कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कामदार लैजाने सम्झौता गर्न जापानी टोली आउने

काठमाडौँ — जापान सरकारले नेपाली कामदार लैजानेबारे सम्झौता गर्न चाँडै वार्ता टोली पठाउने भएको छ । जापानी विदेशमन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री केपी ओलीसँगको भेटमा टोली खटाइने जानकारी गराएका हुन् ।

कामदार लैजाने सम्झौता गर्न जापानी टोली आउने

नेपाल र जापानबीच सरकारी तहबाटै कामदार पठाउने सम्झौताको तयारी भइरहेको छ ।


विदेशमन्त्री कोनोले जापानमा बर्सेनि करिब ५ लाख जनसंख्या घटिरहेको र काम गर्नेको संख्यामा पनि गिरावट आएकाले विदेशी कामदार आपूर्ति गर्न लागेको जानकारी दिए । जापानले हालै कामदार लैजाने नौवटा मुलुकको सूचीमा नेपाललाई पनि राखेको छ । ‘कामदार आयात गर्ने मुलुकमा नेपाललाई पनि छानेका छौं, त्यसका लागि वार्ता गर्न जापानी टोली आउँछ, त्यसपछि सहमति हुन्छ र नेपाली कामदार जापान जान पाउँछन्,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले कानोलाई उद्धृत गर्दै भने ।


जापानले नेपालको कृषि प्रविधि आधुनिकीकरणमा पनि सघाउने आश्वासन दिएको छ । जापानको कृषि प्रविधि उच्चस्तरको मानिन्छ । त्यसमा विदेशमन्त्री कोनोले कस्तो र कुन सहयोग कसरी गर्न सकिन्छ भन्ने बुझ्न जापानी टोली पठाउने प्रतिबद्धता जनाएका छन् ।


पराराष्ट्र मन्त्रीस्तरमा सिधा हवाई उडानलगायत सहमति भएपछि बिहीबार विदेशमन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा नागढुंगा सुरुङमार्ग, कोटेश्वर–सूर्यविनायक सडकलगायतमा सहयोग गर्ने कुरा भएको थियो ।


कोनोले नेपालको शान्ति प्रक्रिया सफल भएको र राजनीतिक स्थायित्व पनि कायम भएकाले लगानीको वातावरण बनेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले बिमस्टेक तथा सार्कजस्ता क्षेत्रीय संगठनलाई अझै सुदृढ बनाएर लैजाने सुझाव दिए । यसका लागि सघाउन तयार रहेको उल्लेख गरे । नेपाल रणनीतिक विन्दुमा रहेकाले यहाँ हुने शान्ति र स्थायित्वले क्षेत्रीय हितलाई सहयोग पुर्‍याउने धारणा विदेशमन्त्री कोनोले प्रधानमन्त्रीसँग राखेका थिए ।


ओलीले विशेष गरी जापानले नेपालको विकासमा महत्त्वपूर्ण सहयोगी मुलुकका रूपमा काम गरिरहेको भन्दै प्रशंसा गरे । आगामी दिनमा सम्बन्ध सुदृढ पार्दै थप सहयोगको अपेक्षासमेत गरिरहेको ओलीले जनाए । बुधबार दिउँसो नेपाल आएका विदेशमन्त्री कोनोले नेपाल–जापान सिधा हवाई उडान, दुईपक्षीय परामर्श बैठक आयोजनालगायत विषयमा हस्ताक्षर गरेका थिए । समकक्षी प्रदीप ज्ञवालीसँगको भेटपछि बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर विदेशमन्त्री कोनो स्वदेश फर्केका छन् ।

प्रकाशित : पुस २७, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?