कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई: प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन् ।  

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई: प्रधानमन्त्री

२९७ औं पृथ्वी जयन्तिका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताए । ‘उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रुपमा विश्व मानचित्रमा नेपाल उभ्भिनै सक्ने थिएन,’ प्रधानमन्त्रीले भनेका छन्, ‘राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रुपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने पनि थिएन ।’


प्रधानमन्त्री ओलीले नेपाली जातिको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै शाहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘उहााले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, साास्कृतिक लगायतका अनेक विविधताका बीच मजबूत एकताको आधार तयार गर्नुभयो,’ शुभकामना सन्देशमा भनिएको छ, ‘अनेकताबीचको एकताको गौरवमय परम्पराको विजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो । आज अनेकता बीचको एकता नेपालको पहिचान बनेको छ ।’


संसारका अधिकांश देश उपनिवेशवादको चंगुलमा परेकाबेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।


मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मान सहितको समतामूलक समाज सुनिश्चित गरेको बताए । ‘हामी राज्य सञ्चालनका आधुनिक लोकतान्त्रिक विधि अनुरुप अघि बढिरहेका छौं । आजको युगमा अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानका आधार हुन्,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ ।

प्रकाशित : पुस २७, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?