीनारायणले एकता नगरेको भए आज नेपाल रहँदैनथ्यो,’ उनले भने, ‘सरकारले बिदा नदिए पनि हामी उत्सवका रूपमा मनाउँछौं ।’

नेपालगन्ज उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा नगर कार्यपालिकाका कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायतमा बिदा दिइने उल्लेख छ । पृथ्वी जयन्तीको अवसरमा शुक्रबार बागेश्वरी पार्कदेखि मोटरसाइकल र्‍याली निकाल्ने र त्रिभुवन चोकमा विसर्जन गर्ने कार्यक्रम छ ।

कोहलपुरमा मोटरसाइकल परिक्रमा गर्ने र बेलुका चोक–चोकमा पृथ्वीनारायण शाहको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उपमहानगर प्रमुख डा. धवलशमशेर राणाले बताए । ‘यो देशमा थुप्रै पर्वमा बिदा दिइन्छ तर राष्ट्रको एकता गर्ने महान् व्यक्तित्वको सम्मान छैन,’ उनले भने, ‘अरू राजनीति गर्छन्, हामीले देश चलाउनुपर्छ ।’

कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलमले बाइसी चौबिसी राज्यलाई एकीकरण गर्न पृथ्वीनारायण शाहले गरेको योगदानको स्मरण गर्दै बिदा दिने निर्णय भएको बताए । सबै जनप्रतिनिधिको सहमतिमा बिदाको निर्णय भएको उनले जानकारी दिए । मंगलबार सम्पन्न गाउँसभा बैठकमा अध्यक्ष आलमले राखेको बिदा दिने प्रस्तावको बहुमत सदस्यले समर्थन गरेका थिए । ‘मैले बिदाको कुरा उठाएँ, नेकपा र कांग्रेसका सदस्य साथीले पनि समर्थन जनाए,’ उनले भने ।

प्रकाशित : पुस २७, २०७५ ०७:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेलम्ची गुलजार

विमल खतिवडा, अनिश तिवारी

मेलम्ची, सिन्धुपाल्चोक — काठमाडौंतिर सोहोर्‍याउन आम्बाथाङमा मेलम्ची खोला थुनेपछि पनि पानी सुक्नेछैन । त्यस बाँधस्थलदेखि १७ किलोमिटर तल खोलाकै नामबाट चर्चित बजार भने अहिल्यै धक फुकाएर गुल्जार भएको छ । 


सशस्त्र द्वन्द्व सकिएपछि तङ्ग्रन थालेको कुनै बजार भूकम्पपछि चम्किएको हेर्नु छ भने मेलम्ची बजार उदाहरण हो । खासमा यो मेलम्ची र इन्द्रावतीको दोभान हो जहाँबाट इन्द्रावती दोलालघाट पुगेर सुनकोसीमा मिसिन अविरल बग्न पाउँदैन । मेलम्ची मिसिएको इन्द्रावतीलाई बग्रेल्ती बालुवाखानी र क्रसर उद्योगले बिरूप पारिदिएका छन् ।

मेलम्ची स्थानीय हयोल्मो भाषाको मिलिमचम भन्ने शब्दबाट बनेको हो । यो खोलाको मुहान भने काठमाडौंतिर सुरुङ सोझयाउने बाँधभन्दा माथि छ । मेलम्चीको आसले काठमाडौंको तिर्खा बढाएसँगै मुहान क्षेत्र भ्रमणमा आउनेहरूका कारण आन्तरिक पर्यटन पनि फस्टाएको छ ।

बरु बजारमै खानेपानीको समस्या छ । नजिकै खोलो बगेको छ, पानी गाउँतिरको मुहानबाट ल्याइएको छ ।अहिले बजारमा जग्गा किन्न पाइँदैन । छेउछाउतिर पनि मूल्य अकासिएको छ । ‘मेलम्ची काठमाडौंको न्युरोडजस्तै व्यस्त बनेको छ,’ मेलम्ची नगरपालिकाका मेयर डम्बरअर्याल भन्छन् ।

सशस्त्र द्वन्द्वपछि मेलम्ची बजार यस भेगको केन्द्रका रूपमा चम्किन थाल्यो । गाउँगाउँबाट बसाइँ सरेर आउने थपिए । बैंक तथा वित्तीय संस्था भित्रिए । तिनले ऋण दिएर स्थानीयलाई घर बनाउन प्रेरित गरे । कच्ची घर ढले । पक्की ठडिए ।

