काबेली करिडोर निर्माणमा अवरोध

विप्लव भट्टराई

इलाम — पूर्वी पहाडी जिल्लामा उत्पादित विद्युत्‌लाई केन्द्रीय प्रसारणमा जोड्ने काबेली करिडोर निर्माण अन्तिम चरणमा पुगे पनि वनका कारण अवरोध पुगेको छ ।

काबेली करिडोर निर्माणमा अवरोध

अधिकांश काम सक्न लागेको आयोजनामा निर्माणमा पाँचथरको जोरसाल र तेह्रथुमको अठाराईमा समस्या भएको हो । यी क्षेत्रमा रूख कटान गरी आयोजना निर्माणलाई सहज बनाउन मन्त्रिपरिषद्ले गत मंसिर १० गते निर्णय गरेको थियो । तर सम्बन्धित जिल्लाका वन कार्यालयले कार्यान्वयन गर्न ढिलाइ गर्दा आयोजनाको काम प्रभावित भएको हो ।


आयोजनाको दोस्रो खण्डअन्तर्गत पाँचथरको जोरसालमा ६ सय २२ वटा र पाँचथरकै हिलिहाङ गाउँपालिका पिनासेमा ५३ रूख काट्नुपर्छ । यी रूख सामुदायिक र सरकारी वनमा छन् । त्यस्तै तेह्रथुमको आठराईमा करिब १ सय रूख काट्नुपर्छ । निजी वनमा सालका रूख भएकाले पनि झन्झट थपिएको हो ।


‘वनको अवरोध हटे १ महिनामा सबै काम पूरा हुन्छ,’ आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले भने, ‘तर मन्त्रिपरिषद्ले निर्णय गरे पनि सम्बन्धित कार्यालयबाट कार्यान्वयन नहुँदा समस्या छ । निर्माण सुरु भएको १२ वर्षपछि १३२ केभीए विद्युत् प्रसारण लाइन सम्पन्न हुन लाग्दा आयोजनाले यो अवरोध खेप्नुपरेको हो । यसअघि पनि राइट वेको झन्झट, ठेकेदारको ढिलासुस्ती, वन कार्यालयसँगको समन्वय अभाव र प्रसारण लाइनका ठाउँठाउँमा आएका विवादका कारण आयोजना अवधि लम्बिएको हो ।


अवरोध भएको क्षेत्रमा केही टावर निर्माण भइसकेका छन् भने अधिकांशको फाउन्डेसन तयार भएको आयोजनाको भनाइ छ । आयोजनामा तार टाङ्न रूख कटान नहुँदा अवरोध पुगेको द्विवेदीको भनाइ छ । निर्माण प्रक्रिया सुरु भएको १२ वर्षमा आयोजना निर्माणको काम सम्पन्न हुन लागेको हो । निर्धारित समयमा काम सम्पन्न नभएपछि ४ पटक म्याद थपेर आयोजनाको कामलाई पूर्णता दिन लागिएको हो । चौथोपटक थपिएको म्याद पनि अर्को महिना सकिँदै छ ।


३ खण्डमा विभाजन गरी ९० किमि डबल सर्किट लाइन निर्माण अघि बढाइएको हो । आयोजनाको पहिलो खण्ड झापाको लखनपुरदेखि इलामको गोदकसम्मको काम २ वर्षअघि पूरा भएको हो ।


पहिलो खण्डमा करिडोर सञ्चालनमा आइसकेको छ । इलाममा उत्पादित विद्युत् करिडोरको गोदकस्थित सबस्टेसनबाट केन्द्रीय लाइनमा पुर्‍याइएको छ । इलामको सोयाकदेखि पाँचथरको थापाटारसम्मको दोस्रो खण्डको काम पूरा हुन बाँकी छ । मुआब्जा विवाद र रूख कटान आदेश ढिलो पाएपछि यो खण्डको कामले गति लिन नसकेको हो । अहिले विवाद समाधन भएकाले काम अघि बढेको छ । देउमाई नगरपालिका ७, सिद्धिथुम्कामा स्थानीयको अवरोधले ११ टावर बन्न ढिलाइ भएको थियो । त्यस्तै इलामकै चमैता खण्डमा पनि ५ टावर निर्माणमा अवरोध थियो ।


पाँचथरको थापाटार र अमरपुरको दुबीचौरसम्मको पोल निर्माण गर्ने काम अन्तिम चरणमा छ । तीनवटै खण्डमा प्रसारण लाइनका लागि सबस्टेसन निर्माणको काम २ वर्षअघि नै सकिएको छ । विश्व बैंकको २ अर्ब ५८ करोड लगानीमा करिडोर निर्माण थालिएको हो । करिडोर निर्माणका लागि २०६३ मा नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको थियो । सम्झौता भएदेखि नै करिडोरको काम सुस्त गतिमा अघि बढेको हो । चौथोपटक थपिएको समय सकिन लाग्दा ९५ प्रतिशत काम पूरा भएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।


झापाको लखनपुरदेखि इलामको गोदकसम्म ३४ किमि काम यसअघि नै पूरा भएको हो । यो खण्डमा मात्र आयोजना निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा पूरा भएको थियो । राजनीतिक अवस्था, ठेकेदारको लापरबाही, भौगोलिक विकटता, राइट अफ वेको विवादले आयोजनाको निर्माण अवधि लम्बिँदै गएको हो ।


विश्व बैंकको २ अर्ब ५८ करोड ४० लाख रुपैयाँ सहयोगमा आयोजना निर्माण सुरु भएको हो । आयोजना निर्माण सुरु भएको छैटौं वर्ष पार गरिसक्दा पनि निर्माण नसकिएपछि गत वर्ष विश्व बैंकले निर्माणबाट हात झिकेको थियो । प्रसारण लाइनअन्तर्गत दमकदेखि पाँचथरको अमरपुरसम्म ९० किमिमा १ सय ३२ केभी डबल सर्किट लाइन निर्माण हुनेछ ।


आयोजनाअन्तर्गत झापाको लखनपुर, इलामको गोदक, पाँचथरको फिदिम र अमरपुरमा सबस्टेसन निर्माण भएका छन् । काबेली करिडोर निर्माण थालेलगत्तै इलाम, पाँचथर र झापामा दर्जनौं निजी क्षेत्रको लगानीमा विद्युत् आयोजना निर्माण थालिएको हो ।

प्रकाशित : पुस २७, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?