‘नेपाली सबैभन्दा मिहिनेती’

(अस्ट्रेलिया) — अस्ट्रेलियाको नेपाल मामिलासम्बन्धी जानकार एक मन्त्रीले आप्रवासीमध्ये नेपाली सबैभन्दा मिहिनेती रहेको बताएकी छन् ।

‘नेपाली सबैभन्दा मिहिनेती’

‘मिहिनेत र मिजासका हिसाबले नेपाली आदर्श आप्रवासी हुन्,’ दक्षिण अस्ट्रेलियाको प्रिमियरका लागि सहायकमन्त्री जिङ लीले कान्तिपुरसँगको कुराकानीमा भनिन्, ‘रोजगारीको प्रतिशत र अंग्रेजी भाषामाथिको पकड पनि अन्य देशका आप्रवासीको तुलनामा नेपालीको उच्च छ ।’


हालैको तथ्यांकअनुसार आप्रवासीमध्ये अस्ट्रेलियामा चिनियाँ र भारतीयपछि ठूलो संख्यामा नेपाली छन् । आँकडाअनुसार नेपालीले सामाजिक सुरक्षा भत्ताको कम उपयोग गरेको लीले बताइन् । मुख्य मन्त्रीपछिको शक्तिशाली पदमा पुगेकी ली दक्षिण अस्ट्रेलिया राज्यको प्रभावशाली नेत्री हुन् । आप्रवासीमा उनको राम्रो पकड छ । नेपाली समुदायप्रति उनको विशेष झुकाव देखिन्छ ।


‘मलाई नेपालीहरू मन पर्छन्, नेपालको सुन्दरताको म कदर गर्छु,’ दक्षिण अस्ट्रेलियाको संसद् भवनस्थित बैठक कक्षमा उनले भनिन्, ‘पछिल्लो समय क्रिकेटसँग पनि दुई देश जोडिन पुगेकामा खुसी लागेको छ ।’ सार्वजनिक रूपमा आफ्नो कलासंस्कृति मनाउने नेपाली शैलीको समेत उनी प्रशंसक हुन् । ‘हामी अस्ट्रेलियालाई बहुसांस्कृतिक देश भनेर संसारमा चिनाउन चाहन्छौं,’ उनी भन्छिन्, ‘यो अभियानमा हामीलाई नेपाली मित्रहरूले राम्रोसँग सघाउनुभएको छ ।’


पछिल्लो समय उनी अस्ट्रेलियाका व्यवसायीलाई नेपालमा लगानी गर्ने वातावरण मिलाउन लागिपरेकी छन् । उनी डेढ वर्षअघि व्यापारी र राजनीतिज्ञको १५ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आएकी थिइन् । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेट वार्ता गरी अस्ट्रेलिया र नेपालका दुई सहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सहमति भएको थियो । ‘म त्यही प्रयासमा छु,’ उनले भनिन्, ‘हामी दुई सहरको पहिचान गर्न र एकअर्काबीच प्राविधिक, सांस्कृतिक, पर्यटकीय सम्बन्धको आदानप्रदान गर्न सक्छौं ।’


उनी अस्ट्रेलियास्थित नेपाली क्रिकेट एसोसिएसन (एन्का) को सदभावना दूत बनेकी छन् । उक्त संस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा पुग्छिन् । त्यति मात्र नभएर नेपालबाट आएका अभिभावकलाई समय निकालेर भेटछिन्, संसद् भवनको भ्रमण गराउँछिन् र यहाँको राजनीतिक पद्धतिबारे जानकारीसमेत दिन्छिन् ।


प्रकाशित : पुस २७, २०७५ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?