प्रवासी नेपालीहरु विकासका साझेदार हुन् : मन्त्री ज्ञवाली

नयाँ दिल्ली — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासमा प्रवासमा रहेका नेपालीहरुको सीप, पूँजी, ज्ञान हस्तान्तरण र परिचालनले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । 

प्रवासी नेपालीहरु विकासका साझेदार हुन् : मन्त्री ज्ञवाली

शुक्रबार अपरान्ह नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजित प्रवासी नेपालीहरुसँगको भेटमा मन्त्री ज्ञवालीले विगतमा नेपाली राजनीतिक परिवर्तन अहं भूमिका निर्वाह गरेको भारतमा रहेका नेपालीहरुले अब विकासको साझेदारको भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेका छन् । ‘विगतमा नेपालमा भएका राजनीतिक परिवर्तनमा प्रवासी नेपालीहरुको साथ र सहयोग रह्यो अब विकास साझेदारको भूमिका खेल्ने बेला आएको छ’ ज्ञवालीले भने ।


मन्त्री ज्ञवालीसँग दिल्लीमा रहेका प्रवासी नेपालीहरुका विभिन्न संगठनका प्रतिनिधिले भारतमा विभिन्न क्षेत्रमा आवद्ध नेपालीहरुले भोग्दै आएका समस्या राखेका थिए । उनीहरुले सन् १९५० को सन्धिमा भएको प्रवाधानअनुसार नेपालीहरुलाई समान व्यवहार नगरिएको, आधार कार्डका कारण पेन्सन लिन कठिनाई भएको, नेपाल टेलिफोन गर्न निकै चर्को महसुल रहेको, व्यापारका सिलसिलामा भुक्तानी गर्न बैकिंग प्रणाली झन्झटिलो रहेको विषयहरुका बारेमा मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएका थिए । त्यसका अतिरिक्त भारतमा काम गरिरहेका नेपालीहरुले पनि खाडीलगायत मुलुकबाट फर्केका नेपालीहरुले जस्तै रोजगारी तथा कल्याणकारी कार्यक्रममा सहभागी हुन पाउनु पर्ने मागसमेत उठाएका थिए । जवाफमा मन्त्री ज्ञवालीले नेपाल सरकारले आवश्यक पहल गर्ने आश्वासन दिए ।

भारतबाट तेस्रो मुलुक उडान गर्दा दूतावासबाट एनओसी लिनै पर्ने व्यवस्थाका कारण नेपालीहरुले निकै सास्ती खेप्नु परेकोमा समेत प्रवासी नेपालीहरुले त्यसलाई सहज बनाउन आग्रह गरेका थिए । एनओसीको व्यवस्थाका कारण समस्या भए पनि मानवतस्करीलगायत समस्याका कारण त्यस्तो व्यवस्था गरिएको बताउँदै उनले सकेसम्म नेपालबाटै तेस्रो मुलुक उडान गर्न पनि आग्रह गरे ।

प्रवासी नेपालीहरुले विगत लामो समयदेखि उठाएको सीमामा हुने लुटपाट सम्बन्धमा मन्त्री ज्ञवालीले भारतीय पक्षसमक्ष यो विषयलाई उठाएको समेत जानकारी दिए । मन्त्री ज्ञवाली राइसिना डायलगको चौथो सस्करणमा सहभागी हुन आएका हुन् । भारतीय विदेशमन्त्री स्वराजसँग भेटलगत्तै मन्त्री ज्ञवालीले दिल्लीस्थित ताज प्यालेस होटलमा मंगलबारदेखि जारी राइसिना डायलगलाई सम्बोधन गरेका थिए । उनी शुक्रबार साँझै काठमाडौं फर्कँदै छन् ।

प्रकाशित : पुस २७, २०७५ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?