नेविसंघ अस्तव्यस्त

पुस २८ देखि माघ २ सम्म तोकिएको अधिवेशन नहुने भएपछि नेविसंघ विघटन गरेर तदर्थ समितिमा परिणत गर्ने या अर्को समिति बनाउने भन्ने दुईवटा बाटा पार्टी नेतृत्वसामु छन् । 
‘यो निर्वाचित कार्यसमिति हो, तदर्थ समिति होइन, यही कार्यसमितिले बाह्रौं अधिवेशन गर्छ ।’ नैनसिंह महर, अध्यक्ष
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसमा नेता जन्माउने ‘नर्सरी’ मानिने नेविसंघ महाधिवेशन हुन नसकेपछि अस्तव्यस्त बन्न पुगेको छ । दुई पटकसम्म तिथि तोकिए पनि महाधिवेशन हुन नसकेको संघका गतिविधि समानान्तर रूपमा चल्दै आएका छन् ।

दोस्रोपटक पुस २८ मा तोकिएको महाधिवेशन नहुने निश्चित भएपछि उपाध्यक्षद्वय पुष्पा शाही, विकास केसी, महामन्त्री सरोज थापासहित पदाधिकारी तथा केन्द्रीय सदस्य गरी एक दर्जन बढीले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।

संघको कार्यकाल भदौ २ मै सकिएकामा महाधिवेशन गर्न पहिलोपटक तीन महिनाको अवधि थपिएको थियो । कात्तिक २८ बाट सुरु हुने गरी अधिवेशनको तालिका सार्वजनिक भयो पनि तर अधिवेशन हुन सकेन । पुरानो विधानमा तीन महिनामा महाधिवेशन गराउन नसके स्वत: विघटन हुने प्रावधान थियो । भर्खरै संशोधित विधानमा ३ बाट ५ महिना थप्न सक्ने प्रावधान राखियो । जुन सुविधा प्रयोग गर्दा पनि माघ २ गते नैनसिंह महर नेतृत्वको अहिलेको कार्यसमितिको अवधि सकिन्छ ।

पुस २८ देखि माघ २ सम्म तोकिएको अधिवेशन नहुने भएपछि यसलाई विघटन गरेर तदर्थ समितिमा परिणत गर्ने या अर्को समिति बनाउने भन्ने दुइटा बाटो पार्टी नेतृत्वसामु छ । नेविसंघभित्रै पनि अहिलेकै नेतृत्वलाई तदर्थ समितिमा परिणत गरेर अधिवेशन गराउने या नयाँ तदर्थ समिति बनाउने भन्नेमा विवाद छ । नयाँ समिति बनाउन माग गर्ने पक्षले नेतृत्वबाट राजीनामा दिएका छन् ।

नेविसंघको अधिवेशन गर्न खटिएका निर्देशक समितिका संयोजक प्रकाशरण महतले के गर्ने भन्नेबारे नेताहरूसँग छलफल गरेर निर्णय लिने बताए । पार्टीको संशोधित नयाँ विधानमै भ्रातृसंस्थाले तोकिएको पदावधिभित्र महाधिवशेन गर्न नसके स्वत: भंग हुने प्रावधान राखिएको छ । ‘विधानको यो व्यवस्था लागू हुँदा बारम्बार समय थप्न सकिने अवस्था छैन,’ स्वत: भंग हुने संकेत गर्दै महतले भने, ‘तैपनि के गर्नेबारे पार्टी नेताहरूसँग छलफल हुँदै छ ।’

‘अहिलेको कार्यसमिति निर्वाचित हो, छुट्टै तदर्थ समिति होइन, यहीँ कार्यसमितिले संघको १२ औं अधिवेशन सम्पन्न गर्छ,’ संघका अध्यक्ष महरले भने । उनले समय थपेर अधिवेशन गर्न दिनुपर्ने माग गरेका छन् तर संस्थापन इतरपक्षीय धेरैजसो नेता भने पार्टी सभापति देउवा नै संघको अधिवेशन गराउन इच्छुक नदेखिएको आरोप लगाउँछन् । ‘पार्टी नेतृत्व अधिवेशन नगराउने पक्षमा हुँदाहुँदै अहिलेको नेतृत्वले संघको अधिवेशन गराउन सक्दैन, त्यो क्षमता पनि देखिएन,’ संघका पूर्वनेता मोती भण्डारीले भने, ‘अब नयाँ नेतृत्व ल्याएर अधिवेशन गराउनुपर्छ ।’