स्थानीय तन्नेरी प्रकाश दाहालले ८ वर्ष पत्रकारिता गरे । जेनतेन खर्च धानिन्थ्यो । व्यापारमा हात हाले । बजारको व्यस्त ठाउँमा निर्माण सामग्रीको पसल खोले । भूकम्पले बजारका आधाउधी घर भत्काइदियो । त्यसयता सबैभन्दा बढी माग जस्तापाता, सिमेन्ट र फलाम हुन थाल्यो । ‘पसल सोचेभन्दा राम्रो चलेको छ,’ उनी भन्छन् । बजारमा उनका जस्तै १० वटा हार्डवेयर पसल छन् ।
बजारका दुवै पंक्तिमा पक्की घर ठडिएका छन् । मेयर अर्याललाई सिन्धपाल्चोकभरिको ठूलो बजार होला भन्ने लागेको थिएन । २०३४/३५ सालसम्म १०/१२ वटा छाप्रादेखेका उनी भन्छन्, ‘सडक आएपछि सबैथोक बदलियो ।’

आसपासका गाउँहरूको पनि यही पायक परेको छ । इन्द्रावती, थाङपाल पाँचपोखरी, हेलम्बु र मेलम्ची भनिने खोलाको सिरानतिरका गाउँदेखि स्थानीयवासी किनमेल गर्न आउँछन् । ‘तातोपानी नाका बन्द भएपछि भीड हुने बजार मेलम्ची हो,’ अर्याल भन्छन्, ‘व्यापारिक नाकाका रूपमा पो विकास भइरहेको छ ।’

बजार चारैतिर फैलिएको छ । अर्यालका अनुसार द्वन्द्व सकिएलगत्तै बैंक आएपछि बजार फैलिनसघाउ पुग्यो ।

भूकम्पमा मेलम्चीका मात्रै १० हजार घर भत्किएपछि काठमाडौं पलायन भएका स्थानीयवासी अहिलेसम्म फर्किसकेका छन् । भत्किएका ५० प्रतिशत घर बनिसके, बाँकी बन्ने क्रममा छन् । १३ हजार नयाँ घर बन्दै छन्, पुराना २ हजार छन् । सेना, नेपाल प्रहरी र सशस्त्रको कार्यालय छ । ‘जति घर बन्छन्, ती सबैमा भाडा लाग्छ,’ मेयर अर्याल भन्छन्, ‘देशीविदेशी संस्था पनि सक्रिय छन् ।’
जिल्ला सदरमुकाम चौताराबाट ३३ किलोमिटर पश्चिम पर्ने यस नगरपालिकाबाट मात्र वार्षिक करिब १५ करोडको धान काठमाडौं जान्छ । अर्याल भन्छन्, ‘धान बेचेर चामल किन्ने प्रवृत्ति बढेको छ ।’

त्यस्तै नगरपालिकाबाट मासिक झन्डै साढे २ करोडको दूध काठमाडौं पठाउने गरिएको छ । कोदो राम्रो फल्छ, यहीँ खपत हुन्छ । ‘लेखपढ गर्न जान्नेहरू कृषि कर्मको सट्टा व्यापारव्यवसायमा आकर्षित भएका छन्,’ उनी भन्छन् ।

बजारमा लजसहितका १७ वटा होटल छन् जसमध्ये धेरै साना स्तरका छन् । १ सय ६८ दशमलव १७ वर्गमिटर क्षेत्रफलमा फैलिएको मेलम्ची नगरपालिकामा ०६८ सालको जनगणनाअनुसार ४५ हजार जनसंख्या छ । साबिकका ११ वटा गाविस मिलेर नगरपालिकामा अहिले १३ वडा छन् । नगरपालिकाभित्र ७० वटा सामुदायिक, ५ वटा निजी विद्यालय र २ वटा क्याम्पस छन् । ११ वटा स्वास्थ्यचौकी, ३ वटा सहरी स्वास्थ्य केन्द्र र एउटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । छाला, ढाका बुनाइलगायत साना उद्योग १७ वटा छन् ।

काठमाडौंबाट साँखु–जहरसिंह पौवा हुँदै ४० किमि दूरी छिचोलेर मेलम्ची पुग्न सकिन्छ ।

स्थानीय अगुवा शिवराम भट्टराईले सम्झेसम्म गाउँगाउँबाट चाडबाड, विवाह, व्रतबन्धका सामान किन्न ४४ किलोमिटर टाढा काभ्रेको बनेपा पुग्नुपथ्र्यो । ‘सबै सुविधा यहीँ पाएपछि किन जानुपर्‍यो बनेपा ?’ उनी भन्छन् ।

प्रकाशित : पुस २७, २०७५ ०७:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT