कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सार्वजनिक शिक्षाको झन्डा माथि उठ्ने छ : शिक्षामन्त्री

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनाअनुकूलको नीति तय गर्न बनेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सार्वजनिक शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

सार्वजनिक शिक्षाको झन्डा माथि उठ्ने छ : शिक्षामन्त्री

‘सात दशकको सशस्त्र संघर्षपछि २०७२ सालमा संघीय संविधान बनेको छ,’ संविधान सहमतिको साझा दस्तावेज भएको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘संविधानअनुकूल गठन भएको शिक्षा आयोगले सार्वजनिक शिक्षाको पीडादायी कोणबाट मस्यौदा तयार गरेको छ । अब सार्वजनिक शिक्षाको झन्डा माथि उठाइने छ ।’


मन्त्री पोखरेलले शिक्षा मन्त्रालयका सचिव खगराज बरालद्वारा लिखित ‘सिकाउने शैली’ नामक पुस्तक सार्वजनिक गर्दै शुक्रबार उक्त विचार व्यक्त गरेका हुन् । ‘सार्वजनिक शिक्षा कमजोर हुनुमा हाम्रो कमजोरी छ,’ शिक्षालयको गुणस्तर ह्रास हुनुको महत्वपूर्ण पक्ष सिकाइसँग जोडिएको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘गुणात्मक शिक्षाको अवयव सुधार्न नयाँ दिशातर्फ जाँदैछौं । अब प्रत्येक अभिभावकलाई स्वतन्त्र ढंगले सार्वजनिक शिक्षालाई छनोट गर्ने अवसर पाउने छन् ।’ मन्त्री पोखरेलको अध्यक्षतामा गत असारमा गठित आयोगले यसै महिना प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदन बुझाउनेसमेत उनले जनाए ।


शिक्षा सचिव बरालको शिक्षासम्बन्धी प्रकाशित आठौं कृति हो । बरालका यसबाहेक तीनवटा साहित्यिक कृति तथा गीतिएल्बम प्रकाशित छन् । लेखक बरालले अनुभव तथा अनुभूतिलाई ३१ शीर्षकमा प्रस्तुत गरेका छन् । सार्वजनिक गरिएका ‘विद्यालयको शिक्षकदेखि शिक्षा मन्त्रालयका सचिवसम्म बन्न सफल लेखक साना साना संवेदनशील विषयलाई सरल शैलीमा प्रस्तुत गरेका छन्,’ पुस्तकबारे बोल्दै साहित्यकार मोमिला जोशीले भनिन्, ‘यो पुस्तकले शिक्षाको उज्यालोलाई अँध्यारो पाटोबाट चियाएको छ ।’


पुस्तकबारे बोल्दै पूर्वराजदूत जयराज आचार्य लेखकले मिहिनेतपूर्वक मुलुकको शिक्षालाई प्रतिवद्ध भएर संस्मरणात्मक ढंगले केलाएको बताए । त्यसैगरी योजना आयोगका सदस्य उषा झाले पुस्तकको प्रत्येक शीर्षकमा सिकाउने शैली आफ्नो भोगाइबाट प्रस्तुत गरिएको बताइन् । ‘सही व्यक्ति सही ठाउँमा हुनु र विषयवस्तुलाई सुक्ष्म ढंगले केलाएर सरल शैलीमा प्रस्तुत भएको छ,’ उनले भनिन् ।

प्रकाशित : पुस २७, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?