२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपाल–भारतबीचका समस्या संवाद र सहकार्यबाटै सुल्झाउन सकिन्छ– परराष्ट्रमन्त्री ज्ञवाली

नयाँ दिल्ली — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीच वर्षौदेखि केही समस्याहरु रहे पनि तिनलाई निरन्तर संवाद र सहकार्यबाट सुल्झाउन सकिने विश्वास व्यक्त गरेका छन् । 

नेपाल–भारतबीचका समस्या संवाद र सहकार्यबाटै सुल्झाउन सकिन्छ– परराष्ट्रमन्त्री ज्ञवाली

शुक्रवार बिहान नयाँदिल्लीस्थित नेपाली दूतावासमा भारतीय सञ्चारकर्मीहरुसँगको भेटमा मन्त्री ज्ञवालीले त्यस्तो धारणा राखेका हुुन् । ‘समस्या नभएका होइनन् । तिनलाई रातारात सम्बोधन गर्न सम्भव हुँदैन । निरन्तरको सहकार्य र संवादबाटै सुल्झाउन सकिन्छ,’ मन्त्री ज्ञवालीले भने ।


त्यसैगरी सन् १९५० को सन्धी लगायतका नेपाल र भारतबीच रहेका दुईपक्षीय विषयहरुका सम्बन्धमा सुझाव दिन गठित प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयन हुनेमा नेपाल ढुक्क रहेको परराष्ट्र मन्त्री ज्ञवालीले विश्वास गरेका छन् ।


गत असारमै टुंगो लागे पनि ईपीजी प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइ प्रति सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री ज्ञवालीले चाँडै नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्ने र कार्यान्वयनमा जानेमा आफू ढुक्क रहेको जवाफ दिएका थिए । ‘नेपाल र भारत सम्बन्धलाई परिवर्तित सन्दर्भमा नयाँ आयाम दिने उद्देश्यका साथ ईपीजीको गठन निकै सुझबुझ र विवेकपूर्ण ढंगले गरिएको हो त्यसैले यसको कार्यान्वयन हुनेमा कुनै शकां छैन,’ मन्त्री ज्ञवालीले भने ।


तर, उनले भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन कहिले बुझ्दैछन् भन्ने प्रश्नमा भने कुनै ठोस जवाफ दिएनन् । नेपाल र भारत ईपीजी समूहले गत असारमै संयुक्त प्रतिवेदन तयार पारे पनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझ्न समय नदिँदा त्यसको कार्यान्वयनलाई लिएर आंशका व्यक्त हुन थालेको छ ।


त्यसैगरी मन्त्री ज्ञवालीले नेपाल दक्षिण एसियाली सहयोग संगठन (सार्क) लगायतका बृहत क्षेत्रिय सहकार्यको पक्षमा रहेको समेत बताएका छन् । सार्कको वर्तमान अध्यक्षका हैसियतले नेपाल सधैँ सार्कलाई अगाडि बढाउने पक्षमा रहेको र सदस्य राष्ट्रबीच देखिएका मतभिन्नता र विवादलाई वार्ताद्वारा समाधान गर्न सकिने कुरामा पनि विश्वस्त रहेको जनाएका छन् । ‘नेपाल आपसी मतभेद वार्तामार्फत् हटाउन सकिन्छ भन्नेमा विश्वास राख्छ तर त्यसका लागि सामूहिक पहलको आवश्यक छ,’ ज्ञवालीले भने ।


‘जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोगं उन सिंगापुरमा भेट्न सक्छन् भने वार्ताबाट निकास ननिस्कने भन्ने कुरै छैन,’ ज्ञवालीले भारत र पाकिस्तानबीच अविश्वास र कुटतापूर्ण सम्बन्धतर्फ इंगित गर्दै भने ।


मन्त्री ज्ञवालीले बिहीबार भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँगको भेटमा समेत आफूले सार्कका विषयमा चासो राखेको बताए । विदेशमन्त्री स्वराजले सार्कका विषयमा भाारत अझै पनि वातावरण अनुकूल भइसकेको दोहोऱ्याएको समेत मन्त्री ज्ञवालीले बताए । भारत र पाकिस्तानबीचको आपसी तनावका कारण सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा प्रस्तावित १९ औं सार्क सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो । दुई वर्ष बितिसक्दा पनि सार्क सम्मेलनको भविष्यलाई लिएर अन्यौल कायम छ ।


मन्त्री ज्ञवाली राइसिना डायलगको चौथो सस्करणमा सहभागी हुन आएका हुन् । भारतीय विदेशमन्त्री स्वराजसँग भेटलगत्तै मन्त्री ज्ञवालीले दिल्लीस्थित ताज प्यालेस होटलमा मंगलबारदेखि जारी राइसिना डायलगलाई सम्बोधन गरेका थिए । मन्त्री ज्ञवालीले शुक्रबार अपरान्ह नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरुसँग अन्तक्रिया गर्ने कार्यक्रम छ । ज्ञवाली शुक्रबार साँझै काठमाडौं फर्कँदै छन् ।

प्रकाशित : पुस २७, २०७५ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?