निर्मला हत्या प्रकरण : राहत बुझ्ने विषयमा परिवारमै विवाद

भवानी भट्ट

(कञ्चनपुर) — निर्मला पन्त घटनामा सरकारले घोषणा गरेको राहत बुझ्ने विषयमा पीडित परिवारबीच विवाद भएको छ । निर्मलाकी आमा दुर्गादेवीले डीएनए परीक्षणका लागि रगतको नमुना दिनुका साथै राहत बुझ्ने तयारी गरेपछि विवाद भएको हो । 

निर्मला हत्या प्रकरण : राहत बुझ्ने विषयमा परिवारमै विवाद

निर्मलाका बुवा यज्ञराजले रगत किन दिएको भन्दै बिहीबार बिहान दुर्गादेवीमाथि हातपात नै गरे । उनले घाँटी च्यापेर मारिदिने धम्कीसमेत दिएको दुर्गादेवीले बताइन् । ‘मलाई नसोधी डीएनए चेक गर्न किन रगत दिएको भन्दै हातपात गरे,’ बिहीबार महिला अधिकारकर्मीसँगको छलफलमा दुर्गादेवीले भनिन्, ‘अहिले राहत पनि बुझ्न पाइँदैन भन्दै घरभित्रका भाँडाकुँडा सबै फोडिदिए ।’


निर्मलाको शरीरबाट लिइएको भेजाइनल स्वाब वास्तविक भए/नभएको शंका उठेपछि यकिन गर्न आमा दुर्गादेवीले बुधबार रगतको नमुना दिएकी थिइन् । उनले जिल्ला प्रहरी कार्यालयमै निवेदन दिएर वास्तविकता पत्ता लगाउन नमुना संकलनको माग गरेकी हुन् । सोही दिन उनले राहत पनि बुझ्ने बताएकी थिइन् । प्रहरीले यज्ञराजसँग पनि नमुनाका लागि आग्रह गरेको थियो । तर उनले रगत दिन अस्वीकार गरेपछि दुर्गादेवीले एक्लै रगतको नमुना दिएकी हुन् ।


बिहीबार बिहानै घरमा पुगेर यज्ञराजले कुटपिटसँगै राहत बुझ्न नपाइने बताएको उनले बताइन् । निर्मला घटनापछि भीमदत्त नगरपालिकाले ३ लाख, सुदूरपश्चिम प्रदेशले ५ लाख र संघीय सरकारले १० लाख राहत दिने घोषणा गरेका थिए । पीडित परिवारले न्याय नपाएसम्म उक्त राहत नबुझ्ने अडान लिँदै आएका थिए ।


निर्मलाकी कान्छी आमा लक्ष्मीले फागुनसम्म राहत नबुझ्न भन्दै श्रीमानले आग्रह गरेको बताइन् । उनले निर्मलाको न्यायका लागि २ महिनादेखि धर्ना जारी रहेकै बेला डा. गोविन्द केसीले पनि अनशन सुरु गरेकाले तत्काल राहत बुझे ठीक नहुने बताइन् । ‘फागुनसम्म केही न केही निकास आउँछ भन्ने हाम्रो आशा हो,’ लक्ष्मीले भनिन्, ‘त्यतिबेलासम्म केही नभए त्यसपछि बुझौंला ।’


दुर्गादेवीले पनि आफूमाथि आक्रमण नभए फागुनमै राहत बुझ्न तयार रहेको बताइन् । उनले रगत दिएको भन्दै यातना दिने काम भएकाले अब त्यस्तो हुन नहुने बताइन् । यज्ञराजले आँगनमै झुन्डिएर आत्महत्या गर्ने धम्कीसमेत दिएको उनले बताइन् । स्थानीयका अनुसार दुर्गादेवी र लक्ष्मीबीच राहत रकम बाँडफाँटका विषयमा पनि मतभेद बढदै गएको देखिन्छ ।


प्रकाशित : पुस २७, २०७५ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?