राजीनामा दिएका महामन्त्री सरोज थापाले पनि वर्तमान नेतृत्वबाट अब महाधिवेशन सम्भव नभएकाले अर्को समिति बनाउन जोड दिए । पार्टी सभापति शेरबहादुर देउवा नेविसंघका दोस्रो अध्यक्ष हुन् । उनले झन्डै आठ वर्ष नेविसंघको नेतृत्व गरेका थिए । अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल यसका संस्थापक सदस्य हुन् । निरंकुश पञ्चायतविरुद्ध आन्दोलन चर्काउन कांग्रेसले २०२७ सालको प्रतिबन्धित अवस्थामा यो संस्था जन्माएको थियो ।

पार्टी उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी सावद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, कल्याण गुरुङ, प्रदीप पौडेल नेविसंघ अध्यक्ष भएर नै पार्टी नेतृत्वमा आएका हुन् ।

केन्द्रीय सदस्य बलबहादुर केसी कार्यवाहक सभापति, महामन्त्री पूर्णबहादुर खड्का र मिनेन्द्र रिजाल उपाध्यक्ष, रामशरण महत, प्रकाशशरण महत, दिलबहादुर घर्ती, चन्द्र भण्डारी, गगन थापा महामन्त्री भएर पार्टी नेतृत्वमा छाएका हुन् । यीबाहेक पार्टीको केन्द्रीय तहमा रहेका अधिकांश नेताहरू नेविसंघ पृष्ठभूमिकै छन् ।

अरू भ्रातृसंगठन पनि उस्तै
नेविसंघ, तरुण दल, महिला संघसहित कांग्रेसका १३ भ्रातृसंस्था छन् । तीमध्ये अधिकांश पदावधि सकिएर ‘तदर्थवाद’ मा चल्दै आएका छन् । दुई वर्षअघि पोखरामा भागबन्डाका आधारमा नेतृत्व छानिएको तरुण दल अहिले चार जनामा सीमित छ । यसका अध्यक्ष जितजंग बस्नेत छन् । महामन्त्रीमा भूपेन्द्रजंग शाही, उपाध्यक्ष उत्तम चापागाईं र कोषाध्यक्ष विद्वान् गुरुङ मात्रै छन् ।

९५ सदस्यीय कार्यसमिति हुनुपर्ने दल चार जनाबाट चल्दै आएको छ । पार्टी नेतृत्वमै सहमति नबन्दा तरुण दल विस्तार हुन सकेन । अध्यक्ष बस्नेतले धेरै पटक नेतृत्वसँग हारगुहार गरे । अझै विस्तार हुने लक्षण उनी देख्दैनन् । ‘दोष नेताहरूलाई दिएर म जिम्मेवारीबाट पन्छिन चाहन्नँ, हुन नसक्नुमा मेरै जिम्मेवारी हो भन्ने ठान्नुहोस्,’ उनले संक्षिप्त प्रतिक्रियामा भने, ‘कार्यसमितिले पूर्णता पाएको भए धेरै काम गर्न सकिन्थ्यो ।’

भ्रातृसंस्थामा नयाँ नेतृत्व चयनका लागि अधिवेशन गराउन पार्टी नेतृत्वको तदारुकता पनि देखिएको छैन । अहिले भएका भ्रातृसंस्थाका अधिकांश नेतृत्व संस्थापन निकट छन् । केही समयअघि नेपाल ट्रेड युनियन कांग्रेस, शिक्षक संघ, निजामती कर्मचारी युनियन, नेपाल लयर्स एसोसिएसनलगायत आधा दर्जन शुभेच्छुक संस्थाको अधिवेशन भएका थिए ।

तिनमा संस्थापनइतर समूहले जितेपछि सभापति देउवाले तत्काल अधिवेशन गराउन सक्रियता देखाउन छाडेको संस्थापन इतरपक्षीय नेताहरूको तर्क छ । दलित संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र नेपाल ठाकुर समाजको अवधि सकिइसकेका छन् । किसान संघ १० वर्षदेखि नै तदर्थवादमा चल्दै आएको छ ।

