जमिन कित्ताकाट खुल्यो 

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले कृषियोग्य जमिन खण्डीकरण गर्न खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिइन् ।

कृषियोग्य जमिन कित्ताकाट र बिक्रीवितरणमा गत वर्ष लगाइएको प्रतिबन्ध मन्त्री अर्यालले उल्ट्याएकी हुन्।

२०७४ साउन २६ मा भूमिसुधार तथा व्यवस्थामन्त्री स्तरीय निर्णयले मुलुकभर कित्ताकाटमा रोक लगाएको थियो । एक आर्थिक वर्षमा जुनसुकै प्रकारको जग्गा भए पनि एक पटकभन्दा बढी कित्ताकाट गर्न नपाइने निर्णय भएको थियो । उक्त निर्णयलाई तत्काल कार्यान्वयन नगर्न/नगराउन भन्दै २०७४ भदौ १ मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

तर, २०७४ फागुन २ गते अन्तरिम आदेशलाई बदर गर्दै मन्त्रालयले गरेको निर्णयलाई सर्वोच्चले सदर गरेको थियो ।

प्रकाशित : पुस २७, २०७५ १५:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जनप्रतिनिधि नै छाउ बार्छन्

बझाङबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने आशा विक महिनावारी भएको बेला घरभित्रै बसे पनि भान्सा र धारा छुन पाउँदिनन् । छाउप्रथा हटाउन क्रियाशील महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशी छाउ बार्छिन् । अछामको मंगलसैन नगरपालिकाकी उपप्रमुख सरिता उपाध्याय महिनावारी हुँदा अलग्गै कोठामा बस्छिन् ।
वसन्तप्रताप सिंह, मेनुका ढुंगाना

बझाङ/अछाम — मुलुकी अपराध संहिताले महिनावारी भएका बेला गरिने विभेदलाई अपराध मानेको छ । यो कुप्रथा हटाउन लाग्नुपर्ने मुख्य दायित्व बोकेका अछाम र बझाङका महिला जनप्रतिनिधि, अधिकारकर्मी र शिक्षिकाले नै छाउ बार्ने गरेका छन् ।


बझाङबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने आशा विक महिनावारी भएका बेला घरभित्रै बसे पनि भान्सा र धारा छुने छुट छैन। घरभित्र बस्न पनि उनले थुप्रै संघर्ष गर्नुपर्‍यो। ‘सासूससुराले मान्दै मान्नुभएन, छाउ भएका बेला छोएर घर बिगारी भनी गाली गर्नुभयो,’ उनले भनिन्, ‘निकै सम्झाएपछि आफ्ना कोठामा सुत्नसम्म थालेकी छु।’

स्थानीय तहका महिला जनप्रतिनिधिले विकले जति घरभित्र बस्ने आँटसमेत गर्न सकेका छैनन्। ‘मर्ने बेला भएका बूढाबूढीको चित्त के दुखाउनु जस्तो लाग्छ, त्यही भएर छाउगोठमै बस्ने गरेकी छु,’ बझाङको थलारा गाउँकार्यपालिकाकी सदस्य निर्मला विष्ट भन्छिन्, ‘उहाँहरू (सासूससुरा) को शेषपछि हाम्रो घरमा पनि यो प्रथा रहँदैन।’ उनले आफूहरूले महिनावारी नबारेको थाहा पाए बूढाबूढी चिन्ताले बिरामी पर्ने बताइन्।

बझाङमा छाउप्रथा हटाउन क्रियाशील महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशी छाउ बार्छिन्। आफ्नै कोठामा सुते पनि भान्छासम्म पस्न आँट नगरेको उनले बताइन्। ‘महिनावारी भएको बेला बरु होटलमा खाना खाने गरेका छौं, लामो समयदेखि मान्दै आएको विश्वास एक्कासि तोड्न गाह्रो हुँदो रहेछ।’ छाउ बार्ने सम्बन्धमा उनले आफ्नो वास्तविकता बताइन्।

बझाङकी अधिकारकर्मी एवं शिक्षिका सुशीला खड्का बाध्यताले छाउ बार्नु परिरहेको बताउँछिन्। ‘विद्रोह गर्न मन लाग्छ तर यही विषयले घरमा झगडा हुन्छ,’ उनले भनिन्, ‘अरूको मन राख्न बार्ने गरेकी छु। अरूको पनि यस्तै बाध्यता होला।’

