कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जेब्राक्रसमै जोखिम

काठमाडौं महानगरपालिकाभित्र कतिपय व्यस्त सकडमा जेब्राक्रस भए/नभएको थाहा हुँदैन । कतै पेन्ट उडेको त कतै सडक भत्किएको र धुलोका कारण जेब्राक्रस पुरिएका छन् । कतै चोक छेउछाउका जेब्राक्रस निमिट्यान्नै पारिएका छन् । जेब्रामा टयाक्सी र माइक्रो रोकिराखिएका भेटिन्छन् ।
शिल्पा कर्ण

काठमाडौँ — सडकमा पहिलो हक कसको ? पैदलयात्रुको । संसारभर स्वीकृत मान्यता हो यो । नेपालका सडकमा भने पैदलयात्रु डराइडराइ हिँडेका र बाटो काटिरहेका भेटिन्छन् ।

जेब्राक्रसमै जोखिम

पैदलयात्रुलाई बाटो काट्नैका लागि भनेर बनाइएका जेब्राक्रसिङमा समेत सवारी साधनले ठक्कर दिने र ज्यान लिने गरेको छ । पछिल्ला केही समयका घटना हेर्दा पैदलयात्रु जेब्रामै जोखिममा देखिन्छन् ।

सामाखुसी चोकमा पुस २३ सोमबार पैदलयात्रीको एउटा समूहलाई नै माइक्रोबसले ठक्कर दियो । बाटो काटिरहेकामध्ये ५५ वर्षीया सीता दाहालको मृत्यु भयो । उनको टाउकोमा चोट लागेको अल नेपाल अस्पतालका आकस्मिक कक्षका चिकित्सक अनिल सुवेदीको भनाइ छ । अन्य चारमध्ये एक जनालाई ग्रान्डी लगियो र एक जना उपचारपछि डिस्चार्ज भइन् । दुई जना अझै अस्पतालमा छन् ।

सोमबार माइक्रोले हानेको समूहमा अल नेपाल अस्पतालमै ‘प्राक्टिकल’ गर्दै गरेकी १९ वर्षीया सपना राई पनि थिइन् । उनका अनुसार सडकमा एउटा बस रोकिराखिएको थियो । निकै पछाडि एउटा माइक्रो थियो । ‘हात देखाएर बाटो काटदै थियौं । पर रहेको माइक्रोले बसलाई ओभरटेक गरेर हुत्तिँदै आएर हान्यो,’ उनले भनिन्, ‘त्यसपछि के भयो मलाई याद छैन । टाउकोमा चोट लागेर बेहोस थिएँ, आफैंले प्राक्टिकल गर्ने अस्पतालमा आँखा खुल्यो ।’ उनी उपचारपछि डिस्चार्ज भइसकिन् ।

अर्का घाइते सुशील अधिकारीले भने, ‘हानेर लडाएपछि मेरो खुट्टामाथि नै चढाएको हो कि के गरी चलायो मलाई याद छैन ।’ घाइते दुई जना ५३ वर्षीय सुशील र ५० वर्षकी सरिता अधिकारी श्रीमान्–श्रीमती हुन् । सुशीलको खुट्टामा चोट लागेकाले सुन्निएको छ । डाक्टर सुवेदीका अनुसार उनको देब्रे कुर्कुच्चामा चोट लागेको छ । नसा तन्केकाले भर्ना गरिएको छ ।

सरिता भने माइक्रोले हानेर ढलेपछि पनि चालकले आफूहरू माथि नै गाडी चढाउन खाजेको बताइन् । ‘लडेपछि जीउमाथि नै चढाउन खोजेको थियो । म पछाडि सरेँ, मेरो तिघ्रामाथिबाट माइक्रो गयो,’ उनले भनिन्, ‘ड्राइभरले जानीजानी मार्नै लागेको थियो ।’

चिकित्सकले सरिताको अवस्था स्थिर भए पनि खतरामुक्त भने नरहेको बताए । उनको देब्रे साँप्राको हड्डी भाँच्चिएको छ । ‘पक्षघातको डर पनि छ । तिघ्राको मासु मर्न सक्छ । अहिले जोखिममुक्त भन्न मिल्दैन,’ डा. सुवेदीले भने ।

अर्की घाइते लक्ष्मी सापकोटा ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा छिन् । कुरुवा बसेका उनका छोरा विशाल सापकोटाले भने, ‘बुधबार बिहानसम्म थोरै बोल्नुहुन्थ्यो, दिउँसोबाट बोल्न नसक्ने भएर भेन्टिलेटरमा राखिएको छ । बोल्न सक्ने बेला के भएको हो भनेर सोध्न सकेनौं ।’ विशालका अनुसार लक्ष्मीको फोक्सोमा चोटका कारण श्वासप्रश्वासमा समस्या आइरहेको छ ।

पूर्वगृह सचिव पद्मराज सुवेदीको जेब्राक्रसबाट बाटो काट्ने क्रममा मृत्यु भएको थियो । गत वर्ष वैशाख ११ गते अनामनगरमा बाटो काटदै गर्दा ८० वर्षीय सुवेदीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेपछि उपचार क्रममा उनको ज्यान गयो ।

त्यसको करिब एक महिनापछि जेठमा जेब्राक्रसमै बसले ठक्कर दिँदा सुनसरीकी २३ वर्षीया रविना चौधरीको ज्यान गयो । सुकेधारा बस्ने र वसुन्धारास्थित एक निजी विद्यालयमा पढाउने उनलाई पढाउन गइरहेकै बेला जेब्राक्रसमा बसले ठक्कर दिएको थियो । वीरगन्ज–काठमाडौं रुटमा चल्ने रात्रिबसले ठक्कर दिएपछि उनको मृत्यु भएको हो । घटनामा ना४ख ४२६२ नम्बरको गाडीका चालक बारा निजगढका २५ वर्षीय विनय तामाङ पक्राउ परेका थिए । गाडी तीव्र गतिमा रहेको प्रहरीको भनाइ छ । महाराजगन्ज प्रहरी वृत्तले उनीमाथि सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को (२) अनुसार कारबाहीको माग गरेको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐनमा चालकको नियतअनुसार सजाय तोकिएको छ । ऐनको दफा १६१ मा ज्यान मार्ने नियत नभए पनि दुर्घटनामा मृत्यु भएको खण्डमा १ वर्ष कैद २ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ । यसैगरी नियतवश किचेर वा सवारी साधन ठोक्काएर ज्यान लिएको देखिएमा सवारी चालक प्रमाणपत्र लिएकाको हकमा दुई वर्षदेखि १२ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।


जेब्राक्रस : छ कि छैन ?

काठमाडौं महानगरपालिकाभित्र कतिपय व्यस्त सकडमा जेब्राक्रस भए/नभएको थाहा हुँदैन । कतै पेन्ट उडेको त कतै सडक भत्किएको र धुलोका कारण जेब्राक्रस पुरिएका छन् । कतै चोकका छेउछाउका जेब्राक्रस निमिटयान्नै पारिएका छन् । जेब्रामा टयाक्सी र माइक्रो रोकिराखिएका भेटिन्छन् ।

सामाखुसी चोकको त्यो जेब्राक्रस जहाँ माइक्रोले पैदलयात्रुको ज्यानै लियो यो पनि त्यस्तै धूमिल जेब्राक्रस थियो । महानगरीय प्रहरी वृत्त महाराजगन्जले बाटो काटेको ठाउँमा जेब्राक्रस नभएको बताउँछ । त्यसैकारण चालकलाई त्यसअनुसार मुद्दा चलाउन नमिल्ने वृत्तको भनाइ छ । तर घाइतेहरू त्यहाँ पहिलेदेखि नै जेब्राक्रस रहेको र सडक भत्काइएका कारण धुलोले मेटिएको बताउँछन् । सबैले त्यहींबाट बाटो काट्ने गरेको स्थानीयको भनाइ छ ।

सडक नजिकै रहेका एक टयाक्सी चालक र वरपरका पसलेले त्यहाँ केही महिनाअघिसम्म जेब्राक्रस भएको तर अहिले मेटिएको बताए । चोकमा एउटा मात्र रहेको जेब्राक्रसको बीचैमा ट्राफिक आइल्यान्ड छ । चोकका दुवैतिर बाटो काट्ने स्थान छैन । ‘सधैं गाडीले त्यहीँ ओराल्छ र हामीले त्यहींबाट बाटो काट्ने गरेका थियौं,’ घाइतेमध्येकी सपनाले भनिन् ।

सामाखुसी चोकमै खटिएका ट्राफिक प्रहरी भने जेब्राक्रस बनाउने काम सडक विभागको भएको बताउँछन् । ‘जेब्राक्रस सडक विभागले बनाउने हो, चिह्न राख्ने हो । हामीले त पालना गराउने मात्र हो । यो बीचमा भएको पनि खिइसक्यो । हामी के गर्न सक्छौं र ?’

असार दोस्रो साता सडक विभाग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयका तत्कालीन निर्देशक शिवहरि सापकोटाले मेटिएका सडक चिह्नबारे जिज्ञासामा भनेका थिए, ‘भर्खरै सडकहरू बनेका छन् । पिच राम्ररी सेट भइसकेपछि कम्तीमा १५ दिनपछि मात्र पेन्ट गर्न मिल्छ ।’ पानी परिरहेको भएर नयाँ सडकमा पिच हुन नसकेको, भएको पिच राम्ररी सेट नभएको र सेट नभएको पिचमा चिह्न लगाउन नमिल्ने उनको तर्क थियो । त्यसबेला भर्खरै मात्र पिच भएको कोटेश्वर–माइतीघर खण्डको सर्भिस लेनमा र राजधानीका अन्य स्थानमा जेब्राक्रस नभएकोबारे उनले यसो भनेका थिए ।

झन्डै ६ महिना बितिसक्दा पनि जिल्ला अदालत काठमाडौं अगाडि, आर्ट काउन्सिल अगाडि सडकको बीच भागमा जेब्राक्रस भए पनि सर्भिस लेनमा छैनन् । अर्थात् एक पैदलयात्रुका हिसाबले बुझ्दा बाटो काट्ने ठाउँ नै छैन । यो अवस्था चक्रपथ रुटमा पनि छ ।

कतिपय ठाउँमा भने जेब्राक्रस नै घुम्तीमा राखिँदा दुर्घटनाको जोखिम बढेको जानकार बताउँछन् ।

जाउलाखेलको नेपाल टेलिकमनजिक घुम्ती सकिनेबित्तिकै जेब्राक्रसिङ छ । घुम्तीलगत्तै जेब्राक्रस हुँदा सवारी चालकलाई गाडी रोक्न कठिन हुन्छ । चोकबाट दुवैतिरको दूरीमा हुनुपर्ने ठाउँमा जेब्राक्रसको कुनै अवशेष बाँकी छैन । टाढासम्म पनि जेब्राक्रस देखिन्न । बीच चोकैमा भने सडकको दुई छेउमा हल्का सेतो धर्सा देखिन्छन् । यस्ता ‘गायब’ हुने जेब्राक्रस ठूलै सडकमा पनि थुप्रै छन् ।

कतै त मोडमै जेब्रक्रस छन् । यसले चालकलाई ब्रेक लगाउन कठिन बनाउँछ । उदाहरणका लागि सहिदगेटबाट टुँडिखेल जानेपट्टि र नजिकै भद्रकालीबाट टुँडिखेल बाटो काट्न बनाइएको जेब्राक्रस । एक त भृकुटीमण्डपबाट त्रिपुरेश्वर जाने गाडीका साथै सुन्धारा जाने गाडी सँगसँगै आइरहेका हुन्छन् । अर्कोतिर सिंहदरबार हुँदै आएको गाडी पनि सुन्धारा वा त्रिपुरेश्वर पुग्न मिसिन जान्छन् । मोडमै भएको यस्ता जेब्राक्रसमा चालकले ब्रेक लगाउन गाह्रो हुने बताउँछन् । राजधानीमा कतै फुटपाथमा बार लगाइएको स्थानमा जेब्राक्रस छन् भने कतै जेब्राक्रसकै बीचमा डिभाइडर छन् ।

महाराजगन्ज वृत्तले हेर्ने क्षेत्रभित्र पछिल्लो तीन वर्षयता ४८ जनाको मृत्यु सवारी दुर्घटनामा भइसकेको छ । आर्थिक वर्ष २०७२/७३ मा १०, अर्को वर्ष १९ र त्यसपछिको वर्ष २०७४/७५ मा १९ जनाको ज्यान गएको छ ।


सडकमा जोगिनै मुस्किल

बुधबार साँझ बाफलमा बसको ठक्करले सप्तरीका दीपेन्द्र चौधरीको मृत्यु भयो । सोल्टीमोडमा काम गर्दै आएका चौधरीलाई बाटो काट्ने क्रममा बा२ख ६३५१ नम्बरको बसले ठक्कर दिएको थियो । बस चालक फरार छन् ।

प्राय: बागबजारबाट कुपन्डोल सडकमा हिँड्ने नीता चिमोरिया सधैंजसो जेब्राक्रसबाटै बाटो काटछिन् । ‘तर त्यहाँ पनि गाडीको गतिले डर लाग्छ । ५/६ जना जम्मा नभएसम्म बाटो काट्ने आँटै आउन्नँ,’ उनले भनिन्, ‘नेपाल यातायात र माइक्रो हुत्तिएर आउँछन्, डरै लाग्छ । अलिक पाको चालक भए, बाटो काट्न इसारा दिन्छन् । अरूले त जेब्राक्रससमेत नभनी ठोकुँला झैं हुत्याएर ल्याउँछन् ।’

उनको भनाइमा १० प्रतिशत सवारी चाकलले मात्र जेब्राक्रसिङमा गाडी रोक्छन् । कहिले गाडी जालान् र बाटो काटुँला भनेर कुरिरहनुपर्ने उनी बताउँछिन् । छोटोछोटो समयमा छुटिरहने एउटै यातायात कम्पनीका गाडीले सडकमा प्रतिस्पर्धा गर्ने गरेको चिमोरियाले बताइन् । ‘आफ्नै कम्पनीको गाडी देख्यो भने उछिन्न जोडले कुदाउँछन्,’ उनले भनिन् ।

जेब्राक्रसबाटै बाटो काटदा पनि ज्यानको जोखिम हुने पैदलयात्रुको भनाइ छ । ट्राफिक नियम मान्दामान्दै सवारी चालकले जेब्राक्रसमा पैदलयात्रुलाई प्राथमिकता नदिने गरेको उनीहरू गुनासो छ ।


यस्तै अनुभव सुनाउँछिन् ११ कक्षा पढदै गरेकी अनिशा गुप्ता । गाबहाल बस्ने उनी काम विशेषले सातदोबाटो पुग्दा केही दिनअघि धन्न सुरक्षित हुन सकिन् । ‘एक हप्ता पनि भाछैन, ग्वार्कोबाट जाउलाखेल गइरहेको बसले जेब्राक्रसबाटै बाटो काटदा झन्डै हानेको । धन्न छोएर मात्र गयो,’ उनले भनिन् ।

सरकारी र निजी कारले बाटो छाडे पनि सार्वजनिक सवारी साधनले जेब्राक्रसमा पैदलयात्रुलाई प्राथमिकता नदिने गरेको उनको भनाइ छ । गाडीका साथै मोटरसाइकल चालकले पनि मनपरी हाँक्ने उनी सुनाउँछिन् । यसैमा सहमति थप्छिन् नीलम राई । ‘सधैं जेब्राक्रसबाटै बाटो काट्छु । तर त्यो पनि आफ्नो हो भन्ने हुन्न,’ एमबीएस अध्ययन गर्दै गरेकी उनी भन्छिन्, ‘त्यहाँ पनि मनपरी कुदाउँछन् ।’


पैदलयात्रुमाथि खतरा

तथ्यांकले सवारी दुर्घटनामा बढीजसो पैदलयात्रुकै ज्यान जाने गरेको देखाउँछ । महानगरीय ट्राफिक महाशाखा रामशाहपथको तथ्यांकअनुसार उपत्यकामा हुने दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु छन् ।

आर्थिक वर्ष २०७२/७३ मा १ सय ६६ जनाको दुर्घटनामा परी मृत्यु भएकोमा ६५ पैदलयात्रु थिए । अर्को वर्ष १ सय ८२ जनाले दुर्घटनामा ज्यान गुमाए, जसमा ७९ जना पैदलयात्रु थिए । आर्थिक वर्ष २०७४/७५ मा १ सय ४९ जनाको मृत्यु भयो । जसमा ३४ प्रतिशत अर्थात ५१ जना पैदल हिँडिरहेका व्यक्ति थिए ।

आर्थिक वर्ष २०६८/६९ देखि २०७४/७५ को वैशाख मसान्तसम्म सवारी दुर्घटना विवरण हेर्दा मुख्य कारण चालकको लापरबाही देखिन्छ । त्यसयता वार्षिक लगभग ५ हजार दुर्घटना हुने गरेकोमा ८० प्रतिशतभन्दा बढी घटनामा चालकको दोष देखिएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा उपत्यकाभित्र ५ हजार ५ सय ३० दुर्घटना भएकोमा ५ हजार २ सय ५ मा सवारी चालकको गल्ती औंल्याइएको छ । त्यसपछिका वर्षमा उपत्यकामा ५ हजार १ सय ८० सवारी दुर्घटना भए । तिनमा ४ हजार ८ सय ८४ घटनामा चालक जिम्मेवार छन् ।


कस्तो हुनुपर्छ जेब्राक्रस ?

यातायात तथा ट्राफिक इन्जिनियर आशिष गजुरेलको भनाइमा सहरी क्षेत्रका सीधा सडकमा जेब्राक्रस सामान्यतया ५–६ सय मिटरको दूरीमा हुनुपर्छ । कतै जनसंख्यालाई आधार मानिन्छ । उपत्यकाको हकमा वैज्ञानिक जेब्राक्रस त परको कुरा, भएका पनि केबल ‘पेन्टिङ’ रहेको उनको टिप्पणी छ ।

‘कतै मेटिइसकेको छ कतै धुलोले छोपेको छ । बाटो काट्नेले दिउँसै नदेखिने भइसकेको छ, राति झन् चालकले कसरी देख्लान्,’ उनले भने, ‘विदेशमा जेब्राक्रसमा पैदलयात्रु भए सवारी अगाडि नै बढाउँदैनन् । हाम्रोमा चालकले जेब्राक्रसको परवाह नै गर्दैनन् ।’

उपत्यकामा अध्ययनपश्चात् मात्र कहाँ कति जेब्राक्रसको आवश्यक छ त्यसैअनुरूप राखिनुपर्ने उनको सुझाव छ । पुतलीसडकको उदाहरण दिँदै उनले थपे, ‘ट्राफिक बत्तीसँगै पैदलयात्रुका लागि पनि लाइटको व्यवस्था छ । जेब्राक्रस सँगै त्यस्तो लाइट भए चालकले देख्छन् ।’

राजधानीका सडकमा ‘हम्प’ अर्थात् जेब्राक्रस आउनुअघि सडकमा केही स–साना संरचना हुन्छन्, जसले गाडीलाई थोरै उफार्छ र चालकलाई अगाडि जेब्राक्रस रहेको जानकारी गराउँछ । काठमाडौंमा यी दुवैमध्ये केही छैनन् । ‘सडक पेन्टिङ गरेर मात्र सुरक्षित हुने होइन, अध्ययन गरी योजना बनाएर राख्नुपर्ने हो,’ गजुरेल भन्छन्, ‘मोडबाट कम्तीमा पनि ५०–६० मिटर टाढा मात्र जेब्राक्रस हुनुपर्ने हो । यहाँ धेरै मापदण्ड नपुगेका सडक छन् ।’

महानगरीय ट्राफिक महाशाखाका एसएसपी वसन्त पन्त पर्याप्त संख्यामा जेब्राक्रस भए दुर्घटना कम हुने ठान्छन् । उपत्यकामा सही संख्यामा जेब्राक्रस नभएको र भएको पनि मेटिने अवस्थामा रहेको उनको भनाइ छ । ‘जेब्राक्रसले ट्राफिक व्यवस्थापनलाई प्रत्यक्ष असर गर्छ । यहाँ साढे तीन सय हाराहारी जेब्राक्रस छन्,’ उनले थपे, ‘केही मेटिएकालाई रंग्याउनुपर्ने छ, केही स्थानमा थप्नुपर्ने पनि छ ।’ आफूहरूले सडक विभागलाई जानकारी गराएको तर कहिलेसम्म बन्छ भन्नेबारे थाहा नभएको उनले बताए ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्रमुख राजेन्द्र शर्मा जेब्राक्रस धुलोले गर्दा नदेखिएको बताउँछन् । ‘जेब्राक्रसमा चिह्न लगाइएको छ, धुलोले गर्दा नदेखिएको हुन सक्छ,’ दुई हप्ताअघि आएका उनले भने, ‘कतै छुटेको रहेछ भने हामी गर्छौं ।’

प्रकाशित : पुस २८, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?