कांग्रेसका १७ शुभेच्छुक संस्था छन् । पार्टीको प्रत्यक्ष हस्तक्षेपबाट केही टाढा रहेका कारण शुभेच्छुक संस्थाका अधिकांशले अधिवेशन गर्न सकेका छन् । प्रेस युनियनलगायत केहीको अधिवेशन हुने क्रममा छ । ‘अब पार्टी विधानमै तोकिएको समयावधिभित्र अधिवेशन हुन नसके स्वत: भंग हुने प्रावधान राखिएकाले समयमै अधिवेशन गराउने परम्परा बस्न सक्छ,’ महतले भने, ‘अवधि सकिएका भ्रातृसंस्थाहरूको अधिवेशन गराउनेतर्फ नै नेतृत्व लागिरहेको छ ।’

त्यसो त पार्टीका अधिकांश संरचना पनि उस्तै छन् । संविधान जारी भएर नयाँ राज्य संरचना खडा भएको तीन वर्ष बढी पुगिसकेको छ । संविधान जारी गर्दाको अगुवाइ लिएको पार्टीकै संघीय संरचना अहिलेसम्म बन्न सकेको छैन । भर्खरै राजधानीमा सम्पन्न महासमिति बैठकले संघीय संरचनासहितको पार्टी विधान त पारित गरेको छ तर प्रदेश कार्यसमितिलगायत नयाँ संरचना खडा गर्न अधिवेशन तय भएको छैन ।

अन्तरिम अवधिका लागि अधिवेशन गर्ने या तदर्थ समिति नै बनाउने भन्नेमा नेताहरूबीच फरक मत छ । सभापति देउवा आफूअनुकूलको तदर्थ शैलीको समिति बनाउन चाहन्छन् भने संस्थापन इतरपक्षीय नेताहरू त्यसलाई रोक्न चाहन्छन् । चुनावबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा उनीहरू छन् । पार्टीको आन्तरिक विवाद मिलाएर चाँडै पार्टी संरचना खडा गर्ने तदारुकता देउवाले पनि देखाएका छैनन् । केन्द्रीय कार्यसमितिमै ४२ वटा विभागले अझै पूर्णता पाएका छैनन् ।

देउवाको कार्यकाल आगामी फागुनबाट तीन वर्ष पुग्दै छ । समयमै अधिवेशन चाहेमा ०७६ फागुन/चैतमा अधिवेशन हुनुपर्छ । देउवाको तयारी हेर्दा उनी थप एक वर्ष कार्यकाल बढाएर मात्रै अधिवेशनमा जाने पक्षमा देखिन्छन् । विशेष परिस्थिति परेमा थप एक वर्ष कार्यकाल लम्ब्याउन पाउने प्रावधान विधानमा छ ।

विधानविपरीत गठन भएका कारण गत वैशाखमा विघटन भएको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिसमेत खाली छ । अनुशासन समिति, निर्वाचन समितिसमेत अहिलेसम्म बन्न सकेका छैनन् ।

तरुण दलद्वारा विरोध कार्यक्रम घोषणा
अर्को भ्रातृसंस्था तरुण दलले सातवटै प्रदेशमा सरकारविरुद्ध कार्यक्रम गर्ने घोषणा गरेको छ । वाइडबडी प्रकरणमा भएको भ्रष्टाचार, मूल्यवृद्धि, महँगी, निर्मला पन्त प्रकरणलगायत मुद्दा उठाएर माघ ८ देखि विरोध कार्यक्रम थालिने अध्यक्ष जितजंग बस्नेतले बताए ।

उनका अनुसार प्रदेश नम्बर १ को विराटनगरमा माघ ८, प्रदेश २ को जनकपुरमा ९, प्रदेश ३ को हेटौंडामा १०, गण्डकी प्रदेशको पोखरामा ११, प्रदेश ५ को भैरहवामा १२, कर्णाली प्रदेशको सुर्खेतमा १३ र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते विरोध कार्यक्रम गरिनेछ ।

प्रकाशित : पुस २८, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कमजोरीसहितका राष्ट्रनिर्माता 

इतिहास
पृथ्वीनारायण शाहले क्रिस्चियन पादरीलाई देश निकाले गरेको हुनाले उनीहरूले विषवमन गरेर लेखे भन्ने आरोप पनि छ । 
हिमेश

काठमाडौँ — पृथ्वीनारायण शाहलाई हरेक पक्षमा योग्य देखाइन्छ, उनी राम्रा प्रशासक हुन् । राम्रो योजनाकार हुन् भनिन्छ । यो सबै अतिशयोक्तिपूर्ण छ । उनको निष्पक्ष मूल्यांकन हुनुपर्छ, जुन अहिलेसम्म भएको छैन ।

नेपाली इतिहासमा पृथ्वीनारायण शाह सबैभन्दा महत्त्वपूर्ण पात्र हुन्, यसमा कहिल्यै दुईमत भएन् । दुईमत उनको काममा भने छ । हिजो पुस २७, पृथ्वी जयन्ती । केहीले यसलाई एकता दिवसको रूपमा मनाए । उनले नेपालको एकीकरण नै गरेका होइनन, केको एकता दिवस भन्ने पनि उत्तिकै छन् । धेरै लामो समय पृथ्वीनारायण शाहलाई खालि राम्रै राम्रो गुण भएको राजाका रूपमा इतिहासमा पढाइयो । र, भनियो, उनले नेपालको एकीकरण गरे ।
बीचमा केहीले फरकमत पनि राखे । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका होइनन्, बरु गोर्खा राज्यको विस्तार मात्र गरेका हुन् । यहाँनिर एउटा अर्को महत्त्वपूर्ण प्रश्न थपिन्छ, उनले यो काम नगरेको भए, अहिलेको आधुनिक नेपाल रहने थियो अथवा थिएन त ? यी सबै यस्ता प्रश्न हुन्, जसको उत्तर नेपाली इतिहासमा अहिलेसम्म पनि प्रस्ट लेखिएको छैन । पृथ्वीनारायण शाहको कालखण्ड बितेको यति धेरै समय भइसकेको छ, अझ पनि उनका बारे प्रश्नहरू ज्यूँको त्यूँ छन् ।

नेपालमा वैज्ञानिक ढंगले इतिहास लेख्न सुरु भएयताका दुई प्रमुख इतिहासकार हुन्, तुलसीराम वैद्य र त्रिरत्न मानन्धर । नेपालको इतिहासमा जत्तिले पछिल्लो समय कलम चलाउने प्रयास गरे, ती सबैका गुरु हुन्, उनीहरू । वैद्य त मानन्धरका पनि गुरु भए । दुवैले लामो समय सँगसँगै काम पनि गरे । उनीहरू नेपालको इतिहासबारे आधिकारिक रूपमा बोल्न सक्नेमा पर्छन् । उनीहरू दुवैले पृथ्वीनाराया.शाहबारे कमल चलाएका छन्, बोलेका छन् ।
त्यसमा पनि समानता भने छैन । वैद्यले लेखेका छन्, ‘पृथ्वीनारायण शाहले सुरुमा नेपाल राज्य बनाउँछु भनेर आफ्नो काम सुरु गरेका होइनन् । यो गोर्खा राज्यको विस्तार नै हो । तर, महत्त्वपूर्ण तथ्य के हो भने गोर्खा राज्य विस्तारकै क्रममा नजानेर नै पछि नेपाल बन्न गयो । उनले नेपाल राज्य स्थापना गर्न गोर्खा राज्यको विस्तार गरेका थिएनन् ।’ वैद्यको पीएचडी पनि पृथ्वीनारायण शाहबारे नै हो, भारतको इलाहाबाद विश्वविद्यालयबाट ।
***

उनको थेसिसको निचोड नै त्यही हो, त्यो एकीकरण थिएन, राज्य विस्तार नै हो । यही राज्य विस्तारले कालान्तरमा नेपाल भन्ने देश बन्यो । पृथ्वीनारायण शाहले कहीं कतै नेपाल एकीकरण गर्छु, सानासाना छरिएर रहेका राज्यलाई एक गरेर नेपाल बनाउँछु भनेकै छैनन् । उनको दिव्य उपदेशमा पनि एकीकरण शब्द कतै उल्लेख छैन् । हुन पनि पृथ्वीनारायण शाहले सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षमा धेरै बोले तर उनले नेपाल एकीकरण गर्न यस्तो काम गरें भनेर कहीं बोलेका छैनन् ।