अछाममा पनि उस्तै छ। सार्वजनिक पद धारण गरेका व्यक्ति नै छाउ बार्छन्। १० वटा स्थानीय तहमा १ सय ९० महिला जनप्रतिनिधि छन्। सबैले छाउ बार्छन्। जनप्रतिनिधिकै घरमा महिनावारी भएको बेला दूध, दही खान नपाउने, भान्सामा जान नपाउने चलन छ।

गत जेठमा तुर्माखाँद गाउँपालिका ४, सर्पले डसेर जयगाउँकी १८ वर्षीया पार्वती बुढाको मृत्यु भएपछि स्थानीयवासी, जनप्रतिनिधि र स्वयंसेविकालगायतले छाउगोठमा मृत्यु भएको कुरा लुकाउने सल्लाह गरे। प्रहरीले गाडेको शव चार दिनपछि निकालेर पोस्टमार्टम गरेको थियो। जनप्रतिनिधि, अगुवा यसरी संलग्न भएको र छाउ बार्ने गरेको यो एउटा प्रतिनिधि घटना हो।

मंगलसैन नगरपालिकाकी उपप्रमुख सरिता उपाध्याय महिनावारी भएका बेला अलग्गै कोठामा बस्छिन्। खाना पकाउने कोठामा जान नमिल्ने उनले बताइन्। ‘घरको छुट्टै कोठामा बस्छु, ५ दिनसम्म भान्सा छुँदिनँ,’ उनले भनिन्, ‘परम्परागत मान्यता तोड्न सकिएको छैन।’

मंगलसैन नगरपालिका ५ की वडासदस्य पारु नगार्जीले महिनावारी भएका बेला सासूससुराले घर छुन नदिने बताइन्। ‘५ दिन अलग्गै बस्छु,’ उनले भनिन्, ‘विद्रोह गरेर उहाँहरूको चित्त दुखाउन सकिँदैन।’

बान्नीगढी जयगढ गाउँपालिका ५ की वडासदस्य रतन दमाई छाउगोठमै बस्छिन्। ‘छाउ भएका बेला घरभन्दा अलि पर गोठमा बस्छु, घरमा बस्ने आँट आउँदैन,’ उनले भनिन्, ‘बिस्तारै घरनजिक बस्न सुरु गर्छु। घरभित्र बस्ने आँट छैन।’

पढाउनै जाँदैनन्

अछामको मष्टामाडौं आधारभूत विद्यालय, प्रभा डिक्रेनीमा हरेक महिनाको ५ दिन २ शिक्षिका पढाउन आउँदैनन्। मष्टो देवताको डरले महिनावारी भएका बेला उनीहरू पढाउन नआउने विद्यालयका शिक्षक झंकरबहादुर रावतले बताए।

पुर्खौंदेखि महिनावारी भएका बेला विद्यालय क्षेत्रभित्र पाइलासमेत नटेकेकाले आफू पनि नआएको शिक्षिका पशुपति बुढाले बताइन्। ‘छाउ हुँदा स्कुल गएर पढाउन कुनै पनि हालतमा सक्दिनँ,’ उनले भनिन्, ‘आउनैपर्ने भए अर्को ठाउँमा विद्यार्थी राखेर पढाउने विकल्प खोज्नुपर्छ।’

महिनावारी भएका बेला पढाउन नजानु बाध्यता भएको अर्की शिक्षिका ज्ञानु ठकुल्लाले बताइन्। ‘रोग लागे उपचार सम्भव हुन्छ, देउता लागे क्यान्सरझैं हुन्छ,’ उनले भनिन्, ‘बरु जागिर छाड्छु, छाउ हुँदा स्कुल जाँदिनँ।’ डिक्रने गाउँमा कोठा भाडा लिएर बस्ने उनले महिनावारी हुँदा माइतीघर जानुपर्ने बाध्यता रहेको बताइन्। विद्यालय नजिक मन्दिर भएकाले छात्रा पनि ७ दिनसम्म पढ्न आउँदैनन्। ‘मेडम त आउनुहुन्न, हामी कसरी आउने?’ कक्षा ५ मा अध्ययनरत ललिता बुढाले भनिन्, ‘डर लाग्छ।’

प्रकाशित : पुस २७, २०७५ १५:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT