कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाकाकै बुतामा सिरुबारी घरबास

स्याङ्जा — गाउँमा पाका व्यक्ति धेरै छन् । उनीहरूको पाखुराले चलेको छ पहिलो सिरुबारी घरबास (होमस्टे) । युवाहरूले यसरी गाउँ छाडेपछि घरबास बन्द होलान् भन्ने चिन्ता उनीहरूलाई छ । त्यसैले वृद्धवृद्धाले घरबासको काम समाल्दै आएका छन् । 

पाकाकै बुतामा सिरुबारी घरबास

आँधीखोला गाउँपालिका १ मा रहेको नेपालकै पहिलो ग्रामीण पर्यटकीय घरबासको क्षमता पहिलेभन्दा घटेको छ । घरबासको क्षमता घटेपछि पाहुना कम आएका छन् । ‘घरबास चलाउनेमा वृद्धवृद्धा बढी हुनुहुन्छ । युवा भनेका हामी २/४ बुहारी छौं,’ घरबास सञ्चालक उर्मिला गुरुङ भन्छिन् ।


यहाँबाट वैदेशिक रोजगारीमा जाने युवा धेरै छन् । सुविधा खोज्दै बसाइँसराइ गर्नेक्रम पछिल्लो समय बढेको छ । गुरुङ समुदायको बाहुल्य यो गाउँमा पुरुष विदेशी सेनामा भर्ती हुन गए । बेलायती सेनामा भर्ती भएका उतै बसाइँ सरे । भारतीय सेनामा काम गरेका पनि सहरी क्षेत्रतिर सरे । गुरुङ बस्ती रहेको सिरुबारीमा धेरै बेलायती सेनामा भएकाले उनीहरूका परिवार उतै सरेपछि घरबास भएका केही घरमा ताला लागेका छन् ।


घरबासमा काम गर्ने मानिसको कमी भयो । छोरीहरू विवाह गरेर गए । त्यहाँका धेरै बुहारी गाउँमा बस्न मानेनन् । त्यसपछि वृद्धवृद्धाको काँधमा घरबासको जिम्मेवारी आएको हो । युवा दसैं/तिहार र अरू विशेष अवसरमा गाउँ आउँछन्, त्यो सकिएपछि फर्कन्छन् । बाटो, घरका छाना ढुंगाले निर्माण गरिएको यो घरबास गाउँ आन्तरिक तथा बाहय पर्यटकको रोजाइमा पर्छ ।


घरबासलाई स्तरीय र पुरानो मौलिकता जोगाउने तदरुकता पहिलोजस्तो छैन । ‘ढुंगाबाहेक अन्य वस्तु प्रयोग गरिँदैन,’ स्थानीय जुमकाजी गुरुङ भन्छन्, ‘यो सिरुबारीको अर्को महत्त्व नै ढुंगा हो ।’ गुरुङ समुदायको बाहुल्य यस क्षेत्रमा गुरुङ संस्कृति झल्किने खानपान, कला संस्कृतिले पर्यटकलाई स्वागत गर्छ ।


घरबासको संख्या घटेको भए पनि आन्तरिक तथा बाहय पर्यटक आइरहेका छन् । घरबासको क्षमता धान्ने पर्यटक अहिले पनि आउँछन् । सिरुबारी पर्यटन व्यवसायी समितिका जुम गुरुङले घरबासको घर संख्या बढेमा पर्यटक बढ्ने बताए । ‘१ सय ५० जना क्षमता रहेका बेला ४ हजार ५ सय आन्तरिक र बाहय पर्यटक वार्षिक आउने गर्थे,’ गुरुङले भने, ‘६० जनाको क्षमता हँुदा वार्षिक २ हजार २ सयदेखि २ हजार ५ सय पर्यटक आउने गरेका छन् ।’ उनका अनुसार गत वर्ष करिब २ हजार ५ सय पर्यटक सिरुबारी गएका थिए ।


‘सिरुबारी उत्कृष्ट पर्यटकीय क्षेत्र हो, त्यहाँ गएपछि नरमाउने पर्यटक हुँदैनन्,’ जिल्ला पर्यटन विकास समिति उपाध्यक्ष अनन्त श्रेष्ठ बताउँछन् । समुद्र सतहभन्दा १७ सय मिटर उचाइमा रहेको सिरुबारी ‘ढुंगेगाउँ’ का रूपमा पनि चिनिएको छ । २०५४ मा १ सय ५० जनाको क्षमताबाट सुरु गरिएको घरबासमा अहिले ६० मा झरेको छ । हाल २२ घरमा मात्र घरबास सञ्चालनमा रहेको आमा समूहकी अध्यक्ष मैना गुरुङ बताउँछिन् ।


क्षमता घटेसँगै उनीहरूको आम्दानी पनि घटेको छ । ‘थोरै घरमा पाहुना राख्ने भएपछि आम्दानी पनि घटेको छ,’ उनले भनिन् । घरबास सञ्चालन गर्दै आएकी उर्मिलाले युवापुस्ता नबसेकाले पहिलेकै क्षमतामा राख्न नसकेको बताइन् । ‘युवा नभएपछि पहिले गरिरहेको काम भन्दै वृद्ध आमाहरू कस्सिनु हुन्छ,’ उनले भनिन्, ‘पाहुना दिनहुँ आउनुहुन्छ । हाम्रो सेवामा कुनै कमी छैन ।’ उनले युवा मात्र नभई पुरुष मान्छे गाउँमा नै रहने हो भने घरबासको क्षमता बढाउन सक्ने बताइन् ।


त्यसो त सिरुबारीमा आवश्यक उपभोग्य वस्तुको उत्पादन पहिलेजस्तो छैन । ‘सकेसम्म घरबासमा स्थानीय उत्पादन प्रयोग हुन्छ । नपुगेको स्याङ्जा सदरमुकाम र पोखराबाट ल्याइन्छ,’ स्थानीय गुरुङले भनिन्, ‘पहिलेजस्तो सबै कुरा लोकल उत्पादन राम्रो छैन ।’


सिरुबारी जान पक्की बाटो छ । वर्षामा आँधीखोलाले छेक्छ, त्यहाँ पनि मोटर चल्ने पक्की पुल बन्दै छ । ‘सिरुबारी जान सजिलो छ, खोलामा पुल बन्दै छ, अब झन् सजिलो हुन्छ,’ आँधीखोला गाउँपालिका अध्यक्ष सुधीर पौडेलले भने । सिरुबारी जान सदरमुकाम पुतलीबजारबाट २८ किमि टाढा छ ।

प्रकाशित : पुस २७, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?