दिव्य उपदेशमा बोलेको भए, त्यो प्रमाण हुन सक्थ्यो । वैद्यको मत हो, ‘यो वास्तवमै गोर्खा राज्यको विस्तार हो, यही विस्तारकै क्रममा नसोचेको किसिमले पछि गएर नेपाल हुन गयो । राज्य विस्तारकै क्रममा गोर्खालीकरण हुँदै गयो । उनले कहीं पनि म नेपाली हुँ भनेका छैनन् । राज्यको नाम गोर्खा रह्यो । जनता गोर्खाली । राष्ट्रिय गीतमै हामी सारा गोर्खाली भनिएको छ । भाषा गोर्खा । तक्माको नाम गोर्खा दक्षिणबाहु । सरकारले निकालेको पत्रिका गोर्खापत्र ।’
इतिहासका विद्यार्थीले बुझ्नैपर्ने के पनि हो भने नेपालको पुरानो राष्ट्रिय गीतमा ‘सारा गोर्खाली’ को स्थानमा ‘सारा नेपाली’ लेख्न लगाउने काम गरेका हुन्, जुद्धशमशेरले । गोर्खाका स्थानमा नेपाल राज्य लेखिन थालेको जुद्धशमशेरकै पालामा हो । केही इतिहासकारले पृथ्वीनारायण शाहबारे मसला थपेर लेखे । उनले यस्तो गरे, उस्तो गरे भने । यो साहित्य बढी थियो, इतिहास कम थियो । पृथ्वीनारायण शाहलाई देवत्वकरण गरियो र यसले नै इतिहास लेख्दा तथा बुझ्दा समस्या हुन्छ ।

‘तर पनि नेपाली इतिहासले पाएका अहिलेसम्मकै सबैभन्दा ठूला व्यक्तित्व पृथ्वीनारायण शाहनै हुन् । नेपाल राज्य स्थापनाका लागि दिएको योगदानका आधारमा यो सत्य र वास्तविकता हो,’ वैद्य मान्छन् । यसबारे मानन्धरको के मत छ त ? यो केही फरक छ । उनको भनाइ हो, ‘पृथ्वीनारायण शाहले सुरुमा गोर्खा राज्यको विस्तार गरेकै हुन् । उनलाई त्यति बेला नेपालको एकीकरण गर्नुपर्छ भन्ने सोच बनेकै थिएन् । खालिआफ्नो गोर्खा राज्य विस्तार गरे ।’

गोर्खाको पश्चिमतिर शक्तिशाली र ठूल्ठूला चौबीसे राज्य थिए । त्यसैले उनी त्यसतर्फ बढ्न नै सकेनन् । यो सम्भवजस्तो पनि थिएन । त्यसैले सुरुमा पृथ्वीनारायण शाह पूर्वतिर बढे । सुरुमा उनको इच्छा भनेको काठमाडौं उपत्यकाका तीन राज्य जित्नु नै थियो । त्यो अर्थमा सुरुमा उनले जे जति गरे, त्यो गोर्खाको विस्तारभन्दा केही थिएन् । ‘ती तीन राज्य जितिसकेपछि पृथ्वीनारायण शाहलाई के लाग्यो भने यसको सुरक्षाका लागि बाँकी अरू राज्य जित्न आवश्यक छ,’ मानन्धरको मत छ ।

नत्र आफूले जितेका ती तीन राज्य कान्तिपुर, ललितपुर र भक्तपुरको भविष्य दिगो हुन सक्ने स्थिति थिएन । त्यसैले पूर्व मात्र होइन, पश्चिमतिर पनि आफ्नो राज्य विस्तार गर्ने काम गरे । पृथ्वीनारायण शाहले सबै काम पूरा गर्न भने सकेनन्, उनको चाँडै निधन भयो । पछि यो काम उनका बुहारी राजेन्द्रलक्ष्मी र बहादुर शाहले पूरा गरे । ‘यसरी गोर्खाको राज्य विस्तारपछि नेपाल एकीकरणमा परिणत भयो, पृथ्वीनारायण शाहले सुरुमै एकीकरण गर्ने सोच बनाएका थिएनन,’ मानन्धरको तर्क छ ।

उनको विश्लेषणमा काठमाडौंमा तीन राज्य जितिसकेपछि नेपाल एकीकरणको भावना पृथ्वीनारायण शाहमा आएको हो । ‘उनले के सोचे भने अब काठमाडौंका तीन राज्य जितिसकेपछि यसलाई स्थायित्व दिनका लागि सानासाना राज्यहरूलाई पनि जितेर एकीकरण गर्नु जरुरी छ । उनको खास मनोकामना ती तीन राज्य जित्नु नै थियो । त्यो पूरा भएपछि उनी चुप लागेर बसेनन् । पछि उनको यही यही इच्छा बुहारी र छोराले पनि बुझेको हुनुपर्छ ।’

मानन्धरले पृथ्वीनारायण शाहको राज्य विस्तारलाई तीन चरणमा विभाजन गरेका छन् । पहिलो, यसको आधार तयार पारे । यो पृथ्वीनारायण शाहकै पालामै तयार भयो र यो गोर्खा राज्य विस्तारका रूपमा थियो । त्यसपछिको दोस्रो चरणमा राजेन्द्रलक्ष्मी र बहादुर शाहले काम गरे । उनीहरूको नेतृत्वमा पूर्व र पश्चिमका राज्य पनि जिते र सही अर्थमा यो नै नेपालको एकीकरण यही हो । यही चरणमा सानासाना राज्यलाई एक स्थानमा ल्याउने प्रयास भयो ।
भीमसेन थापाको पालामा तेस्रो चरण पूरा भयो र यो ‘क्लाइमेक्स’ थियो । राज्य विस्तार हुँदै कुमाउँ र गढवालसम्म पुग्यो । यी स्थान कुनै पनि समय नेपालको भाग नै थिएन । यी स्थानबाट पनि अझ अगाडि बढ्ने प्रयास भयो र यो बढी महत्त्वाकांक्षा नै थियो । आखिरमा त्यही कारणले अंग्रेजसँग युद्ध भयो र त्यसमा पराजित भएपछि नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाउनुपर्‍यो । ‘त्यसैले मेरो निचोड सुरुमा राज्य विस्तारले पछि एकीकरणको रूप लियो, स्थायित्व, संरक्षण र सुरक्षाका लागि,’ मानन्धरले थपे ।

पृथ्वीनारायणका कमजोरी
‘पृथ्वी जयन्तीको बेला हामीले बुझ्नैपर्ने के हो भने केहीले पृथ्वीनारायण शाहले राज्य विस्तार मात्र गरेको हो भन्छन् । केहीले सुरुदेखि नै एकीकरण गरेको हो भन्छन् । दुवै ठीक होइन । ठीक के हो भने गोर्खा राज्यको विस्तारका रूपमा सुरु भएको अभियान एकीकरणमा गएर टुंगियो,’ मानन्धरले भने, ‘यसै क्रममा पृथ्वीनारायण शाहका धेरै कमजोरी पनि देखिन्छन् । तर, यी कमजोरीलाई औंल्याउने काम भने हुन्न । समस्या यहींनिर हो ।’

मानन्धरले भनेजस्तै यही कमजोरी लुकाउने क्रममा राज्य विस्तार र एकीकरण के हो भनेर तर्क–वितर्कले बढी स्थान पाएको हो । ‘मैले पृथ्वीनारायण शाहका कमजोरीलाई दुई भागमा विभाजन गरेको छु । एउटा उनका अमानवीय कार्य, अर्को निन्दनीय कार्य,’ मानन्धरले भने । पहिले अमानीय कार्य । पृथ्वीनारायण शाहले नुवाकोट जितिसकेपछि जयन्त रानालाई जुन अन्याय गरे, त्यो वास्तवमै आलोचनायोग्य छ । जयन्त राणालाई छाला काढेर मारिएको थियो ।
***

पृथ्वीनारायण शाहले जयन्त राणाप्रति के गरे, त्यो ठीक थिएन । दरबारिया षड्यन्त्रकै कारण उनले गोर्खा छाडेर कान्तिपुरका राजा जयप्रकाश मल्लसँग मिल्नुपरेको थियो । अर्को, कीर्तिपुरवासीको नाक काट्नु । यसमा पनि केहीले यस्तो केही पनि भएको थिएन भन्छन् । तर, काटिएको त प्रमाण नै छ, अब । केहीले दुई चार जनाको मात्र माटिएको थियो पनि भन्छन् । प्राप्त नयाँ तथ्यअनुसार नाक काटिएकालाई दुई–दुई रोपनी दरले जग्गा दिइएको थियो ।
त्यस हिसाबले हजार रापेनी जग्गा दिनुपरेको थियो । यस्तोमा धेरैको नाक माटिएकै थियो, कम्तीमा पाँच सय जनाको । पृथ्वीनारायण शाहको पालामा बाहुनहरूले जे जस्तै अपराध गरे पनि ज्यान सजाय दिइन्न थियो । तर, उनले आफ्ना छोरा प्रतापसिंहलाई समाउन खोज्ने वेदकोटका जैसी बाहुनहरूलाई मृत्युदण्ड दिएका छन् । ती बाहुनले जयप्रकाश मल्लसँग मिलेर यो काम गरेको भनिन्छ । उनीहरू यसमा सफल भएनन् । यसक्रममा आठ जनालाई मृत्युदण्ड दिइएको थियो ।

केहीले मृत्युदण्ड दिनुअगाडि तिनीहरूलाई जातिच्युत गरिएको थियो भन्ने तर्क पनि दिन्छन् । वंशावलीले यस्तो भन्दैन । मृत्युदण्डपछि मात्र ती जैसी बाहुनका परिवारले आफ्नो पुर्खौली कामबाट रोकिएको थियो । कान्तिपुर जितिसकेपछि पृथ्वीनारायण शाहले ललितपुरलाई आत्मसमर्पणको प्रस्ताव राखेको थियो र आफ्नो प्रस्ताव माने, सुरक्षाको निश्चितता दिने पनि बनाएका थिए । त्यसैले त्यहाँ छ प्रधानले विश्वासमा आत्मसमपर्ण गरे र ललितपुर बिनाकुनै युद्ध पृथ्वीनारायण शाहको कब्जामा आयो ।

तर, उनी आफ्नो भनाइमा अडिग रहेनन् र पाँच प्रधानलाई उनको परिवारसहित मारिएको छ, एक प्रधान भने भाग्न सफल रहे । अब मानन्धरकै भाषामा निन्दनीय कार्य । पृथ्वीनारायण शाहले कीर्तिपुर जित्नै नसकेपछि त्यहाँ जाने पानी नै रोकिदिए । नालापानी युद्धमा अंग्रेजले पानी रोक्दा हामी उनीहरूलाई चर्को गाली गर्छौं तर यस्तै काम कीर्तिपुरविरुद्ध पृथ्वीनारायण शाहले गर्दा किन गाली गर्न चुक्छौं त ? त्यस्तै, कान्तिपुरपछि उनले भक्तपुर जिते ।
त्यसका लागि भएको युद्धमा दुई हजार मानिस मारिए । पाँच सय घर जलाइएको थियो । युद्धमा मानिसको मृत्यु हुनु स्वाभाविक थियो, तर जति घर जलाइए, ती सर्वसाधारण जनताका थिए । पृथ्वीनारायण शाहले काठमाडौंमाथि पनि वर्षौं नाकाबन्दी लगाए । त्यही बेला एक माना नुनको दुई रुपैयाँ पुगेको थियो । एक धार्नी कपासको छ रुपैयाँ पुगेको थियो । यो त जनतालाई दु:ख दिने काम भयो । युद्ध भनेको सत्ता पक्षसँग हुन्छ, जनताविरुद्ध हुन्न ।

अर्को तथ्य भने भर्खरै मात्र बाहिर आएको छ र यसको श्रेय महेशराज पन्तलाई जान्छ । उनका अनुसार काठमाडौंका देउभाजुहरूआफ्नो पक्षमा नआएपछि उनीहरूको सारा सम्पत्ति लुटेका थिए । देउभाजु भनेका राजोपाध्याय हुन् । उनीहरूको धार्मिक क्रियाकलापमा ठूलो भूमिका हुन्छ । इन्द्रजात्राका बेला पृथ्वीनारायण शाहले कान्तिपुरमा आक्रमण गर्दा ती राजोपाध्यायहरू उनको समर्थन नगरेपछि ग्वाछेम्व गल्लीमा उनीहरूको सबै सम्पत्ति लुटिएको थियो ।

‘पृथ्वीनारायण शाहलाई हरेक पक्षमा योग्य देखाइन्छ, उनी राम्रा प्रशासक हुन् । राम्रो योजनाकार हुन् भनिन्छ । यो सबै अतिशयोक्तिपूर्ण छ,’ मानन्धरको भनाइ हो, ‘उनको निष्पक्ष मूल्यांकन हुनुपर्छ, जुन अहिलेसम्म भएको छैन । भ्युज अफ हिन्दुस्तान भन्ने किताबमा नेपालबारे दुई पाना लेखिएको छ । त्यसमा गोर्खाका यी राजालाई जंगली र असभ्य भनिएको छ । उनले राज्य विस्तारका क्रममा घिनलाग्दो काम पनि गरेको दाबी गरिएको छ ।’

