२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जग्गा दर्तामा हाकाहाकी ‘घूस’

पाल्पा — नापी र मालपोत कार्यालयमा काम गर्दा लेखनदासमार्फत अतिरिक्त खर्च बुझाउनुपर्ने सर्वसाधारणले बताएका छन् । रकमबिना काममा ढिलाइ हुन्छ । लेखनदासको चहलपहल र दौडधुपले यस्तै देखाउँछ ।

कर्मचारीलाई अतिरिक्त रकम नबुझाउँदा १५ पटकसम्म सेवाग्राहीलाई फर्काएको पाइएको छ । भूमि सुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गतको विशेष नापी कार्यालयका फिल्डमा खटिएका कर्मचारीले ‘घूस’ लिएर मात्र काम गरिरहेको सेवाग्राहीले गुनासो गरे ।


जग्गा दर्ता, नापजाँच गर्ने क्रममा रकम माग्ने गरेको बगनासकाली गाउँपालिका १, चिर्तुङधाराका बलबहादुर गाहा बताउँछन् । ‘जनताले दु:ख पाएका छन्,’ उनले भने, ‘१/२ पटक मात्र होइन, १० पटक भन्दा बढी आउनुपरेको छ ।’ यस विषयमा उनले पूर्वमन्त्री, जिल्लाका नेतालाईसमेत जानकारी गराएको बताए । उनको १ रोपनी ५ आना पर्ती जग्गामा लगेर राखिएको छ । गाउँमा कतिपयको जग्गा नक्सामै छैन । नापीको टोलीले जग्गा मिलाउने र पुन: नापनक्सा गर्ने भन्दै प्रतिव्यक्ति ५ हजार रुपैयाँदेखि अतिरिक्त खर्च लिने गरेको सेवाग्राहीको आरोप छ ।


चिर्तुङधारा सन्ढापका रामबहादुर आलेले आफ्नो जग्गा मिलाइदिन ५ हजार रुपैयाँ दिएको बताए । स्थानीय सूर्यबहादुर थापा र उनका भाइसँग बिनारसिद ६/६ हजार रुपैयाँ अतिरिक्त रकम लिएको बताए । यस विषयमा गुनासो गर्न चिर्तुङधारास्थित चिलाङदीका २० बढी सर्वसाधारण विशेष नापी कार्यालय पुगे । उनीहरू गएपछि यस विषयमा ‘यो कसैलाई नभन्नु म मिलाउँछु’ भन्दै निमित्त कार्यालय प्रमुखले फर्काएको उनीहरू बताउँछन् । कतिपयले नगद बुझेर पनि काम नगरिदिएको बताए ।


चिर्तुङधाराका मुक्तिप्रसाद बस्यालले बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममै भने, ‘नापीका कर्मचारीले सेवाग्राहीलाई दु:ख दिने गरेका छन् । तर कसैले मुख फोर्न नसक्दा अझ दु:ख पाउने भइयो ।’ टोलीमा खटिएका अमिनले हाकाहाकी पैसा माग्ने गरेको सेवाग्राहीले बताए । स्थानीय बासिन्दाले कार्यालयमा पुगेर गुनासो राख्दासमेत यो विषय समाधान नभएको उनीहरूले बताए ।


सरकारले २०७१ मंसिर १६ बाट यहाँका सबै जग्गा डिजिटल प्रणालीमा राख्न विशेष नापी कार्यालयमार्फत कर्मचारी खटाएको छ । फिल्डमा खटिने कर्मचारीका कारण सुरुदेखि विवाद हुँदै आएको छ । गत वर्षसम्म फिल्डमा खटिने कर्मचारीको विशेष भत्ता थियो । त्यो अहिले छैन । त्यसैले पनि यस्ता अनियमितता गरेको हुन सक्ने एक कर्मचारीले बताए ।


रामपुर, कसेनी, चिदीपानी, मदनपोखरामा यस्तै अवस्था छ । नापनक्साको काम गर्दै हिंडेका कर्मचारीले स्थानीय जातको कुखुरा खुवाउन लगाउने, खाजा, नास्ता खान माग गर्दै हिंड्ने गरेको सर्वसाधारणको आरोप छ । तेल्घा, रामपुर र तानसेन नगरपालिकामा नापनक्सा भइरहेको छ । ‘वर्षौंदेखि जोतभोग गर्दै आएको र लालपुर्जा भएको जग्गालाई नापजाँच गर्दा कसरी नक्सा मिल्दैन ?’ सोमबहादुर झेडीले भने, ‘कर्मचारीले दु:ख दिएको थाहा थियो तर यस विषयलाई बाहिर ल्याएका थिएनौं ।’ माथागढी गाउँपालिकाको चिदिपानी, कसेनीका सर्वसाधारणको पनि कर्मचारीले काममा आलटाल गरेको गुनासो छ ।


बगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद बस्यालले यस्तो विषय समयमा जानकारी नपाएको बताए । ‘यस विषयमा विशेष नापीका कर्मचारीले गल्ती गरेको भेटिएको छ,’ उनले भने, ‘यस विषयमा हामी कुरा गर्छौं ।’ विशेष नापीका निमित्त प्रमुख महेश्वर कार्कीले भने गुनासो आउनासाथ कर्मचारीलाई स्पष्टीकरण सोधेको बताए ।

प्रकाशित : पुस २७, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?