केहीले के पनि भन्छन् भने पृथ्वीनारायण शाहले क्रिस्चियन पादरीलाई देश निकाले गरेको हुनाले उनीहरूले विषवमन गरेर लेखे भन्ने आरोप पनि छ । उनीबारे लेख्न सबै विदेशी पादरी नै थिए भन्ने पनि होइन । पादरी नभएकाले जे देखे र सुने, त्यही लेखे । पृथ्वीनारायणबारे राम्रो लेख्दा उनका नराम्रा पक्ष पनि लुकाउनुभएन । उनका अरू पनि धेरै कमजोरी छन्, जसको खास चर्चा हुन्न । पृथ्वी जयन्तीका बेला यसबारे किन बहस हुन्न त ?
राज्य विस्तारकै कारण नेपाल
राणा शासनको अन्त्य अन्त्यतिर सूर्यविक्रम ज्ञवालीले पहिलो पल्ट पृथ्वीनारायण शाहबारे लेखे । त्यसको लेख दार्जिलिङमा भएको थियो । त्यसअगाडि उनीबारे खासै लेखिएको नै थिएन । त्यो पुस्तक नेपालमा लगभग प्रतिबन्धकै स्थितिमा रह्यो । राणाहरूले त्यसको ‘काउन्टर’ मा रामकृष्ण कुँवरबारे लेख्न लगाए । यी रामकृष्ण जंगबहादुरका पुर्खा हुन् । त्यो किताब लेखाउनुपछाडि राणा पनि शाहभन्दा केही कम छैनन् भनेर देखाउनु नै मात्र थियो ।

यो किताबको खुबै प्रचारप्रसार गरियो । सात सालपछि पृथ्वीनारायण शाहबारे अरू धेरै पुस्तक पनि आए । धेरैले त्यसक्रममा पृथ्वीनारायण शाहको बढी प्रशंसा गरेर लेख्न सुरु भयो । त्यसको धेरैपछि यी प्रशंसाको चर्को आलोचना पनि भयो । ‘पृथ्वीनारायण शाहबारे दुवै पक्षमा अतिवादी हुनु हुन्न,’ मानन्धरको निचोड हो, ‘केहीले उनलाई साम्राज्यवादी तानाशाही भन्छन्, त्यो पनि ठीक होइन । केहीले सुरुदेखि उनको एकीकरण गर्ने योजना थियो भन्छन्, त्यो पनि होइन ।’

पृथ्वीनारायण शाहले सुरु गरेको काममा क्रममा धेरै यस्ता काम पनि भएका छन्, जसलाई अहिलेको सभ्य समाजले त्यसलाई स्विकार्न सक्दैन । अब अन्त्यमा सर्वाधिक महत्त्वपूर्ण उही प्रश्न, पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार नगरेको भए अहिले के नेपाल रहन्थ्यो त ? यसबारे स्पष्ट जवाफ कोहीसँग हुने छैन, किनभने इतिहासले अनुमान गर्दैन । तर यति भने पक्का हो, पृथ्वीनारायण शाहले राज्यविस्तार गरेकै कारण अहिलेको समृद्ध नेपाल भने रहेको हो, यो पनि उत्तिकै सत्यतथ्य हो ।

अनि सत्य के पनि हो भने इतिहास प्रत्येक पुस्तामा दोहराएर लेखिन्छ । यो इतिहासको सिद्धान्तजस्तै हो । एउटा पुस्ताले पृथ्वीनारायण शाहबारे जे लेखे, त्यो अर्को पुस्ताले नदेख्न पनि सक्छ । त्यस्तै समान अनुभव नगर्न पनि सक्छ । पृथ्वीनारायण शाहबारे धेरैले लेखिएका छन् होला, तर, अझै लेखिन बाँकी छ । उनीबारे लेखिने क्रम टुंगिने छैन । त्यसैले नै, वैद्यले भने जस्तै, नयाँ पुस्ताले आफ्नो समयअनुसार पृथ्वीनारायणबारे अझै लेख्नुपर्छ, बहस जारी राख्नुपर्छ ।
twitter : @himeshratna

प्रकाशित : पुस २८, २०७५ ०८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्